: पर्यटन विभागले सन् २०२६ को वसन्त ऋतुका लागि हिमाल आरोहणको अद्यावधिक तथ्याङ्क सार्वजनिक गरेको छ । विभागको प्रतिवेदन अनुसार १ मार्च २०२६ देखि १५ मे २०२६ सम्मको अवधिमा विभिन्न ३० वटा हिमाल आरोहणका लागि अनुमति जारी गरेबापत कुल १ अर्ब २५ करोड ८४ लाख ६० हजार ५ सय ५४ रुपैयाँ (८४ लाख २९ हजार ६ सय २६ अमेरिकी डलर) रोयल्टी संकलन भएको छ ।
यस सिजनमा १४२ वटा आरोहण दलका कुल १ हजार १८१ जना आरोहीहरूले नेपालका हिमाल चढ्ने अनुमति पाएका छन् । जसमा ८९८ पुरुष र २८३ महिला आरोहीहरू रहेका छन् ।
यस वर्ष पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा सबैभन्दा बढी आकर्षण र राजस्व संकलन देखिएको छ। सगरमाथा आरोहणका लागि मात्रै ५१ वटा टिमका ४९४ जना आरोहीहरूले अनुमति लिएका छन् । जसमा ३८९ पुरुष र १०५ महिला सहभागी छन् ।
सगरमाथाबाट मात्रै सरकारले १ अर्ब ७ करोड ८६ लाख ९१ हजार ४ सय ७५ रुपैयाँ रोयल्टी संकलन गरेको छ । सगरमाथा बाहेक लोत्से हिमालबाट ६ करोड ३६ लाख, मकालु १ बाट ३ करोड १७ लाख, आमादब्लमबाट १ करोड ६६ लाख र कञ्चनजङ्घा मुख्यबाट १ करोड ६० लाख रुपैयाँभन्दा बढी रोयल्टी उठेको विभागको तथ्याङ्कमा उल्लेख छ ।
देशगत सहभागिताका आधारमा यस सिजनमा कुल ७९ देशका आरोहीहरू नेपाल आएका छन् । सबैभन्दा बढी आरोहीहरू चीनबाट १५६ जना र संयुक्त राज्य अमेरिकाबाट १५० जना रहेका छन् । त्यस्तै, भारतबाट ९७ जना, संयुक्त अधिराज्य (युके) बाट ७४ जना र रसियाबाट ७० जनाले आरोहण अनुमति लिएका छन् । नेपालका तर्फबाट भने ४३ जना (४ महिला र ३९ पुरुष) ले विभिन्न हिमाल आरोहणको अनुमति प्राप्त गरेका छन् ।