: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमित समूहको मिलेमतोमा देश दोहने प्रवृतिलाई संरक्षण नगरिने स्पष्ट पारेका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि सांसदले राखेका प्रश्नको उत्तर दिँदै अर्थमन्त्री डा. वाग्लेले सरकार सुशासनमा केन्द्रित भएको दावी समेत गरे ।
‘सुशासन विना दिगो आर्थिक वृद्धि सम्भवन हुँदैन,’ उनले भने, ‘संस्थाहरूको अवैध कब्जाले राज्यको लागत मात्रै बढाएको छैन, नागरिकको विश्वास पनि कमजोर बनाएको छ ।’ उनले सरकारले विपक्षी दलहरुको आवाजको समेत सम्मान गर्ने बताएका छन् ।
उनले विपक्षीलाई भने, ‘अब आफ्नै भाषा, आफ्नै दस्ताबेज अनुमोदित गराउनलाई अर्को चुनाव कुर्नु पर्ला । तर यति भन्दै गर्दा पनि संविधानप्रतिको हाम्रो बफादारीबारे आधारहीन संशय छरिएको छ । संविधानमा मन नपरेका प्रावधानहरूलाई फेर्न परे पनि यही संविधानकै धारा २७४ र धारा २७५ टेकेर मात्रै गर्छौँ भन्ने कुरा फेरि हामीले वाचापत्रमा उल्लेख गरेका छौँ । त्यसैले संविधानप्रति हाम्रो प्रतिबद्धता छ ।’
‘सिस्टम सुधारमार्फत आर्थिक सुधारको बाटोमा अघि बढेको हो,’ अर्थमन्त्री वाग्लेले भने, ‘राज्य नीति र सार्वजनिक संस्थालाई कब्जामा लिएर सीमित समूहको मिलेमतोमा देश दोहने प्रवृतिलाई अब संरक्षण गरिदैन । गलतलाई गलत भन्न र रोक्न सरकार पछि हट्दैन ।’