: नुवाकोटको पश्चिमी भेगमा रहेको म्यागङमा दाजुभाइको हत्या गरेर फरार व्यक्तिहरु पक्राउ परेका छन् । पक्राउ परेकाहरु विदुरस्थित प्रहरी हिरासतमा र शव त्रिशुली अस्पतालमा राखिएको छ ।
म्यागङ गाउँपालिका–१ किम्ताङ र वर्सुन्चेतको सीमानामा रहेको स्थानीय तोमजोङ खोलामा हत्या गरेर खोलामा गाडेको अवस्थाका दुई जना दाजुभाइको शव फेला परेको थियो । म्यागङ गापा–१ किम्ताङबेशीमा म्यागङ–४ का किम्ताङका ४३ वर्षीय समराज तामाङ र उनका भाइ ३६ वर्षीय सूर्यमान तामाङलाई किम्ताङकै ३६ वर्षीय धनबहादुर तामाङ भन्ने धने तामाङले हत्या गरेका घटनामा धने तामाङसहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
पुरानो रिसइबीको कारण धनेले भरुवा बन्दुकले दाजुभाइमाथि प्रहार गरेर हत्या गरेको भन्ने जानकारी प्राप्त हुनासाथ अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिएर घटनास्थल गई शवको उत्खनन् गर्नुका साथै दुई दिनपछि विहीवार ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । किम्ताङबेशी तोमजोङ खोलास्थितमा ढुङ्गाको चेपमा पानीको भागमा ढुङ्गाहरुले चेपिएर राखिएको अवस्थामा समराज तामाङ र सूर्यमान तामाङ दाजुभाइको शव फेला पारी पोष्टमार्टमका लागि त्रिशुली अस्पताल पठाइएको प्रहरी नायव उपरीक्षक विक्रम लामाले जानकारी दिए ।
उनका अनुसार पहिले उक्त घटनासँग सम्बन्धित चार जना व्यक्तिहरु नियन्त्रण लिइएको र मुख्य अभियुक्तहरु फरार रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन, तालुक प्रहरी कार्यालयहरु तथा जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा फरार रहेका धनबहादुर तामाङ भन्ने धने तामाङ र माइला भन्ने सोमबहादुर तामाङलाई जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले विहीवार धादिङको खनियाँबास–५ भिरवनबाट पक्राउ गरेको हो । उक्त घटनासँग सम्बन्धित मोटरसाइकल एक थान र भरुवा बन्दुक तीन थान समेत बरामद गरी उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको डीएसपी लामाले बताए ।
उनका अनुसार नुवाकोटको उक्त किम्ताङ हत्या प्रकरणमा संलग्न रहेको मुख्य दुई जनामाथि गहन अनुसन्धान जारी रहेको छ । दाजुभाइ हत्याको घटनामा पक्राउ परेका ६ जनामध्ये मुख्य संलग्न भनिएका दुई जनामाथिको अनुसन्धान गहन बनाइएको नुवाकोट प्रहरीले जनाएको छ ।
हत्या गरेर शव खोलामा गाडेको अवस्थामा फेला परेको थियो ।
धने तामाङ र मृतक दाजुभाइबीच निर्माण सम्वन्धि विषयमा विवाद हुँदा उक्त घटना भएकोे म्यागङ गापा–४ का वडाध्यक्ष कमलबहादुर तामाङले जानकारी दिए । मृतकहरु र पक्राउ परेका धने गाउँमा ठेक्कामा निर्माण सम्वन्धि विभिन्न काम गर्दै आएको स्थानीयवासीले वताए । एकाघरका दाजुभाइको हत्या भएपछि सूर्यमान र समराजको गाउँ शोकमा डुवेको छ ।