: कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–१४ हनुमान मन्दिर अगाडि मंगलबार अपरान्ह दुर्घटना हुँदा साइकलमा सवार बाबु–छोरीको मृत्यु भएको छ।
मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार विराटनगरबाट रानीतर्फ जाँदै गरेको एएस ०१ एफसी ०९१९ नम्बरको एलपी ग्यास बुलेटले साइकलमा रहेका दुई जनालाई ठक्कर दिएको हो। बुलेट आईसीपीतर्फ मोड्ने क्रममा करिब ४:५० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा विराटनगर–१४ जतुवाका ४५ वर्षीय शिवचरण ठाकुर र उनकी १३ वर्षीया छोरी गरिमा ठाकुरको मृत्यु भएको जानकारी न्यौपानेले दिए।
बुलेटको ठक्करपछि गम्भीर घाइते भएका उनीहरूलाई तत्काल उद्धार गरी कोशी अस्पताल पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार ग्यास बुलेट र चालक भारत घर भएका ४५ वर्षीय रामलाल सहनीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ।
दुर्घटनापछि घटनास्थलमा स्थानीयको ठूलो भिड जम्मा भएको थियो। आक्रोशित भीडले ग्यास बुलेटमा तोडफोड समेत गरेको प्रहरीले जनाएको छ। तोडफोडबाट बुलेटको अगाडिको भागमा क्षति पुगेको छ। मृतक दुवै जनाको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ। प्रहरीले दुर्घटनाको कारण, सवारीको गति र मोड्ने क्रममा भएको लापरबाहीका बारेमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको जनाएको छ।