। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू सम्बद्ध निकायहरूमा रिक्त रहेका पदहरूको पदपूर्ति रोस्टरबाट गर्ने भएको छ ।
ती निकायमा नियुक्ति तथा मनोनयनका लागि विज्ञ तथा इच्छुक व्यक्तिहरूको ‘रोस्टर’ (सूची) तयार गर्ने भन्दै मन्त्रालयले सूचना जारी गरेको हो । योग्यता पुगेका नेपाली नागरिकलाई अनलाइनमार्फत सूचीमा दर्ता हुन मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता जयनारायण आचार्यद्वारा जारी सूचनाअनुसार, रोस्टर सूचीमा सूचीकृत हुन चाहने व्यक्तिहरूले आगामी जेठ ४ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ।
मातहतका विभिन्न बोर्ड, समिति, तथा प्रतिष्ठानहरूमा हुने नियुक्ति प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले यो रोस्टर तयार गर्न लागिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गत विभिन्न नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम, सांस्कृतिक संस्थान, तारागाउँ विकास समिति, नेपाल पर्यटन बोर्ड लगायत संस्था तथा निकाय छन् ।
इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले मन्त्रालयले सूचनामा उपलब्ध गराएको अनलाइन लिङ्क वा क्युआर कोड स्क्यान गरेर तोकिएको समयसीमाभित्र आफ्नो विवरण भर्न सक्नेछन्।