— कांग्रेसका सभापति गगनकुमार थापाले संविधान र कानुनविपरीत सरकारले ल्याएको अध्यादेश सच्याउने गरी संसद्मा प्रस्तुत हुन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।
बुधबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले उक्त निर्देशन दिएका हुन् । सरकारले ल्याएको अध्यादेश प्रतिस्थापन विधेयकको रुपमा संसद्मा आउने भएकाले त्यसमा रहेका संविधान, कानुनविपरीतका प्रावधान सच्याउने गरी सांसदहरुलाई प्रस्तुत हुन आफूले बैठकमा भनेको सभापति थापाको भनाइ थियो ।
उनले सरकार संविधानको सीमा बाहिर जान लागेको आफूले पाएको उल्लेख गर्दै आपत्तिसमेत जनाए । सभापति थापाले कांग्रेसले सरकारलाई गलत बाटोमा जान नदिने गरी आफ्नो भूमिका निर्वाह गर्ने पनि बताए ।
‘सरकारले संविधानको सीमाभित्र बसेर गर्ने सकारात्मक कामहरुमा नेपाली कांग्रेसले कुनै अवरोध पुर्याउँदैन । हामीले पार्टी संसदीय दललाई पनि यो निर्णय जानकारी गराएका छौँ । संविधानको परिधिभित्र रहेर प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि हाम्रो काम हो । जहाँ प्रश्न गर्नुपर्ने हुन्छ, त्यहाँ कांग्रेसले प्रश्न गर्छ, जहाँ खबरदारी गर्नुपर्ने हो, त्यहाँ त्यो गर्छ । जहाँ विकल्प सुझाउनुपर्ने हुन्छ, त्यहाँ हामी त्यो काम पनि गर्छौं,' उनले भने ।
'अध्यादेश ल्याउने संवैधानिक व्यवस्था छ । हिजो हामीले पनि ल्याएको थियौं । भोलि पनि ल्याउनुपर्ने परिस्थिति बन्छ । तर विषय केसँग जोडिएर आउँछ भने केका लागि ल्याइएको हो ? कुन नियतले ल्याइएको भन्ने कुराचाँहि जहिल्यै हेर्नुपर्ने हुन्छ,' उनले भने, 'अहिले दर्जनौं अध्यादेशहरु ल्याइएका छन् । राष्ट्रपतिले अध्यादेश बनाइसक्नु भएको छ । प्रत्येक अध्यादेश जुन अब संसद्मा आउँछ । भोलि यो प्रतिस्थापन विधेयकको रुपमा आउँदा यसभित्र कुन विषय संविधानसम्मत छ, कुन विषय संविधानसम्मत छैन ? कसले नागरिक हक अधिकार खोसेको छ, कुन ठीक छ, कुन ठीक छैन ? भनेर यसलाई जाँच्ने त्यसको आलोकमा प्रश्न उठाउने र आवश्यकताअनुसार सच्याउनका लागि दबाब दिने यो तपाईंहरुको काम हो । यो भूमिका निर्वाह गर्नुहोस् भनेर भनेका छौं ।’
सभापति थापाले सरकारले बहुमत छ भन्दैमा एक्ले कानुन बनाउने भन्ने भ्रम पाल्न नहुने पनि बताए ।