मुख्य समाचार
साफ महिला च्याम्पियनसिप जित्ने नेपालको लक्ष्य
साफ महिला च्याम्पियनसिप जित्ने नेपालको लक्ष्य

। भारतको गोवाको आयोजना हुने आठौं संस्करणको साफ महिला च्याम्पियनसिपको लागि नेपाली महिला टोली केही दिनदेखि प्रशिक्षण गरिरहेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट एन्फा निलम्बन हुनु र अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च संस्था फिफाबाट समेत निलम्बनको खतरा रहेको अवस्थामा नेपाली महिला टोली भने साफ जित्ने लक्ष्यका साथ तयारीमा जुटेको हो ।

यसअघि खेलेको सात मध्ये ६ पटक फाइनल पुगेपनि सधैं उपविजेतामै रोकिँदै आएको नेपालले सधैं उपाधि लक्ष्य राखेपनि त्यो चाहना भने पूरा हुन सकेको छैन ।

यस पटक साफ महिला च्याम्पियनसिप मे २५ देखि जुन ५ (जेठ ११-२२) सम्म भारतको गोवास्थित मरगावमा रहेको जवाहरलाल नेहरु स्टेडियममा हुनेछ ।

जहाँ दक्षिण एसियाका पाकिस्तानबाहेक ६ टोलीले प्रतिस्पर्धा गर्ने तय छ र त्यही अनुसार खेलतालिका पनि सार्वजनिक भइसकेको छ ।

तर नेपाली फुटबलको आन्तरिक विवादले गर्दा मैदानमा खेल्ने खेलाडीका लागि भने मानसिक रुपमा असर गर्न सक्छ ।



महिला फुटबल टोलीका प्रशिक्षक नवीन न्यौपानेले संस्था र सरकारबीचको आन्तरिक लडाइँको असर मैदानमा देखिन नहुने बताए । खेलाडीहरू देशको प्रतिनिधित्व गर्दै पदक जित्ने ठूलो सपना बोकेर मैदानमा उत्रने भएकाले उनीहरूका लागि शुद्ध र खेलमैत्री वातावरण निर्माण गरिदिन उनले सरकार र संवद्ध निकायसँग आग्रह गरे ।

नेपाली महिला टोलीले अहिलेसम्म दर्जन बढी फाइनल खेलेपनि उपाधि जित्न नसकेकोले सधैं उपाधिको भोको रहँदै आएको छ ।

यस्तो अवस्थामा साफ महिला च्याम्पियनसिप नेपालको लागि विश्वकप जस्तै भएको प्रशिक्षक न्यौपानेको भनाइ छ । उनले नेपाली टोलीको सम्पूर्ण ध्यान उपाधि जित्नेमा केन्द्रित रहेको बताएका छन् ।

‘साफ च्याम्पियनसिप नेपालका लागि निकै प्रतिष्ठित प्रतियोगिता हो । मेरा लागि त यो विश्वकप जस्तै हो’ न्यौपानेले भने, ‘मैत्रीपूर्ण खेलमा हामी प्रयोग र एक्सपोजरमा जोड दिन्छौं, तर साफमा हामी उत्कृष्ट टोलीका साथ मैदान उत्रन्छौं । यहाँ हाम्रो एकमात्र उद्देश्य सुखद् नतिजा निकाल्नु हुन्छ ।’

न्यौपानेले आफु खेलाडी हुँदा पनि साफ च्याम्पियनसिप जित्न नसकेकोले अहिले प्रशिक्षकको रुपमा भएपनि साफ जित्ने लक्ष्य रहेको बताए । यस्ते खेलाडी र प्रशिक्षक हुँदा जिम्मेवारी फरक हुने उनले बताए ।

‘खेलाडी र प्रशिक्षकको भूमिकामा निकै भिन्नता हुँदो रहेछ । एउटा प्रशिक्षकको रूपमा हार र जित दुवैको जिम्मेवारी आफूले नै लिनुपर्छ’ उनले भने ।

नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न नसकेको सन्दर्भमा प्रशिक्षक न्यौपानेले आफ्नो मुख्य जिम्मेवारी र लक्ष्य नै उक्त ट्रफी नेपाल भित्र्याउनु रहेको स्पष्ट पारे । अहिले टोली सोही लक्ष्य प्राप्तिका लागि कडा प्रशिक्षणमा व्यस्त रहेको उनले बताए ।

यस्तै नेपाली टिमको सिनियर सदस्य रहेकी अनिता बस्नेत, हिरा भुजेल र गीता रानाले पनि अहिले टिममा सिनियर र जुनियर खेलाडीको मिश्रण रहेकोले नेपालको लक्ष्य साफ जित्नु ने रहेको बताएका छन् ।

‘तयारी राम्रो भइरहेको छ । सिनियर र जुनियरको मिश्रण छ । अपेक्षा नतिजा नै हो च्याम्पियन बन्ने नै हो’ एन्फासँगको कुराकानीमा अनिताले भनेकी छिन् । यस्तै गीता र हिराले पनि नेपालले साफको उपाधि जित्न सक्ने बताइन् । यस पटक महिला टोलीले निरन्तर गोल्डकपहरु खेलेकोले पनि त्यसले फाइदा हुने गीता र हिराले बताए ।

प्रशिक्षक न्यौपानेले मैत्रीपूर्ण खेल र मुख्य प्रतियोगिताको फरकलाई स्पष्ट पार्दै मैत्रीपूर्ण खेलहरू नयाँ खेलाडीको परीक्षण र रणनीति निर्माणका लागि प्रयोग गरिने भएपनि साफ च्याम्पियनसिप जस्तो प्रतिष्ठित प्रतियोगितामा नतिजा नै मुख्य प्राथमिकता हुने बताए ।

