: सुनसरी प्रहरीले अदालतबाट भएका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत प्रहरी इकाइबाट खटिएको टोलीले विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ९ जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ ।
सुनसरी जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय सुनसरीको फैसलाअनुसार कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ९ जना फरार कसूरदारलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराइएको सुनसरीका प्रहरी प्रमुख एसपी केशव कुमार थेबेले बताए । पक्राउ पर्नेहरूमा बिगो तथा चेक अनादर मुद्दामा दोषी ठहर भएका सुनसरी इनरुवा नगरपालिका–४ का चन्दनकुमार यादव रहेका छन् । उनीमाथि ७३० दिन कैद सजाय तथा १७ लाख रुपैयाँ जरिवाना रहेको प्रहरीले एसपी थेबेले बताए ।
त्यस्तै सवारी ज्यान मुद्दामा हरिनगर गाउँपालिका–६ का अख्तर मन्सुरीलाई पक्राउ गरिएको छ । उनीमाथि ५ लाख रुपैयाँ जरिवाना तोकिएको थियो । अभद्र व्यवहार मुद्दामा इटहरी उपमहानगरपालिका–११ का दिपशन राई, तथा कुटपिट मुद्दामा दुहवी नगरपालिका–९ का अकाल मिया, सगिरा खातुन र अलताब मियालाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूबाट क्रमशः १० हजार रुपैयाँ धरौटी र जनही ५-५ हजार रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको एसपी थेबेले बताए ।
चालु मुद्दाअन्तर्गत ज्यान जाँच कसुरमा इटहरी उपमहानगरपालिका–१५ का बिजय ठाकुर तथा बैंकिङ कसुर मुद्दामा इटहरी–४ का घनश्याम शिवाकोटीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउँदै सुरक्षित र न्यायपूर्ण समाज निर्माणमा विशेष अभियान जारी राख्ने एसपी थेबेले बताएका छन् ।