मुख्य समाचार
नेपालको हवाई क्षेत्रलाई ईयूको कालोसूचीबाट हटाउन परराष्ट्रमन्त्री खनालको आग्रह
नेपालको हवाई क्षेत्रलाई ईयूको कालोसूचीबाट हटाउन परराष्ट्रमन्त्री खनालको आग्रह

। परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको हवाई क्षेत्रलाई युरोपेली संघ (ईयू) को उडान सुरक्षा सूची (कालोसूची) बाट हटाउने प्रक्रियामा सहयोग गर्न ईयूका सदस्य राष्ट्रहरूसँग आग्रह गरेका छन्।

सोमबार परराष्ट्र मन्त्रालयमा ईयूका राजदूतहरूको संयुक्त प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खनालले हवाई सुरक्षाको क्षेत्रमा नेपालले गरेको उल्लेखनीय प्रगति र भइरहेका सुधारलाई ध्यानमा राख्दै उक्त सूचीबाट हटाउन आग्रह गरेका हुन्।

भेटका अवसरमा मन्त्री खनालले नेपालसँग ईयूको निरन्तर विकास साझेदारीको प्रशंसा गर्दै व्यापार, जलवायु कार्य, शिक्षा र जनस्तरको सम्बन्ध जस्ता क्षेत्रमा सहयोग सुदृढ गर्नुपर्नेमा जोड दिएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्री खनालले सरकारका प्रमुख प्राथमिकताका रूपमा तीव्र आर्थिक वृद्धिसँगै चुस्त सेवा प्रवाह र भ्रष्टाचारविरुद्धको कडा शून्य सहनशीलता रहेको जानकारी गराएका थिए।

साथै, मन्त्री खनालले लगानी सहजीकरण, निर्यात प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि र नवप्रवर्तन लाई प्रवर्द्धन गर्ने उद्देश्यले भइरहेका आर्थिक सुधारहरूबारे जानकारी गराउँदै जलविद्युत्, पर्यटन, पूर्वाधार विकास र सूचना प्रविधिको क्षेत्रमा थप लगानी गर्न ईयू राष्ट्रहरूलाई आह्वान गरे।

प्रतिनिधिमण्डलको तर्फबाट बोल्दै नेपालका लागि ईयूकी राजदूत भेरोनिक लोरेन्जोले नयाँ सरकारप्रति ईयू सदस्य राष्ट्रहरूको समर्थनलाई पुनः पुष्टि गर्न यो भ्रमण भएको बताइन्। उनले ई-गभर्नेन्स र डिजिटलाइजेसनमा ईयूको विज्ञता आदानप्रदान गर्नेलगायत नेपाल र ईयूबीच सहकार्यका थप अवसरहरू खोज्ने भ्रमणको उद्देश्य रहेको प्रष्ट पारिन्।

मंगलबार प्रधानमन्त्रीसँग सामूहिक भेटवार्ता

नेपालका लागि ईयूकी राजदूत लोरेन्जोको नेतृत्वमा आएको २२ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलले मंगलबार (भोलि) प्रधानमन्त्री बालेन्द्र शाहसँग सामूहिक भेटवार्ता गर्दैछ।

यसअघि पदभार ग्रहण गरेयता कुनै पनि विदेशी कूटनीतिज्ञहरूलाई नभेटेका प्रधानमन्त्री शाहले ईयूको टोलीलाई भने सामूहिक रूपमा भेट्न लागेका हुन्। यस भ्रमण दलमा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रीस, इटाली, लिथुआनिया, लक्जेम्बर्ग, नेदरल्यान्ड्स, पोल्याण्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन र स्विडेनका राजदूत तथा उप–राजदूतहरू सहभागी छन्।

‘यो भ्रमणले नेपालप्रति ईयूको प्रतिबद्धतालाई स्पष्ट रूपमा देखाउँछ। हामी यहाँ नयाँ सरकारलाई बधाई दिन, नेपालको विकास प्राथमिकताप्रति हाम्रो समर्थन पुनः पुष्टि गर्न, तथा व्यापार, लगानी, जलवायु कार्य र बहुपक्षीय मुद्दाजस्ता क्षेत्रमा सहकार्यका नयाँ अवसरहरू खोज्न आएका हौँ,’ टोली प्रमुख लोरेन्जोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘टिम युरोपका रूपमा, हामी नेपालसँग मिलेर अझ समृद्ध, दिगो तथा समावेशी भविष्य निर्माण गर्न सहकार्य गर्न तयार छौँ।‘

प्रतिनिधिमण्डलले सोमबार नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। टोलीले निजी क्षेत्रका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा युवा नेताहरूसँग पनि भेट्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारको निर्णयविरुद्ध धनगढीमाई नगरपालिका–९ स्थित जिरोमाइल चौकमा स्थानीयवासी, व्यापारी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले चक्काजाम गरेका छन् । छोटी भन्सार खारेजीको निर्णय फिर्ता गर्नुपर्ने माग राखेर उनीहरूले आज चक्का जाम गर्दै प्रदर्शन गरेका हुन् । नेपाल सरकारले २१ वैशाख २०८३ मा राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय ...
। सभामुख डोल प्रसाद (डीपी) अर्यालले विगतका सरकारहरूले काम नगरेकोले अझै आधारभूत आवश्यकताबारे बहस गर्नुपर्ने अवस्था रहेको बताएका छन् । नागार्जुन नगरपालिकाद्वारा आयोजित वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी छलफल कार्यक्रममा सहभागी भएका सभामुख अर्यालले यस्तो बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले पूर्वाधार विकास, विशेषगरी सडक र खानेपानीजस्ता आधारभूत विषयमा राजनीति गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । विगतका ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी जेठ १८ गतेदेखि भारतको भ्रमणमा जाने भएका छन् । लामिछानेको भारत भ्रमण निश्चित भएको रास्वपाका एक पदाधिकारीले पुष्टि गरेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार जेठ १८ गते भारत गएर २० गते फर्कनेछन् । भ्रमणको आवश्यक कूटनीतिक तथा अन्य तयारी भइरहेको रास्वपाका ती नेताले बताए ...
। सभामुख डोलप्रसाद (डीपी) अर्याल र उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग शिष्टाचार भेटवार्ता भएको छ । उपराष्ट्रपति यादव भेट्न सभामुख अर्याल लैनचौरस्थित उपराष्ट्रपति निवास पुगेका थिए । भेटका क्रममा समसामयिक राजनीतिक विषय, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा संसदको प्रभावकारी सञ्चालनलगायत विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
। लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत भएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभामा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा कृषि, पर्यटन, पूर्वाधार विकास, रोजगार, शिक्षा, स्वास्थ्य तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ । यस्तै, उद्यमशील लुम्बिनी र डिजिटल लुम्बिनी अभियानलाई प्रदेशको रूपान्तरणकारी ...