: जिल्ला प्रशासन कार्यालय स्याङजाले सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमनका लागि ७ बुँदे योजना सार्वजनिक गरेको छ । सूर्तीजन्य पदार्थ सेवन मानव स्वास्थ्यका लागि हानिकारक भएको जनाउँदै कानूनतः ब्यवस्था गरिएका ती बुँदा कार्यान्वयन गर्न गराउनका आमनागरिकसहित सरोकारवाला सबैलाई आग्रह गरेकोे छ ।
सूर्तीजन्य पदार्थ बिक्री बितरण तथा सेवन गर्ने कार्यलाई न्यूनिकरण, नियन्त्रण तथा नियमनका लागि जारी भएको सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ र ऐ. नियमावली, २०६९ मा उल्लेख भए बमोजिमका कानूनी ब्यवस्था पालना गर्नका लागि प्रशासन कार्यालय स्याङ्जाले सूचनामार्फत जानकारी गराएको छ ।
कसैले पनि सार्वजनिकस्थलमा धुमपान तथा सूर्ती सेवन नगर्न, अन्य ब्यक्तिलाई असर पर्नेगरी घर तथा निजी सवारी साधनमा धुमपान नगर्न, १८ बर्ष भन्दा कम उमेर समूह र गर्भवतीलाई सूर्तीजन्य पदार्थ विक्री बितरण नगर्न वा निःशुल्क रुपमा उपलब्ध गराउन नपाउने उल्लेख छ । सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीद्धारा हस्ताक्षरित सो सूचनामा शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, बृद्धाश्रम, अनाथालय र नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशनगरी तोकिएको सार्वजनिकस्थलबाट एक सय मिटरभित्रका घर, पसलबाट सूर्तीजन्य पदार्थको बिक्री बितरण गर्न नपाइने ब्यवस्था छ ।
यसैगरी, फुटकर चुरोट, बिँडी वा सिंगारको खिल्ली बिक्री बितरण गर्न नपाइने, उपहार वा निःशुल्क दिन नपाइने र सूर्तीजन्य पदार्थप्रति आर्कषण हुने गरी बिक्रीस्थलबाट सजावट तथा प्रदर्शन नगर्न पनि सूचित गरिएको छ । साथै, उल्लेखित ब्यवस्था विपरित धुमपान वा सूर्तीजन्य पदार्थको बिक्री वितरण वा सार्वजनिकस्थलनमा धुमपान वा सूर्ती सेवन गरे गराएको भेटिएमा कानून बमोजिम कारवाही हुने समेत सूचनामार्फत जानकारी गराएको स्याङ्जा प्रशासनले जनाएको छ ।