— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिका तत्कालीन पदाधिकारी तथा कर्मचारीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
समितिका तत्कालीन सदस्य सचिवहरू टिकाराम ढकाल, नरहरि तिवारी, गेहेन्द्रबहादुर डाँगी, लेखा अधिकृत हरिबहादुर क्षत्री (हाल दिवंगत) र सह-लेखापाल खड्कबहादुर रानाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर भएको हो । आव २०७६/७ देखि २०८०/८१ को अवधिमा सटर कवल र जग्गा भाडाबाट उठेको रकम बैंकमा जम्मा नगरी हिनामिना गरेको अभियोगमा प्रतिवादीहरुउपर मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
५ वर्षको अवधिमा समितिले भाडाबाट ४ करोड १८ लाख ४ हजार ३०३ रुपैयाँ राजस्व संकलन गरेकामा १ करोड २३ लाख २५ हजार ६२ रुपैयाँ मात्र बैंकमा दाखिला गरिएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ । दाखिला नभएको रकमलाई नै अख्तियारले बिगो कायम गरी छुट्टाछुट्टै बिगो कायम गरेको छ । बाँकी २ करोड ९४ लाख ७८ हजार ६८१ रुपैयाँ हिनामिना भएको पुष्टि भएकामा ढकालविरुद्ध ६४ लाख २८ हजार ४३७, तिवारीविरुद्ध १ करोड ४ लाख ७१ हजार ९४२, डाँगीविरुद्ध ७२ लाख ७८ हजार १०, सह-लेखापाल रानाविरुद्ध २ करोड ९४ लाख ७८ हजार ६८१ रुपैयाँ बिगो कायम गरिएको छ ।
अख्तियारले मुद्दामा प्रतिवादी बनाएका तत्कालीन लेखा अधिकृत हरिबहादुर क्षत्रीको हकमा उनकी श्रीमती सिमाकुमारी चन्दबाट २ करोड ९० लाख ९६ हजार ४१ रुपैयाँ बिगो असुलउपरको मागदाबी गरेको छ ।
हिनामिना ढाकछोप गर्न प्रतिवादीहरूले बैंकमा रकम जम्मा भएको देखिने गरी नक्कली आय-व्यय विवरण तयार पारी समितिको बैठकबाटै अनुमोदन गराएको पनि खुलेको छ ।