: विश्वकै चौथो सर्वोच्च शिखर लोहत्से हिमालको चुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) कार्य सकिएको छ। पाँच जना शेर्पा सहयोगी (क्लाइम्बिङ गाइड) ले आइतबार बिहान ८:१० बजे हिमालको शिखरसम्मै पुगेर पर्वतारोहणका लागि बाटो खोलेका हुन्।
मार्ग खुलेसँगै यस वर्ष लोहत्से आरोहणको अनुमति लिएका सम्पूर्ण स्वदेशी तथा विदेशी पर्वतारोहीका लागि हिमाल चढ्ने ढोका पूर्ण रूपमा खुला भएको छ।
पर्वतारोहण सञ्चालक संघका छाङदावा शेर्पाका अनुसार बाटो खोल्ने कार्य सफल भएको आधिकारिक जानकारी पर्यटन विभागको फिल्ड कार्यालयलाई गराइएको छ। यस वर्ष लोहत्सेको चुचुरोसम्म डोरी टाँगेर बाटो खुला गर्ने साहसी टोलीको नेतृत्व संखुवासभा मकालुका मिङमा दोर्ची शेर्पाले गरेका थिए। टोलीमा संखुवासभाकै मिङमा तेन्जी शेर्पा, पासाङ तेन्जी शेर्पा, पाम दोर्ची शेर्पा र ताप्लेजुङको शिरिजंघाका लोप्साङ भोटे सदस्य थिए ।