: संखुवासभाको खाँदबारी–किमाथांका (१ सय ५८ किलोमिटर)सडकखण्ड अन्तर्गत नेपाली सेनाले निर्माण गरेको च्याम्ताङ–घोङघोप्पा सडक हस्तान्तरण गरिएको छ। जिल्लाको दुर्गम भोटखोला क्षेत्रमा पर्ने उक्त सडक सेनाले उत्तर–दक्षिण (कोशी) सडक योजनालाई हस्तान्तरण गरेको हो। यो किमाथांका–विराटनगर रानी सडक नेपालको दुई मित्रराष्ट्र चीन–भारत जोड्ने छोटो सडकको रूपमा चिनिन्छ।
त्रिदेशीय लिंक रोडका रूपमा रहेको किमाथांका–जोगवनी सडक अन्तर्गतको च्याम्ताङ–घोङघोप्पाको ट्रयाक ओपनको जिम्मा नेपाली सेनालाई दिइएको थियो। नेपाली सेनाको विकास निर्माण निर्देशनालयअन्तर्गत निर्माण सम्पन्न गरिएको यो १० दशमलव ८१ किलोमिटर सडक उत्तर–दक्षिण (कोशी) सडक योजनालाई हस्तान्तरण गरिएको आयोजना प्रमुख प्रमुख सेनानी सम्सेरबहादुर सिंहले बताए।
भोटखोला गाउँपालिकामा रहेको यस सडक क्षेत्र भौगोलिक विकटता, प्रतिकूल मौसमका बाबजुद र प्राविधिक चुनौतीकाबीच जिम्मेवारी सफलतापूर्वक पूरा गरेको सेनानी सिंहले जानकारी दिए। कडा चट्टान र भौगोलिक विकटता भएका कारण सेनाले हेलिकोप्टरमार्फत निर्माण सामग्री ढुवानी गरेर सडक निर्माणको काम गरेको थियो।
कडा चट्टान फोर्न विस्फोटक पदार्थ आवश्यक भएको भन्दै २०७६ भाद्र २२ गतेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनालाई ट्रयाक खोल्न दिने निर्णय गरेको थियो। प्रारम्भिक रूपमा १४ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य राखिए पनि निर्माणका क्रममा एलाइनमेन्ट परिवर्तन गरी लम्बाइ १० दशमलव ८१ किलोमिटर निर्माण गरिएको छ। यसले सडकको दूरी समेत घटेको छ। उक्त सडक निर्माणमा ६२ करोड ३६ लाख ६७ हजार रुपैयाँ खर्च भएको छ।
सदरमुकाम खाँदबारीबाट च्याम्ताङसम्मको १ सय ३४ किलोमिटर सडक निर्माण यसअघि नै भइसकेको छ। त्यसैगरी किमाथांकाबाट घोङघोप्पासम्म १४ किलोमिटर सडकको कच्ची ट्रयाक खुलिसकेको छ। किमाथांका–घोङघोप्पा ट्रयाक खुलिसकेको भए पनि थप स्तरोन्नति गर्नुपर्ने अवस्थामा छ। आर्थिक वर्ष ०६५/६६ देखि किमाथांका सडक जोड्न प्याकेजमा काम सुरु भएको सडकको हटिया खण्डमा हेलिकोप्टरबाट ट्याक्टर र स्काभेटर ढुवानी गरिएको थियो।
त्रिदेशीय नाका जोड्ने उक्त सडक सञ्चालनमा आएपछि नेपाल, भारत र चीन सहित बंगलादेशले फाइदा लिन सक्ने भोटखोला गाउँपालिका अध्यक्ष वाङदी भोटेले बताए। यो सडक जोडिएसँगै त्रिदेशीय पारवहनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ। यस सडकको स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गर्न गाउँपालिका अध्यक्ष भोटेले अनुरोध गरेका छन्।
किमाथांका देखि खाँदबारीसम्म सहज रूपमा सडक सञ्चालन आए भोटखोला क्षेत्रको आर्थिक, सामाजिक तथा व्यापारिक गतिविधिमा टेवा पुग्ने बताए। सडक विस्तारले मित्रराष्ट्र चीनसँग व्यापार बढाउने र जिल्लाका उत्तरी भेगका नागरिकले यातायात तथा अन्य सुविधा पाउने छन्। यस सडकले कोशी प्रदेशका मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरवासी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।
खाँदबारी–किमाथांका निर्माणको सुरुवातमा १६२ किलोमिटर रहेको भए पनि निर्माणका क्रममा एलाइनमेन्ट परिवर्तन गरेर १५७ किलोमिटरमा छोट्याइएको उत्तर–दक्षिण (कोशी) सडक योजनाका प्रमुख रामबहादुर गुरुङले बताए। यो अन्तर्राष्ट्रिय महत्वको सडक भएकाले सहज र दूरी छोट्याउनका लागि अझै स्तरोन्नतिका क्रममा प्रयास गरिने प्रमुख गुरुङको भनाइ छ। प्रमुख गुरुङले भने, ‘अहिले खाँदबारीदेखि घोङघोप्पासम्म १४५ किलोमिटरसम्म यातायात सञ्चालन गर्न सकिने भएको छ।
घोङघोप्पादेखि धेरै वर्ष पहिले सडक निर्माण भएकाले थप मर्मत कार्य भइरहेको छ।’ खाँदबारीदेखि १४७ किलोमिटर क्षेत्रमा सडकको अवस्था जटिल रहेकाले मर्मत कार्य भइरहेको प्रमुख गुरुङले जानकारी दिए। ‘मौसम प्रतिकूल भए जेठको दोस्रो हप्तासम्म किमाथांकासम्म यातायात सञ्चालन गर्ने लक्ष्य लिएका छौं,’ प्रमुख गुरुङले भने।
वरुण दोभानदेखि किमाथांकासम्म १४ सडक पुल निर्माण गर्नुपर्ने आयोजना प्रमुख गुरुङले बताए। बरुणभन्दा तलको एकुवा खोलासहित १५ वटा खोलामा पुल निर्माण गर्नुपर्ने छ। बरुण दोभानदेखि माथि २८ किलोमिटरसम्मको सडकको स्तरोन्नतिका लागि स्रोत सुनिश्चिताको प्रयास भएको प्रमुख गुरुङले जानकारी दिए। घोङघोप्पादेखि किमाथांकासम्मको करिब १२ किलोमिटरमा स्तरोन्नति गरेर ग्राभेलका स्रोत सुनिश्चिताको कार्य भएको उनले बताए। किमाथांका नाका चीनसँग जोडिने सबैभन्दा होचो र मानवबस्ती रहेको नाका हो।