। विश्वका नेताहरूबीचको सम्बन्धलाई चिनियाँ राष्ट्रपति सी जिनपिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनको जस्तो व्यक्तिगत रूपमा विरलै मात्र चित्रण गर्ने गरिएको छ।
आखिर कसरी बन्यो यस्तो सम्बन्ध ? यसको रहस्य खोतल्न उनीहरूका मेहनतका धेरै लामो शृङ्खला पछ्याउनुपर्छ ।
यसबीचमा धेरै भ्रमण र अनौपचारिक कार्यक्रमहरूबाट मात्र होइन, सी र पुटिनले अनौपचारिक सहकार्यका लागि धेरै समय सँगै बिताएका छन् ।
सँगै भोड्का पिउने, बुलेट ट्रेनको यात्रा गर्ने, तालको किनारमा चिया पिउने र चिनियाँ ‘डमप्लिङ’ सँगै पकाउने जस्ता अनौपचारिक गतिविधिहरूले उनीहरूबीचको व्यक्तिगत विश्वासलाई थप बलियो बनाएको छ ।
वर्षौंदेखि, उनीहरूको सम्बन्ध शिखर सम्मेलन र राजकीय भ्रमणहरूले मात्र नभई खाना, जन्मदिन मनाउने, खेलकुद कार्यक्रमहरू, डुङ्गा सयर र तालको किनारमा चिया पिउने जस्ता अत्यन्त व्यक्तिगत संस्कारहरूको बढ्दो क्रियाकलापबाट पनि परिभाषित भएको छ।
सार्वजनिक रूपमा आफ्नो व्यक्तिगत जीवन वा भावनाहरूबारे विरलै प्रकट गर्ने सीले एकपटक पुटिनलाई आफ्नो ‘सबैभन्दा राम्रो र घनिष्ठ मित्र‘ भनेर अभिव्यक्ति दिएका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो बहुप्रतिक्षित चीन भ्रमण सम्पन्न गरेको एक हप्ता पनि नबित्दै, मंगलबार पुटिन दुई दिने राजकीय भ्रमणका लागि बेइजिङ आइपुग्दा होसियारीपूर्वक हुर्काइएको उनीहरूको मित्रता फेरि चर्चामा आएको छ।
२६ वर्षमा पुटिनको २० चीन भ्रमण
मे ७, २००० मा भ्लादिमिर पुटिनले पहिलो पटक रुसको राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेदेखि उनले २० भन्दा बढी पटक चीनको भ्रमण गरिसकेका छन्।
बढ्दो भू-राजनीतिक अनिश्चितताको घडीमा फेरि उनको चीन भ्रमणको नयाँ शृङ्खला सुरु भएको छ । बेइजिङ, मस्को र वासिङ्टनबीचको सम्बन्ध झन् जटिल बन्दै गएको छ, जबकी इरानमा चलिरहेको अमेरिका-इजरायल युद्ध अन्त्य गर्ने वार्ता रोकिएको छ र युक्रेनमा रुसको सङ्घर्ष लम्बिरहेको छ।
यावत चुनौतीका पृष्ठभूमिमा दुवै देशलाई सम्बन्धका हातहरू थप बलियोगरी समाउनुपर्ने बाध्यता त छँदैछ, साथमा उनीहरूका व्यक्तिगत तहमा विकास भएका मित्रताले यसलाई सजिलो बनाइरहेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार, यी दुई नेताबीचको मित्रता औपचारिक बैठकहरूमा मात्र सीमित छैन। सी जिनपिङले पुटिनलाई आफ्नो ‘सबैभन्दा राम्रो र घनिष्ठ मित्र’ भनेर सम्बोधन गरेका छन्।
आधुनिक विश्वको सबैभन्दा चर्चित भू-राजनीतिक गठबन्धनमध्ये एक बनेको यो सम्बन्ध यसकारण पनि बलियो छ कि यो कूटनीतिक सम्झौतामा मात्र सीमित छैन । व्यक्तिगत घनिष्ठता, साझा वैचारिक दृष्टिकोण र पश्चिमा राष्ट्रहरूको दबाबले जन्माएको एक व्यावहारिक र रणनीतिक साझेदारीले उनीहरूको सम्बन्धलाई थप बलियो बनाउँदै लगिरहेको छ ।
अधिनायकवादी शैलीको शासन अभ्यासका बीच सी र पुटिनका प्राथमकिता आफ्नो सत्ता टिकाउनु पनि हो। बारम्बार नेतृत्व परिवर्तन भइरहने पश्चिमा राष्ट्रहरूले रुस र चीन दुवै देशका नेतृत्वसँग जोडेर लोकतन्त्र र मानवअधिकारका विषयमा प्रश्न गरिरहन्छन् । यसबाट यी दुवै नेता असन्तुष्ट बन्छन् ।
