मुख्य समाचार
भारतीय कन्टेन्ट क्रियटरलाई दूतावासद्वारा नेपाल भ्रमणको निम्तो
भारतीय कन्टेन्ट क्रियटरलाई दूतावासद्वारा नेपाल भ्रमणको निम्तो

— नयाँदिल्लीस्थित नेपाली दूतावासले नेपालको पर्यटन प्रवर्द्धनका लागि भारतीय भ्लगर, युट्युबर, पोडकास्टर तथा डिजिटल कन्टेन्ट निर्माता (कन्टेन्ट क्रिएटर) हरूलाई नेपाल भ्रमणका लागि ‘फ्यामिलियराइजेसन ट्रिप’ मा आउन निमन्त्रणा गरेको छ ।

भारतीय सञ्चार माध्यमममा नेपाल भ्रमणबारे फैलाइएका भ्रामक विवरणलाई चिर्नका लागि दूतावासका तर्फबाट सार्वजनिक तथा सांस्कृतिक कुटनीतिक अभियानका यस पहललाई लिइएको छ ।

मे २० मा नयाँदिल्लीस्थित नेपाली दूतावासले सामाजिक सञ्जाल एक्समार्फत भारतीय सोसल इन्फ्लुएन्सरहरूलाई भ्रमणका लागि मे ३० भित्र आवेदन दिन आह्वान गरेको थियो ।

अन्तिम मितिभन्दा एक साताअघि नै भारतीय मूलधारका सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रभावकर्ताबाट उत्साहजनक प्रतिक्रिया आएको दूतावासले जनाएको छ ।

काठमाडौंका पाँचतारे होटल र वायुसेवा कम्पनीहरूले छनोट हुने भारतीय सामाजिक सञ्जाल प्रभावकर्तालाई प्याकेज उपलब्ध गराएर सहयोग गर्न चासो देखाएका छन् ।

‘हामीले तीन दिनमै २०० भन्दा बढी आवेदन प्राप्त गरिसकेका छौं, र संख्या बढ्दो छ,’ नयाँदिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापाले भने, ‘मे ३० सम्म १ हजारभन्दा बढी आवेदन आउने अपेक्षा गरेका छौं ।’

उनका अनुसार भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ता तथा प्रभावकर्ताहरूले फेसबुक, रिल्स र इन्स्टाग्रामलगायत विभिन्न प्लेटफर्ममार्फत दूतावासको सूचना प्रचार गरिरहेका छन् । नेपाल सरकारले पर्यटन प्रवर्द्धनका लागि भारतीय सामाजिक सञ्जाल प्रभावकर्तालाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिएको यो पहिलोपटक हो । आवेदनमध्ये पाँच जनालाई छनोट गरिनेछ ।

नेपाल पर्यटन बोर्डले उनीहरूलाई काठमाडौं, पोखरा र चितवनका विभिन्न स्थानमा भ्रमण गराउनेछ, जहाँ उनीहरूले नेपालको विविध पर्यटन सम्भावनाको अनुभव गर्नेछन् ।

दूतावासका अनुसार सामग्रीको सान्दर्भिकता, विगतका कामको गुणस्तर, दर्शकसमक्ष पहुँच र संलग्नता, सिर्जनशीलता, कथा प्रस्तुत गर्ने क्षमता, व्यावसायिक प्रतिष्ठा तथा अंग्रेजी, हिन्दी वा भारतीय क्षेत्रीय भाषामार्फत् भारतीय दर्शकसँग प्रभावकारी रूपमा संवाद गर्न सक्ने क्षमताका आधारमा छनोट गरिनेछ ।

नेपालले लाखौं अनुयायी भएका सामाजिक सञ्जाल प्रभावकर्ता, भ्लगर र युट्युबरमार्फत आफ्नो प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, आध्यात्मिक स्थल, आतिथ्यता तथा दुर्गम क्षेत्रसम्म सहज यात्राको प्रचार हुने अपेक्षा गरेको छ । दूतावासको सूचनामा भनिएको छ, ‘यस भ्रमणले आकर्षक डिजिटल सामग्री उत्पादन गर्न मद्दत पुर्‍याउनेछ र भारतीय पर्यटकलाई मनोरञ्जन, तीर्थयात्रा, संस्कृति, साहसिक पर्यटन, वेलनेस तथा पारिवारिक भ्रमणका लागि नेपाल आउन प्रेरित गर्नेछ ।’

यसअघि नेपाल सरकारले केही अवसरमा भारतीय मूलधारका पत्रकारलाई पनि ‘फ्यामिलियराइजेसन ट्रिप’ मा नेपाल ल्याएको थियो । तर त्यो कार्यक्रम वर्षौंअघि रोकिएको थियो ।

ती भ्रमणमा प्रायः नेपाली राजनीतिक नेता तथा अधिकारीसँग भेटघाट गराइन्थ्यो र त्यसपछि भारतीय मूलधारका सञ्चारमाध्यममा सामाजिक तथा राजनीतिक विषय केन्द्रित सामग्री प्रकाशित हुन्थे ।

