: नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएका व्यक्तिले नामअगाडि ‘डाक्टर’ (Dr.) उपाधि प्रयोग गरी चिकित्सा सेवा,परामर्श वा औषधि सिफारिस गरे कानुनी कारबाही गरिने जनाएको हो। काउन्सिलले एक विज्ञप्ति जारी गर्दै मेडिकल काउन्सिल र सम्बन्धित परिषद्मा कानुनीरुपमा दर्ता नभइ नामको अगाडि डाक्टर वा चिकित्सक लेख्ने व्यक्तिलाई कारबाही गर्ने जनाएको छ।
नेपाल मेडिकल काउन्सिल ऐन,२०२० अनुसार मान्यता प्राप्त संस्थाबाट आधुनिक चिकित्साशास्त्रमा अध्ययन पूरा गरी काउन्सिलमा दर्ता भएका व्यक्तिलाई मात्रै चिकित्सक मानिने उल्लेख छ। विशेषज्ञ चिकित्सकका हकमा सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि तथा तालिम आवश्यक पर्ने व्यवस्था पनि ऐनमा रहेको काउन्सिलले जनाएको छ।
काउन्सिलका अनुसार पछिल्लो समय विभिन्न अस्पताल, निजी क्लिनिक, परामर्श केन्द्र तथा सामाजिक सञ्जालमा गैरचिकित्सक व्यक्तिहरूले नामअगाडि ‘Dr’ लेखी स्वास्थ्यसम्बन्धी सेवा तथा परामर्श दिँदै आएको पाइएको छ। यसले सर्वसाधारणमा भ्रम सिर्जना गर्नुका साथै जनस्वास्थ्यमा गम्भीर असर परेको काउन्सिलको भनाइ छ।
काउन्सिलले नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएका व्यक्तिलाई १५ दिनभित्र आफ्नो आधिकारिक कागजात, प्रेस्क्रिप्सन प्याड, साइनबोर्ड, भिजिटिङ कार्ड तथा सामाजिक सञ्जालबाट ‘Dr’ उपाधि हटाउन निर्देशन दिएको छ।
विदेशी विश्वविद्यालयबाट ‘डक्टर’ शब्द उल्लेख भएको शैक्षिक उपाधि हासिल गरेकै आधारमा स्वतन्त्र रूपमा चिकित्सा अभ्यास गर्न नपाइने पनि सूचनामा स्पष्ट पारिएको छ।
गैरदर्तावालाले ‘डीआर.’ उपाधि प्रयोग गरी आधुनिक चिकित्सा अभ्यास गरेको पाइए नेपाल मेडिकल काउन्सिल ऐनअनुसार तीन वर्षसम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने चेतावनी दिइएको छ।
काउन्सिलले १५ दिनपछि विशेष अनुगमन टोलीमार्फत स्थल तथा डिजिटल माध्यमबाट निगरानी बढाइने समेत जनाएको छ।