। सभामुख डोल प्रसाद (डीपी) अर्यालसंग नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटमा नेपाल–कोरिया सम्बन्ध, लगानी, प्रविधि, श्रम तथा संसदीय साझेदारीका विषयमा छलफल भएको सभामुखको सविचलायले जनाएको छ ।
भेटमा सभामुख अर्यालले कोरियाले नेपालको विकास, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिन आग्रह गरे । नेपालमा नयाँ जनादेशसहित सरकार गठन भएको उल्लेख गर्दै विदेशी लगानी तथा विकास साझेदारीका लागि वातावरण थप सहज बन्दै गएको बताए ।
सभामुख अर्यालले नेपाल प्रविधिको अधिकतम प्रयोगतर्फ अघि बढिरहेको उल्लेख गर्दै कोरियाली लगानीकर्तालाई नेपालको सूचना प्रविधि तथा प्राविधिक क्षेत्रमा लगानी गर्न आग्रह गरे । उनले नेपाल–कोरिया संसदीय मैत्री समूह गठनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै दुई देशका सांसदबीच अनुभव आदानप्रदानलाई थप सुदृढ बनाउनुपर्ने धारणा राखे ।
कोरियाली पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गर्न तथा नेपाल वायुसेवाको सिधा सिओल उडानका लागि सहजीकरण गर्न पनि कोरियाली सरकारसँग अनुरोध गरे । नेपाल–कोरिया सम्बन्ध सरकारस्तरमा मात्र नभई जनताबीचको सम्बन्धका रूपमा समेत विकसित भएको उनको भनाइ थियो ।
राजदूत पार्कले नेपाललाई कोरियाले विकास साझेदारका रूपमा प्राथमिकतामा राखेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, कृषि, आर्थिक विकास र रोजगारी क्षेत्रमा सहकार्य जारी रहेको बताए । उनका अनुसार रोजगार अनुमति प्रणाली अन्तर्गत हालसम्म करिब १ लाख २० हजार नेपालीले कोरियामा रोजगारीको अवसर पाएका छन् भने ५० हजार नेपाली हाल त्यहाँ कार्यरत छन् ।
उनले नेपाली कामदारले कोरियाको उत्पादनमूलक तथा कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै श्रमिकको स्वास्थ्य, सुरक्षा र सम्मानमा कोरिया सरकार संवेदनशील रहेको बताए । विदेशबाट फर्किएका नेपालीलाई पुन:स्थापना तथा उद्यमशीलतामा सहयोग गर्ने प्रयास भइरहेको पनि उनले जानकारी दिए ।
राजदूत पार्कले कोरियाली लगानी नेपालमा विस्तार हुँदै गएको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा विशेष लगानी भइरहेको बताए । रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको निर्माण करिब ८० प्रतिशत सम्पन्न भइसकेको र आगामी वर्षदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । हरित ऊर्जा र कार्बन ट्रेडिङ क्षेत्रमा समेत कोरियाली व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहेको उनको भनाइ थियो ।