‘दुश्मनका दुश्मन मेरो साथी’
‘दुश्मनका दुश्मन मेरो साथी’ भने उक्ति पनि उनीहरूको हकमा लागु हुन्छ नै । उनीहरू अमेरिकाको नेतृत्वमा रहेको विश्व व्यवस्थालाई परिवर्तन गरी पश्चिमा-रहित बहुध्रुवीय विश्व निर्माण गर्न पनि चाहन्छन्।
सन् २०१४ मा रुसले युक्रेनको क्रिमिया कब्जा गरेपछि पश्चिमा देशहरूले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाए । यसले गर्दा रुस अन्तर्राष्ट्रिय रूपमा एक्लियो र विकल्पको रूपमा चीनतर्फ ढल्कन बाध्य भयो।
अर्कोतर्फ, अमेरिकासँगको लामो व्यापार युद्धले गर्दा चीनलाई पनि रुसजस्तो बलियो रणनीतिक साझेदारको आवश्यकता पर्यो। यही पृष्ठभूमिमा उनीहरूबीच सैन्य र आर्थिक साझेदारी निकै बलियो बन्दै गइरहेको छ ।
चीन र रुसबीच करिब २,६०० माइल लामो सीमा जोडिएको छ। सन् १९६९ को सीमा विवादलाई पन्छाएर उनीहरूले अहिले ‘भोस्तोक’ जस्ता ठूला सैन्य अभ्यासहरू सँगै गरिरहेका छन्। चीनले रुसबाट एस-४०० मिसाइल प्रणाली र एसयू-३५ लडाकु विमान खरिद गरेको छ भने बाल्टिक सागरमा संयुक्त नौसेना अभ्याससमेत गरेका छन्।
दुई देशबीचको द्विपक्षीय व्यापार लगातार बढिरहेको छ। उनीहरूले व्यापारमा अमेरिकी डलरको प्रयोग घटाउने योजना बनाएका छन्। युरोपको बजार गुमाएको रुसका लागि ‘पावर अफ साइबेरिया’ पाइपलाइनमार्फत चीनलाई ग्यास बेच्नु अर्थतन्त्र धान्ने मुख्य आधार बनेको छ।
कम छैनन् अँध्यारा पक्षहरू
यद्यपि यी उज्याला दृश्यका पछाडि केही असमानता र अविश्वासका काला छाया पनि छन् । युक्रेन युद्ध पाँचौँ वर्षमा चलिरहँदा रुस थप कमजोर र चीनमाथि निर्भर बन्दै गएको छ। चीन निकै शक्तिशाली बनिरहँदा युक्रेन युद्धमा फसिरहेको रुस ‘जुनियर पार्टनर’ का रूपमा खुम्चिंदै गइरहेको छ ।
चीन एआई, रोबोटिक्स र ड्रोन प्रविधिमा निकै अगाडि छ। एक व्यापार मेलामा चिनियाँ रोबोटहरू देख्दा रुसी अधिकारीहरूले आफ्नो देशले मह र गँगटो मात्र बेच्न सकेको भन्दै निराशा व्यक्त गरेका थिए।
रुसको सुदूर पूर्वमा चिनियाँ व्यापारीहरूको बढ्दो प्रभावलाई लिएर रुसी सुरक्षा निकायमा अविश्वास छ। साथै, कैयौँ रुसी वैज्ञानिकहरूले चीनलाई गोप्य सूचना चुहाएको आरोपमा देशद्रोहको मुद्दा खेपिरहेका छन्।
युक्रेन युद्धमा चीनको दोहोरो नीतिले पनि अविश्वास बढाउन भूमिका खेलिरहेको छ । चीनमाथि रुसलाई समर्थन गरेजस्तो देखाए पनि युक्रेनलाई समेत ड्रोनका पाटपुर्जाहरू आपूर्ति गरिरहेको आरोप छ, जसले गर्दा रुस चीनमाथि पूर्ण रूपमा निर्भर तर असहाय बनेको छ।
यसरी सी र पुटिनको मित्रता कुनै प्राकृतिक वा सैद्धान्तिक गठबन्धन भने होइन । यसलाई दुवै देशका नेताहरूको सत्ता स्वार्थ, पश्चिमा राष्ट्रहरूप्रतिको साझा वितृष्णा र एकअर्काको तत्कालीन आवश्यकताले जन्माएको रणनीतिक साझेदारी भन्न सकिन्छ ।
रुस युद्ध र प्रतिबन्धमा फस्दै जाँदा चीन झन् शक्तिशाली बन्दै गएको छ, जसले गर्दा वर्तमान समयमा यो मित्रता समानतामा भन्दा पनि रुसको बाध्यतामा बढी टिकेको देखिन्छ।
(अन्तर्राष्ट्रिय सञ्चार माध्यम र एजेन्सीहरूको सहयोगमा)