: प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले देश बनाउनका लागि व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको गति एउटै हुनुपर्ने बताएका छन् ।
पूर्व सांसद मञ्चले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभामुख अर्यालले कानून निर्माण गरेर देश निर्माण गर्न राज्यका तीन वटै अङ्गको गति एउटै हुनुपर्ने बताएका हुन् । मुलुकलाई आवश्यक नीति नियम बनाउन सबैको नियत सफा हुनुपर्ने उनले बताए । त्यस्तै सभामुख अर्यालले अग्रज पुस्ताहरुको अनुभव, अहिलेको नयाँ पुस्ता र वर्तमान पुस्ता मिलेर अघि जान सके देश बन्न धेरै समय नलाग्ने धारणा राखे ।
उनले संघीय संसदले आगामी पचासौं वर्षको भविष्यलाई हेरेर पुराना कानुनहरूको संशोधन या खारेज र नयाँ कानूनलाई अघि बढाउन विशेष ध्यान दिएको उल्लेख गरे । जनताका लागि बनाउने कानून व्यवहारिक हुनुपर्ने भन्दै सभामुख अर्यालले नागरिकलाई सुहाउँदो कानुन निर्माणमा सबैबीच सहकार्य आवश्यक रहेको बताए । उनले अहिले व्यवहारमा नमिलेका कानूनहरु धेरै देखिएकाले त्यसलाई समेत संशोधन गर्दै जानुपर्नेमा जोड दिएका छन् ।