: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरु प्रदेशमा सत्ता परिवर्तनको खेलमा नरहेको बताएका छन् । आइतबार सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली कांग्रेस र एमालेबाट प्रदेश सरकारमा सहकार्यको प्रस्तावहरु आए पनि आफूले इन्कार गरेको बताए ।
उनले भने, ‘प्रमुख पार्टीहरुले हामी मिलेर बनाउ भनेर कहीं कांग्रेस, कहीं एमालेबाट प्रस्तावहरु आउने गरेका थिए । आईराखेको पनि छ । त्यो प्रस्ताव संयोजकको हैसियतले मैले नै इन्कार गरेको छु । उक्त प्रस्तावले फेरि पनि जनतामा भ्रम पर्ने र अरुहरुलाई फाइदा पुग्न सक्छ ।’ उनले भने, ‘हामी एमाले वा कांग्रेसलाई बाहिर पठाएर हामी सरकारमा जाँदैनौँ । यो आजको दिनमा गलत छ । यदि प्रदेशमा नयाँपन ल्याउने हो भने, प्रदेश सरकारमा प्रतिनिधित्व भएका सबै दलहरु मिलेर सबै दलीय सरकार बनाउने कुरामा हामी सहमत छौँ । मुलुकका लोकतान्त्रिक शक्तिहरु बीचको सहकार्य जरुरी छ । होइन भने कांग्रेस–एमाले मिलेर सरकार चलाउनुस्, हामीलाई चाहिया छैन भनेर भनेका छौँ ।’
सुर्खेतमा नेपाली कांग्रेस–देउवा समूहको भेलामा आएका कांग्रेस नेता पूर्णबहादुर खड्कालाई समेत भेट गरेका प्रचण्डले आफूहरुको भेट सामान्य मात्र भएको बताए । प्रचण्डले अहिलेको सरकारले लोकतन्त्रको उपहास गरेको बताए । उनले भने, ‘नेपालको सन्दर्भमा भन्ने हो भने, अहिलेसम्म कहिलै नभएको, सरकार आफैले संसद बलाउने, बोलाएको भोलिपल्ट त्यसलाई रोकेर अध्यादेश ल्याउने भनेको लोकन्तको यो भन्दा ठूलो उपहास अरु केही हुनै सक्दैन भनेर सबै बुद्धिजीविहरुले पनि भनिराखेका छन् ।’
उनले लोकतन्त्र रक्षाका लागि नेपालका सबै राजनीतिक दलहरु एक ठाँउमा उभिनुपर्ने अवस्था आएको बताएका छन् । उनले दुईतिहाईको सरकार अध्यादेशबाट चल्ने कुरा लाजमर्दाे भएको बताए । उनले भने, ‘अहिले पनि राजनीति सहज ढंगबाट अगाडि बढिरहेको छैन् । सुकुम्वासी समस्या, ट्रेड युनियनको समस्या, संबिधान संशोधनको सवाल पनि जस्ताको त्यस्तै छ । सरकारले राम्रो काम गर्दा रचनात्मक रुपमा सहयोग गर्ने भनेका छौँ । तर सरकारका अहिलेका गतिविधि समर्थन गर्नपर्ने भन्दा पनि बिरोध गर्नुपर्ने, जनस्तरबाट पनि बिरोध गर्नुपर्ने अवस्था छ । हामी सडक, सदन सबै तहबाट प्रतिवाद गर्छाैँ ।’
बालेन शाह नेतृत्वको सरकारका कामहरुबाट प्रचण्ड निकै असन्तुष्ट देखिए । उनले अहिलेको सरकारबाटै लोकतन्त्र र व्यवस्थामाथि खतरा रहेको संकेत गरे । उनले नेपाली कम्युनिष्ट पार्टीका नेता र नेपाली कांग्रेसका नेताहरु सुर्खेतमा झरेको संयोग भएको भन्दै यसले नयाँ सन्देश पनि दिन सक्ने बताए । उनले आफ्नो पार्टी राष्ट्रियता, लोकतन्त्र र संसदीय व्यवस्था रक्षाका लागि बलियो ढंगले उभिने बताए ।