: अमेरिकाले युरोपमा ठूलो सैन्य उपस्थिति बढाइरहेको छ । अमेरिकाले युरोपमा दर्जनौं सैन्य अड्डा गरेको अनुसन्धानकर्ताले जनाएका छन् । यी अड्डाहरूमा ८० हजार बढी सैनिक तैनाथ छन् । दोस्रो विश्वयुद्धपछि अमेरिकी सेनाको उपस्थिति युरोपको सुरक्षाको मेरुदण्ड जस्तै रहँदै आएको छ।
यो उपस्थिति मुख्य रूपमा जर्मनी, इटली, बेलायत र पोल्याण्डमा केन्द्रित छ । काउन्सिल अन फरेन रिलेसन्सका अनुसार २०२५ को सुरुवातसम्म युरोपमा अमेरिकी सैनिकहरूको संख्या करिब ८४ हजार थियो । यो संख्या समय–समयमा तैनाती र प्रशिक्षणका आधारमा घटबढ हुन्छ । अमेरिकी अनुसन्धान केन्द्रका अनुसार युक्रेन युद्धका क्रममा पूर्वी युरोपमा थप सैनिक पठाइएकाले यो संख्या बढेर ७५ हजारदेखि एक लाख ५ हजारसम्म पुगेको थियो । युरोपमा अमेरिकी सैन्य उपस्थिति सबैभन्दा ठूलो केन्द्र जर्मनी हो । यहाँ रामस्टाइन एयर बेस छ, जुन अमेरिका बाहिर उसको सबैभन्दा ठूलो हवाई अड्डा हो ।
युरोपमा अमेरिकी सैन्य कमानको मुख्यालय स्टुटगार्टमा छ र युरोप–अफ्रिकाका लागि अमेरिकी सेनाको मुख्यालय विसबाडेनमा अवस्थित छ । ग्राफेनभोर र होहेनफेल्स जस्ता ठाउँहरूमा ठूला प्रशिक्षण केन्द्रहरू पनि छन् । जर्मनीमा करिब ३८ हजार अमेरिकी सैनिक तैनाथ छन् । साथै हजारौं नागरिक कर्मचारी र तिनका परिवारहरू पनि त्यहाँ बस्छन् ।
सैन्य अड्डा र सैनिकहरूको संख्याका हिसाबले इटली दोस्रो स्थानमा पर्छ । यहाँ पाँचवटा अमेरिकी सैन्य अड्डा छन् । तीमध्ये एवियानो एयर बेस सबैभन्दा महत्वपूर्ण छ । यो अड्डा अमेरिका र इटली दुवैका लागि रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छ । यहाँ करिब साढे आठ हजार अमेरिकी सैनिक तैनाथ छन् ।
एवियानो एयर बेस उत्तरी इटलीमा भेनिसबाट करिब ८० किलोमिटर टाढा अवस्थित छ । माईबिजगाइड वेबसाइट अनुसार यो नेटोका सबैभन्दा महत्वपूर्ण सैन्य अड्डामध्ये एक हो । इटलीमा अमेरिकी सेनाका अन्य अड्डा पनि छन्, जसमा क्याम्प डार्बी, विसेन्जामा क्याम्प एडेरले, सिसिलीमा सिगोनेला नौसैनिक अड्डा र नेपल्समा नौसेना कमान समावेश छन् । यसरी इटली अमेरिका लागि भूमध्यसागर क्षेत्रमा अत्यन्त महत्वपूर्ण सैन्य केन्द्र बनेको छ ।
अमेरिकाका लागि बेलायतको रणनीतिक महत्व धेरै ठूलो छ । त्यसैले बेलायती भूमिमा धेरै अमेरिकी सैन्य अड्डा छन् । तीमध्ये आरएएफ लेकनहीथ पनि पर्छ, जहाँ अमेरिकी एफ–३५ लडाकु विमान तैनाथ छन् । आरएएफ मिल्डेनहोल हवाई अभियान र रसद (सैन्य सामग्री आपूर्ति) का लागि प्रयोग हुन्छ ।
