। नेकपाका संयोजकसमेत रहेका पूर्वप्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गरिएको भन्दै आपत्ति जनाए ।
‘आधुनिक लोकतन्त्रको मुख्य आत्मा नै ट्रेड युनियन हुन् । लामो संघर्षबाट प्राप्त अधिकार खोस्ने दिशामा अघि नबढौं,’ उनले भने, ‘लोकतन्त्रका संस्थाहरुलाई हामीले नष्ट गर्ने होइन, निर्माण गर्ने हो ।’
उनले युवा सांसदहरूलाई ट्रेड युनियनलाई पेशागत संगठनको रूपमा सुदृढ बनाउने बहस गर्न आग्रह गरे ।
प्रचण्डले अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनपछि बनेको सरकारले नै प्रेस स्वतन्त्रता संकुचन गर्नु बिडम्बनापूर्ण भएको बताए । ‘हिजो हामीले बोलेकै भरमा थुनिनुपर्ने परिस्थितिको विरोध गर्यौं तर आज हामी मिडिया संस्थाहरुलाई नियमन गर्ने, कमजोर गर्ने अभ्यास गर्दैछौं,’ उनले भने, ‘प्रश्नहरुबाट भागेर हैन प्रश्नहरुको जवाफ दिएर मात्रै लोकतन्त्रको विकास हुन्छ।’