मुख्य समाचार
घुस मुद्दामा परेका पूर्वमन्त्री गुप्ता : विशेषबाट किन थुनिए, सर्वोच्चले कसरी छाड्यो ?
घुस मुद्दामा परेका पूर्वमन्त्री गुप्ता : विशेषबाट किन थुनिए, सर्वोच्चले कसरी छाड्यो ?

। सर्वोच्च अदालतले भूमि आयोगका पदाधिकारी नियुक्ती र कर्मचारी सरुवामा घुस लिएको आरोप लागेका पूर्वमन्त्री राजकुमार गुप्ता ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

विशेष अदालतको आदेश उल्ट्याउदै सर्वोच्च अदालतले गुप्तालाई थुनामा राख्नुको साटो ५० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको हो ।

न्यायाधीशहरु शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले जारी गरेको आदेशमा घुस लिएको दसी प्रमाण नभेटिएको विषयलाई मुख्य आधार बनाएर उनलाई धरौटीमा छाड्ने आदेश दिएको देखिन्छ ।

पूर्वमन्त्रीहरू राजकुमार गुप्ता, रञ्जिता श्रेष्ठ लगायतविरुद्ध घुस लिएको आरोपमा दायर मुद्दामा राजकुमार गुप्ताको खातामा ३२ जेठ, २०८१ सम्म पटकपटक रकम जम्मा गर्ने र निकाल्ने काम भइरहेको दाबी थियो ।

तर, सर्वोच्च अदालतले विभिन्न छ वटा विषयवस्तुलाई आधार बनाएर गुप्तालाई थुनामा राख्न नपर्ने निष्कर्ष निकालेको हो । कास्कीका खमबहादुर पुनलाई भूमि आयोग कास्कीमा नियुक्ती दिएको नदेखिएको सर्वोच्चको निष्कर्ष छ ।

सर्वोच्च अदालतको आदेशमा सामान्य प्रशासन मन्त्रालयबाट भूमि आयोगका पदाधिकारी नियुक्त हुन नसक्ने भएकाले पनि मन्त्री गुप्ताको प्रत्यक्ष संलग्नतामाथि शंका गरेको हो । लमजुङका प्रमुख मालपोत अधिकृत(उपसचिव) रामचन्द्र अधिकारीको सरुवा स्थगत भएको नदेखिएको भन्ने सर्वोच्च अदालतको निष्कर्ष छ ।

लिचीवारी जग्गा प्रकरणमा मुछिएकाले प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीलाई लमजुङबाट कास्की ल्याउन खोजेका थिए, जुन सफल भएको थिएन । सर्वोच्च अदालतले घुसको रकम बरामद हुन नसकेको भन्ने आधारमा आरोपितहरूलाई थुनामा पठाउन नपर्ने आदेश गरेको हो ।

विशेषले किन थुनामा राखेको थियो ?

विशेष अदालतले १६ पुस, २०८२ मा भ्रष्टाचार मुद्दामा मुछिएका पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन आदेश दिएको थियो । विशेष अदालतले उनलाई थुनामा राख्दा विभिन्न सातवटा आधार अघि सारेको थियो ।

विशेष अदालतले घुस लिएको भनी मन्त्री विरुद्ध परेको उजुरी, अडियो संवादको स्क्रिप्टलाई घुस लेनदेनको एउटा आधार मानेर थुनामा पठाएको थियो ।


यो पनि पढ्नुहोस
लिचीबारी घुस प्रकरण : केहीलाई मुद्दा, केहीलाई उन्मुक्ति
जग्गा मिलाउने क्रममा मन्त्री गुप्ता र श्रेष्ठ पोखरास्थित वरपीपल रिसोर्टमा बसेका थिए । मन्त्री रञ्जिताका लागि कास्कीका मालपोत अधिकृत रामचन्द्र अधिकारीले कोठा बुक गरेका थिए भने सामान्य प्रशासनमन्त्री गुप्ताका लागि मन्त्रालयले नै होटल बुक गरेको थियो ।

जग्गा र कर्मचारी मिलाउन गएको बेला डिल गर्न बसेको होटलको ७९ हजार रुपैयाँको बील मन्त्रालयले तिरेको थियो । त्यही होटलमा बसेकी रञ्जिताले तिर्नुपर्ने ५९ हजार रुपैयाँ मुद्दा दायर गर्ने बेलासम्म पनि उधारो थियो ।

जग्गासँग सरोकार राख्नेहरुबीच लेनदेनको करार भएको र त्यसपछि यामकुमार गुरुङको बैंक खातामा तुल्सीराम बुढामगरले रकम राखिदिएको भन्दै विशेष अदालतले त्यो लेनदेनमाथि समेत प्रश्न उठाएको देखिन्छ ।


यो पनि पढ्नुहोस
पूर्वसचिव पोखरेलमाथि आरोप- ‘५ लाख, वनकुखुरा र अरिंगाल खाए, काम गरिदिएनन्’
साथै कास्कीका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीको सरकारी निवासमा रकम गनेर गाडीमा राखेको बेलामा खिचेको फोटो पेश भएको भन्दै विशेष अदालतले राजकुमार गुप्ताको हकमा विशेष अदालतले विशेष अदालत ऐन, २०५९ को दफा ७(ङ)को आकर्षित हुने आदेश गरेको हो ।