आरएएफ फेयरफोर्ड अड्डामा ठूला बमवर्षक विमानहरू उतारिन्छन् र सामान्यतया यो नेटोको आणविक अभियानसँग सम्बन्धित प्रयोगका लागि उपयोग हुन्छ । पोल्याण्डमा पनि धेरै अमेरिकी सैन्य अड्डा छन् । तीमध्ये रेडजिकोभो सबैभन्दा महत्वपूर्ण हो, जसलाई नोभेम्बर २०२४ मा पहिलो स्थायी अड्डाका रूपमा आधिकारिक रूपमा खोलिएको थियो । यो नेटोको मिसाइल रक्षा प्रणालीको हिस्सा हो । क्याम्प कोशियुस्को अमेरिकी सेनाको पाँचौँ कोरको अड्डा हो । साथै बोवेड्ज बेस सैन्य उपकरण भण्डारण र रसदका लागि प्रयोग हुन्छ ।
लास्क एयर बेसमा अमेरिकी वायुसेनाका टुकडी र एफ–१६ विमान तैनाथ छन् । स्कोभेर्जिना र बोलेस्लाभिएकमा पनि अग्रिम सञ्चालन स्थलहरू छन्। पोल्याण्डको रक्षा मन्त्रालयका अनुसार फेब्रुअरी २०२२ मा रूसले युक्रेनमाथि आक्रमण गरेपछि पोल्याण्डमा अमेरिकी सैन्य उपस्थिति अझै महत्वपूर्ण भएको छ । युरोपमा अमेरिकी सैन्य संरचनाको अर्को महत्वपूर्ण अड्डा टर्कीमा पनि छ, जसको नाम इन्सिरलिक एयर बेस हो । यसलाई मध्यपूर्व र भूमध्यसागर क्षेत्रमा अमेरिकाका लागि अत्यन्त रणनीतिक अड्डामध्ये एक मानिन्छ । यहाँ अमेरिकी वायुसेना र अन्य सहयोगी सैन्य टोलीहरू नियमित रूपमा तैनाथ हुन्छन् ।
युरोपमा अमेरिकी सैन्य अड्डाहरूको भूमिका के ?
युरोपमा तैनाथ अमेरिकी सैनिकहरूले विभिन्न काम गर्छन् । यसमा सीमा सुरक्षा, सैन्य सामग्री आपूर्ति, र सहयोगी देशका सेनालाई प्रशिक्षण दिने कार्य समावेश छ । जर्मनीको बुसेल एयर बेसमा अमेरिकी सैनिकहरूले त्यहाँ राखिएका १० देखि २० बी–६१ आणविक बमहरूको निगरानी गर्छन् । अमेरिकी नेशनल गार्ड र पूर्वी युरोपेली देशहरूबीचको साझेदारी कार्यक्रमअन्तर्गत पेनसिल्भेनिया नेशनल गार्डका सैनिकहरू लिथुआनियाली सेनासँग संयुक्त सैन्य अभ्यास गर्छन् ।
यसका साथै अमेरिकी १०औं स्पेशल फोर्सका सैनिकहरूले मुख्य रूपमा जर्मनीमा युक्रेनी सेनालाई विशेष अभियानसम्बन्धी प्रशिक्षण पनि दिइरहेका छन् । २०२२ देखि हालसम्म अमेरिकाले युक्रेनलाई कुनै पनि देशभन्दा धेरै सैन्य सहायता दिएको छ, जसमा ठूलो मात्रामा हतियार र सैन्य उपकरण समावेश छन् । अमेरिकी अनुसन्धान संस्थाका अनुसार युरोपमा अमेरिकी उपस्थितिले युक्रेनी सैनिकहरूलाई नयाँ हतियारको प्रशिक्षण दिनुका साथै हतियार र गोला–बारुद युक्रेनसम्म पुर्याउन पनि महत्वपूर्ण भूमिका खेलेको छ ।