। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद धनन्जय रेग्मीले सुगौली सन्धिको कपी पढ्न नपाएको बताएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री शिशिर खनाल उपस्थित बैठकमा रेग्मीले भने, ‘बोर्डरको समस्या के हो ? सुगौली सन्धि के रहेछ ? पढ्न पाएनौं । त्यसको कपि कहाँ छ ? पढ्न पाए थाहा लाग्दथ्यो ।’
‘रिसर्चर भिसा’का लागि पहल गर्न आग्रह
फरक प्रसङ्गमा सांसद रेग्मीले ‘रिसर्चर भिसा’ दिने व्यवस्थाको लागि पहल गर्न पनि आग्रह गरे ।
‘नेपालमा रिसर्चर भिसा दिने गरिएको छैन । रिसर्चरहरु टुरिष्ट भिसामा आउने गर्दछन् । उनीहरूलाई रिसर्च भिसा दिए सम्मान पनि बढ्छ । प्रोत्साहन पनि हुन्छ,’ उनले भने ।
विदेशमा रहेका नेपाली कति छन् र कुन अवस्थामा छन् त्यो थाहा पाएर अगाडि बढ्न सक्दा सहज हुने पनि उनको सुझाव छ । ‘एनआरएनको संख्या कति छ ? कति विद्यार्थी गएका छन् ? कति पैसा कुन च्यानलबाट पैसा लगेको ? समस्या पहिचान गरेपछि समस्या समाधान गर्न सकिन्छ,’ उनले भने, ‘रेमिटेन्स आएको हेरेका छौँ । गएको हेरेनौं ।’
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा परराष्ट्र मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल भइरहेको छ ।