उक्त दफामा ‘तत्काल प्राप्त प्रमाणका आधारमा अभियुक्तलाई थुनामा राखी पुर्पक्ष गर्नु पर्ने पर्याप्त र मनासिव कारण भएमा प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि निजलाई थुनामा राखी पुर्पक्ष गर्ने’ भन्ने व्यवस्था छ । दफा ७ को उपदफा (घ)मा धरौटी माग्ने सम्बन्धी व्यवस्था छ भने उपदफा(ङ)मा थुनामा पठाउने व्यवस्था छ ।

सर्वोच्च अदालतले विशेष अदालत ऐन, २०५९ को दफा ७(घ)मा रहेको ‘तत्काल प्राप्त प्रमाणबाट कुनै अभियुक्तलाई थुनामा राखी पुर्पक्ष गर्नुपर्ने नदेखिएमा निजसँग निजले हानी नोक्सानी गरेको गरेको विगो वा गैरकानूनी रुपमा लिएको रकम र निजलाई हुनसक्ने कैद र जरिवाना समेतलाई दृष्टिगत गरी धरौटी वा जमानत माग्ने’ भन्ने व्यवस्था प्रयोग गरेर धरौटी मागेको हो ।


यो पनि पढ्नुहोस
घुसकाण्डमा जोडिइन् रञ्जिता : ‘क्यास चाहियो, ड्राइभर पठाइदिऊँ ?’
सर्वोच्च अदालतले विशेष अदालत ऐन, २०५९ को दफा ७ को (ङ) नभई (घ) को व्यवस्था आकर्षित हुने आदेश गरेको हो । आदेशमा भनिएको छ, ‘दफा ७ (घ) बमोजिम यी प्रतिवादीबाट पचास लाख रुपैयाँ) नगद धरौट वा बैंक ग्यारेन्टी वा जेथा जमानत लिई मुद्दाको पूर्पक्षको लागि तारेखमा राख्नू ।’

सर्वोच्च अदालतले पूर्वमन्त्री गुप्ता बाहेक अरुलाई भने धरौटीमा नै छाड्ने विशेष अदालतको आदेश सदर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्किचोकमा अवस्थित २२०/१३२/३३ केभी सबस्टेसनमा रहेको १३२/३३ केभी क्षमताको १२ एमभिए पावर ट्रान्सफर्मरमा प्राविधिक समस्या उत्पन्न हुँदा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका अनुसार ट्रान्सफर्मरको अर्थिङ प्रणालीमा समस्या आई अत्यधिक करेन्ट प्रवाह भएपछि हिजो साँझ ५ः३२ बजेदेखि लाइन अवरुद्ध भएको हो । उक्त सबस्टेसनबाट तनहुँको आँबुखैरेनी, ...
— कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र अब ६०/४० को भागबण्डा नचल्ने बताएका छन् । मधेस प्रदेश सभालाई बुधबार सम्बोधन गर्दै शर्माले विशेष महाधिवेशनमा सहभागी नभएकाहरूलाई पनि केन्द्रमा, संसदीय दलमा र भातृसंस्थाहरूमा जिम्मेवारी दिने काम भएको भन्दै ६० र ४० को भागबण्डाको विषय अब दन्त्य कथा बनिसकेको बताए । क्रियाशील सदस्यता अद्यावधीलाई लिएर संस्थापन इतरपक्षले गरिरहेको ...
। सिन्धुली जिल्लामा सार्वजनिक सुरक्षालाई आधुनिकीकरण गर्ने उद्देश्यका साथ ‘स्मार्ट कन्ट्रोल रुम’ अन्तर्गत कम्प्युटर–एडेड डिस्प्याच प्रणालीको सुरुवात गरिएको छ । नेपालमा जिल्लास्तरमा यस प्रकारको एकीकृत र प्रविधिमा आधारित आपत्कालीन प्रतिकार्य प्रणाली (इमर्जेन्सी रेस्पोन्स सिस्टम) लागू गरिएको यो पहिलो पटक हो । सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने लक्ष्य सहित कार्यालय परिसरमा स्मार्ट प्रहरी कन्ट्रोल रुमको कमलामाई नगरपालिकाका नगर प्रमुख ...
। २०८२ माघ २३ गते बैंकिङ कसुरमा पक्राउ परी कास्की जिल्ला अदालतबाट जिम्मा जमानीमा छुटेका भोटेकोशी हेली रिसोर्ट एन्ड स्पा लिमिटेडका सञ्चालक सुवास प्रधान फेरि पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको सहयोगमा यही जेठ ३ गते पक्राउ गरी प्रधानलाई पोखरा ल्याएको हो । प्रधानलाई मंगलबार थप ३ दिनको म्याद गरी कास्की ...
। नेपाली सेनाले विगतका वर्षमा सञ्चालित उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा यसवर्ष मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याउने भएको छ । यस अभियानमा सङ्घीय, प्रदेश तथा स्थानीय सरकारका निकाय, अन्य सुरक्षा निकाय, गैरसरकारी संस्था तथा स्थानीय समुदायसँग सहकार्य र समन्वयलाई विशेष प्राथमिकता दिइएको छ । सेनाका अनुसार विपद्को समयमा तत्काल ...