दूतावासले यस्ता भ्रमणको योजना बनाइरहेका बेला भारतीय टेलिभिजन च्यानल जी न्युज तथा अन्य सञ्चारमाध्यमहरूले नेपालले भारतीय पर्यटकका लागि नयाँ यात्रा नियम लागू गरेको, प्रवेशका लागि वैध परिचयपत्र अनिवार्य बनाएको तथा बसाइ अवधि ३० दिनमा सीमित गरेको दाबी गरेका थिए ।

‘नेपाली अधिकारीहरूले नयाँ व्यवस्था सीमा व्यवस्थापन सुधार गर्न र पर्यटक निगरानीलाई मजबुत बनाउन ल्याइएको बताएका छन् । यस निर्णयले भारतका विभिन्न भागबाट नेपाल आउने नियमित यात्रु, तीर्थयात्री र पर्यटकलाई असर पार्ने अपेक्षा गरिएको छ,’ रियालिटी सिक्किम नामक सामाजिक सञ्जाल च्यानलमा अझै उपलब्ध समाचारमा भनिएको थियो ।
उक्त समाचार तीव्र रूपमा फैलिएपछि नयाँदिल्ली तथा काठमाडौं दुवैतर्फ चिन्ता उत्पन्न भएको थियो । त्यसपछि नेपाली अधिकारीहरूको अनुरोधमा जी न्युजले उक्त समाचार हटाएको थियो ।

धेरै सोसल इन्फ्लुएन्सरहरुले नेपाल भ्रमणमा रुचि देखाएकाले दूतावासले उनीहरूको सूची तयार गरी क्रमिक रूपमा विभिन्न समूहमा नेपाल पठाउने योजना बनाएको छ । ‘नेपाल सरकारले सीमा कडाइ गर्ने तथा १ सय रुपैयाँभन्दा बढीका सामान खरिदमा कर लगाउने निर्णय गरेपछि भारतीय सञ्चारमाध्यमले फैलाएको यात्रा प्रतिबन्धसम्बन्धी हल्लालाई धेरै भारतीयले पत्याएका थिए,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने ।

दूतावासका अधिकारीहरूका अनुसार मे ११ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशी मुद्रा बाहिरिन नदिन अनावश्यक विदेश भ्रमण तथा विवाह कार्यक्रम स्थगित गर्न नागरिकलाई आग्रह गरेपछि नेपाल प्रवर्द्धन गर्ने अवसर देखिएको थियो । ‘हामीले यो अवसर उपयोग गर्ने निर्णय गर्‍यौं, किनकि भारतीय नागरिकलाई नेपाल आउन अमेरिकी डलर आवश्यक पर्दैन, भिसा चाहिँदैन र उनीहरूले आफ्नै मुद्रा तथा डिजिटल भुक्तानी प्रणाली सहज रूपमा प्रयोग गर्न सक्छन्,’ थापाले भने । द्विपक्षीय व्यवस्थाअनुसार नेपालमा यूपीआईमार्फत २५ हजार भारतीय रुपैयाँसम्मको डिजिटल भुक्तानी पनि गर्न सकिन्छ । भारतीय नागरिकलाई नेपाल भ्रमणका लागि भिसा आवश्यक पर्दैन ।

नेपाल मात्र होइन, थाइल्यान्ड, यूएई, साउदी अरेबिया, जापान, युगान्डा र टर्कीए लगायतका देशहरुले पनि पर्यटन प्रवर्द्धनका लागि सोसल एन्फ्लुएन्सरहरुलाई निमन्त्रणा दिन थालेका छन् । यस्तो कार्यक्रमलाई प्रायः ‘फ्याम ट्रिप’ (फ्यामिलियराइजेसन ट्रिप) वा इन्फ्लुएन्सर मार्केटिङ अभियान भनिन्छ, जहाँ कन्टेन्ट क्रिएटरहरूलाई सामग्री उत्पादनको सट्टामा निःशुल्क वा प्रायोजित यात्रा उपलब्ध गराइन्छ ।
नेपालले औपचारिक रूपमा खर्च व्यहोरेर प्रभावकर्तालाई निमन्त्रणा दिनुअघि नै धेरै भारतीय सामाजिक सञ्जाल क्रिएटरहरूले नेपाली पर्यटकीय गन्तव्यको प्रचार गरिरहेका थिए ।

उदाहरणका लागि, एक्समा ५ लाख २८ हजारभन्दा बढी फलोअर्स भएकी भारतीय प्रशासनिक सेवा (आईएएस) अधिकृत सोनल गोयलले एभरेस्ट क्षेत्रमा पर्ने नाम्चे बजार र खुम्जुङ गाउँ भ्रमण गरेकी थिइन् र आफ्ना पोस्टमा नेपाली दूतावासलाई समेत ट्याग गरेकी थिइन् ।

‘भारतका प्रभावकर्ताबाट हुने प्रत्यक्ष तथा अप्रत्यक्ष प्रचारले नेपालको दृश्यता बढाउन र भारतीय नागरिकलाई नेपाल भ्रमणका लागि प्रेरित गर्न सहयोग गरिरहेको छ । हामीले अत्यन्त सकारात्मक प्रतिक्रिया पाइरहेका छौं,’ थापाले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम