— हिमाली जिल्ला डोल्पामा जेठ १० देखि एक महिनासम्म यार्सागुम्बा संकलन खुला गरिने भएको छ। सदरमुकाम दुनैमा मंगलबार बसेको सर्वपक्षीय सर्वदलीय बैठकले जिल्लाका सबै पाटन एक महिनाका लागि खुला गर्ने निर्णय गरेको हो ।
जिल्ला स्तरमा बसेको सरोकारवालाको बैठकले यार्सागुम्बा संकलन मिति तोक्नुका साथै संकलन कार्यलाई प्रभावकारी बनाउन विभिन्न १२ बुँदे निर्णयसमेत गरेको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त कार्यालय प्रमुख विज्ञान सेनले जानकारी दिए ।
यार्सा टिप्न पाटन जानेहरूका लागि तीन प्रकारका प्रवेश अनुमति पत्रको व्यवस्था गरिएको छ । जसअनुसार निकुञ्जले मध्यवर्ती क्षेत्रभित्रका बासिन्दालाई पाँच सय , डोल्पा जिल्लाका नागरिकलाई दुई हजार र जिल्लाबाहिरकालाई तीन हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ ।
निर्णयअनुसार संकलन खुल्नुअघि हुने चोरी संकलन रोक्न स्थानीय तह, मध्यवर्ती तथा सामुदायिक वन उपभोक्ता समूहसँग समन्वय गरी नेपाली,निकुञ्जका कर्मचारी लगायतका सुरक्षाकर्मी परिचालन गर्ने निकुञ्जले जनाएको छ ।
यससँगै संकलन अवधिभर प्लास्टिकजन्य फोहर फाल्ने, तोकिएको स्थानबाहेक टेन्ट राख्ने, निषेधित औजार तथा हातहतियार प्रयोग गर्ने, जथाभावी आगो बाल्ने र खाल्डाखुल्डी खन्ने जस्ता गतिविधिलाई निकुञ्जले रोक लगाएको छ ।
यार्सागुम्बा संकलन गर्न उच्च हिमाली पाटनमा पुग्ने सर्वसाधारणलाई शान्ति सुरक्षामा असर पर्ने कुनै पनि कार्य नगर्न प्रशासनले आग्रह गरेको छ।
डिभिजन वन कार्यालय डोल्पाले यार्सागुम्बा संकलन र वन्यजन्तु संरक्षणसम्बन्धी सचेतनामूलक ब्रोसर उपलब्ध गराउने र वन्यजन्तुको सिकार तथा अवैध ओसारपसार रोक्न गोप्य सुराकी परिचालन गरिने बताइएको छ । यस वर्ष पाटनमा प्रवेश गर्नका लागि प्रवेशपत्र वितरणमा समेत कडाइ गरिने भएको छ। सामुदायिक वन उपभोक्ता समूह र स्थानीय तहबाट जारी गरिने प्रवेशपत्र सम्बन्धित निकायबाट प्रमाणित भएपछि मात्रै मान्य हुने व्यवस्था गरिएको छ।
संकलन अवधिभर स्वास्थ्य सेवा सुदृढ बनाउन जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र स्थानीय तहको सहकार्यमा स्वास्थ्य टोली परिचालन गरिनेछ ।यार्सागुम्बा दिगो संकलन र व्यवस्थापनका लागि सञ्चार माध्यममार्फत जनचेतनामूलक सन्देश प्रवाह गरिने निर्णयसमेत गरिएको छ।