साम्बा र सबिताको अभाव

नेपालको कप्तान तथा मुख्य सदस्यको रुपमा रहेकी गोलमेसिन सावित्रा भण्डारी साम्बा हाल चोटका कारण मैदानबाहिर छिन् । अष्ट्रेलियन लिग खेल्ने क्रममा चोट लागेपछि साम्बा न्युजिल्यान्डमा शल्यक्रिया गराएर हाल रिह्याबका लागि कतारमा छिन् ।

यस्ते सविताको पनि घुँडाको शल्यक्रियापछि मैदानबाहिर छिन् । दुवै खेलाडी नेपाली टोलीको महत्वपूर्ण सदस्य भएकोले नेपालललाई अभाव हुन सक्नेछ ।

मुख्य प्रशिक्षक नविन न्यौपानेले र खेलाडीहरुले पनि यो कुरा स्वीकारेका छन् । टोलीका मुख्य स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) र सविता राना जस्ता महत्वपूर्ण खेलाडीको अनुपस्थिति नेपालको लागि चुनौती हुन सक्ने न्यौपानेले बताए । न्यौपानेले साम्बा र सवितालाई टोलीको ‘स्पाइनल कर्ड’ को संज्ञा दिँदै अन्य खेलाडीहरूका लागि यो आफ्नो क्षमता प्रमाणित गर्ने अवसर भएको बताए ।

‘साम्बा र सविता मेहेनतकै कारण यो उचाइमा पुगेका हुन् । नयाँ खेलाडीहरूले पनि उनीहरूलाई उदाहरणका रूपमा लिएर यो अवसरलाई सदुपयोग गर्नुपर्छ’ न्यौपानेले भनेका छन् ।

यस्तै अनिता बस्नेतले पनि उनीहरु मिस हुने बताइन् । ‘सावित्रा र सबिता टिमको महत्वपूर्ण खेलाडी हुन् मिस त भइहाल्छ । त्यसका लागि अरु नयाँ बहिनीहरू- रेखा रश्मीलगायत छन् । नयाँ आइरहेका छन् । सबैले मेहेनत गरिरहेका छन् । अभाव त भइहाल्छ तर फुलफिल गर्ने खेलाडीहरु पनि आइरहेका छन्’ अनिताले भनिन् ।

यस्तै गीता र हिराले पनि साम्बा र सविता नहुँदा उनीहरुको स्थानमा नयाँ खेलाडीहरुले अवसर पाउने बताए ।

यस्तै जुनियर खेलाडी जेनिफर रानाले पनि सिनियर खेलाडीहरु नहुँदा जुनियरको लागि अवसर हुने बताइन् । ‘साम्बा र सविता दिदी नहुँदा टिमलाई घाटा त भइहाल्छ । त्यसमा हामी जस्तो युवा खेलाडीहरुले अवसरको सदुपयोग गर्नुपर्छ’ जेनिफरले भनिन् ।

उनले आर्मीबाट खेल्दा पनि आफ्नो भूमिका गोल हान्ने नै रहेको र राष्ट्रिय टिममा पनि अवसर पाए त्यही हुने बताइन् । उनले ट्रेनिङमा त्यही अनुसार केन्द्रित भएको बताइन् ।

असली परिक्षा सेमिफाइनलमा

यस पटक महिला साफमा ६ टोली मात्र सहभागी भएकोले दुवे समूहमा ३-३ टिम छन् । नेपालको समूहमा तुलानात्मक रुपमा कमजोर टोलीहरु भुटान र श्रीलंका छन् । त्यसैले नेपाललाई समूह चरण केही सहज हुने अपेक्षा छ ।

तर सेमिफाइनलमा भने अर्को समूहबाट बलियो टोली सँग नेपालले खेल्नुपर्ने हुन्छ । समूह बी मा साविक विजेता बंगलादेश, पाँच पटकको विजेता भारत र माल्दिभ्स भएकोले नेपालले भारत र बंगलादेशमध्ये एकसँग खेल्नुपर्ने प्रवल सम्भावना छ ।

त्यसैले नेपालले प्रशिक्षणमा पनि त्यही अनुसार केन्द्रित भएको खेलाडी जेनिफर रानाले बताइन् । ‘नविन गुरुले टेक्निकल्ली कसरी अवेर हुने भनेर भनिरहनुभएको छ । बंगलादेश र भारतले हाई प्रेसर दिएर खेल्ने टिम हो । त्यसमा कसरी ओभरकम गर्ने भन्नेमा केन्द्रित भइरहेका छौं’ उनले भनिन् ।

दक्षिण एसियामा नेपाल सधैं उपाधि दाबेदार भएपनि अहिलेसम्म उपाधि जित्न नसकेको तथ्यले पनि नेपाललाई सधैं झस्काइरहन्छ । यसअघि लगातार तीन संस्करण घरेलु मैदानमा साफ खेल्दा पनि नेपाल फाइनल पुगेर पराजित भएको थियो । जसमा एक पटक भारतसँग र पछिल्लो दुई पटक काठमाडौंमा हुँदा बंगलादेशसँग पराजित भएको थियो । यस पटक झन् नेपालले घर बाहिर खेल्दैछ ।

नेपालभित्र फुटबलको अन्योलपूर्ण स्थितिमा महिला टोलीले साफ महिला च्याम्पियनसिप खेल्न पाउनु ने सबैभन्दा ठुलो कुरा हुनेछ । त्यसमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने चुनौती पनि टिमसामु हुनेछ ।

समूह ए मा रहेको नेपालले मे २५ मा भुटानसँग पहिलो खेल खेल्नेछ भने समूहको दोस्रो तथा अन्तिम खेल मे ३१ मा श्रीलंकासँग खेल्नेछ ।

दुवै समूहको खेलपछि शीर्ष दुई-दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम