— सुकुमवासी बस्ती हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट बुधबार पनि सरेको छ । न्यायाधीशद्धय शारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासमा बुधबार पेसी रहेको मुद्दामा काठमाडौं महानगरपालिकाले तयारी नपुगेको भनि समय मागेपछि सरेको हो ।
यसअघि मंगलबार पनि लगाउमा राख्ने आदेश भएको भन्दै आजका लागि मुद्दा सारिएको थियो । सर्वोच्चले अर्को पेसी बिहीबारका लागि राख्ने र सबै पक्षले तयारी गरेर बहसमा आउन भनेको रिट निवेदन मध्येकी एक अधिवक्ता जस्मिन ओझाले बताइन् । इजलासमा महानगरले आफूहरूले सूचना नपाएको र तयारी पनि नपुगेको भनि समय माग गरेपछि एक दिन समय दिएको हो ।
सुकुमवासी बस्तीसम्बन्धी ३ वटा रिट सर्वोच्चमा सुनुवाइका लागि पेसीमा चढेका थिए । गोपाल रन पहेली, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र माजिद अन्सारीसमेतले अलग अलग रिट दर्ता गरेका थिए । ती सबै रिटलाई एकै ठाउँमा राखेर सर्वोच्चले सुनुवाइ गर्न पेसी तोकेको थियो ।
सरकारले थापाथलीसहितका क्षेत्रमा डोजर चलाउने सूचना जारी गर्न थाले पनि उनीहरू सर्वोच्च पुगेका थिए । पहेलीले ११ वैशाखमा सर्वोच्चमा रिट दायर गरेका थिए । बस्ती खाली गराएर होल्डिङ सेन्टरमा राखिसक्दासम्म पनि सर्वोच्चमा सुनवाइको पालो आएको छैन । यसअघि सर्वोच्चले पहिलो सुनुवाइ गर्दै सुकुमवासी बस्ती भत्काउँदा सरकारले अपनाएको विधि र प्रक्रियासँगसम्बन्धी ५ विवरण पेश गर्न आदेश गरेको थियो । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले माजिद अन्सारीसमेतको रिटमा सोमबार यस्तो आदेश गरेको हो ।