: प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पूर्व गृहमन्त्री सुधन गुरुङमाथि लागेको आरोपको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् । सरकारले गठन गरेको छानबिन समितिले सत्यतथ्य पत्ता लगाउनुको सट्टा गुरुङलाई सफाइ दिने प्रयास गर्न सक्ने आशंका व्यक्त गर्दै उनले भने, ‘समितिले निष्पक्ष छानबिन गरोस्, चोख्याउने दाउ मात्र नगरोस् ।’
पूर्व गृहमन्त्री गुरुङ विवादित व्यापारी दीपक भट्टसँगको शेयर लगानी तथा आर्थिक सम्बन्धका कारण विवादमा तानिएका थिए । सार्वजनिक रूपमा प्रश्न उठ्न थालेपछि उनीमाथि राजनीतिक र नैतिक दबाब बढेको थियो । त्यसपछि गुरुङले गत ९ वैशाखमा नैतिकताको आधार देखाउँदै गृहमन्त्री पदबाट राजीनामा दिएका थिए ।
तर, राजीनामा दिएको तीन साता बितिसक्दा पनि सरकारले कुनै छानबिन समिति गठन नगरेको भन्दै बुधबार विपक्षी नेता आङ्देम्बेले प्रतिनिधिसभा बैठकमा सरकारको आलोचना गरेका थिए । संसद् बैठकलाई सम्बोधन गर्दै उनले ‘पूर्व गृहमन्त्रीमाथि छानबिन नगर्ने तर अरुलाई भ्रष्टाचारको आरोपमा अल्गोरिदेमिक खेदाइ गर्ने प्रवृत्ति जायज छैन’ भन्दै सरकारको दोहोरो मापदण्डमाथि प्रश्न उठाए ।
आङ्देम्बेको यो अभिव्यक्तिपछि सरकार थप दबाबमा परेको थियो । त्यसको भोलिपल्टै बिहीबार सरकारले उच्च अदालतका पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको घोषणा गर्यो । समितिलाई गुरुङमाथि उठेका आरोपबारे अनुसन्धान गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ । समिति गठन भएपछि आङ्देम्बेले त्यसलाई सकारात्मक कदम भने पनि समितिको निष्पक्षतामै यसको विश्वसनीयता निर्भर रहने बताएका छन् । उनले समितिले राजनीतिक प्रभावमा नपरी सत्यतथ्य बाहिर ल्याउनु पर्नेमा जोड दिएका छन् ।