: धादिङमा करेन्ट लागेर गम्भीर घाइते भएकी एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार नीलकण्ठ नगरपालिका–४, रायटारमा आइतबार दिउँसो करिब १ः३० बजे सो दुर्घटना भएको हो। नीलकण्ठ नगरपालिका–८, रामकोट घर भई हाल रायटार बस्दै आएका सुजन श्रेष्ठकी ६ वर्षीया छोरी साया श्रेष्ठ आफ्नै घरको तेस्रो तलामा खेल्ने क्रममा हाईटेन्सन लाइनको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन्।
प्रहरीका अनुसार घर सफा गर्ने पोछा हाईटेन्सन तारमा छुन पुग्दा अचानक सटभई आगलागी भएको थियो। सो क्रममा बालिकाले लगाएको कपडामा आगो सल्किएपछि उनको शरीरका विभिन्न भाग जलेका थिए।
घाइते बालिकालाई जिल्लामा प्रारम्भिक उपचार गरेपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँस्थित कीर्तिपुर बर्न अस्पताल लगिएको थियो। तर उनको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।