। स्वतन्त्र सांसद महावीर पुनले संसद् बैठकमा कराएर मात्रै बाँदर आतंक कम नहुने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले आफूले ७ वर्षअघि देखि नै यसमा काम गर्न खोजेको भए पनि सफल नभएको बताए ।
बरु रकेट बनाउने प्रविधि भए पनि बाँदर आतंक कम गर्ने कुनै प्रविधि संसारमा कुनै वैज्ञानिकले पनि बनाउन नसकेको उनको भनाइ थियो ।
‘बाँदर आतंकको कुरा अहिले तपाईंहरूले उठाउनुभएको छ, मैले आजभनदा ७ वर्षअघि देखि नै उठाएको हो । राष्ट्रिय आविष्कार केन्द्रले ५०–६० लाख रुपैयाँ अनुसन्धानका लागि प्रयास गरेको हो,’ उनले भने, ‘मैले हरेक गाउँपालिकालाई एक एक लाख उठाउनुस्, त्यसमा अनुसन्धान गरेर बाँदर आतंक कम गर्नेबारे अनुसन्धान गर्नैपर्छ भनेको हुँ । यहाँ संसद्मा कराएर हुँदैन ।’
साथै, उनले यसको अनुसन्धान अघि बढाएरै काम गर्नुपर्ने र त्यसका लागि खर्च छुट्याउन आवश्यक रहेको बताए ।
‘यहाँ धेरै सांसद कराएको देखियो । बरु रकेट बनाउन सजिलो छ, प्रविधि छ । तर बाँदर भगाउने प्रविधि मैले संसारभर खोजेको हो, छँदै छैन । यसका लागि अनुसन्धान गर्नका लागि खर्च छुट्याउनुपर्छ,’ सांसद पुनले भने ।