— काठमाडौं महानगरपालिकाले ‘सामुदायिक र संस्थागत विद्यालयबीच सिकाइ र क्षमता आदानप्रदान गर्न ‘काठमाडौँ स्कुल पार्टनरसिप कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले यस शैक्षिक सत्रबाट सामुदायिक र संस्थागत विद्यालयका बीचमा सम्बन्ध विकास गरेर आपसी सिकाइ र क्षमता आदानप्रदान गर्न उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको बताइन् ।
शिक्षा विभागले सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, स्रोत शिक्षक र महिला शिक्षकका लागि आयोजना गरेको ‘विद्यालयको शैक्षिक, भौतिक र व्यवस्थापकीय सुधार’ विषयक अभिमुखीकरण कार्यक्रममा उपप्रमुख डंगोलले शैक्षिक सुधारलाई विशेष प्राथमिकता दिइने बताइन् । 'हामीले शिक्षामा लगानी बढाएका छौँ । यो लगानी दक्ष जनशक्ति निर्माणका लागि हो । प्रतिफल तत्काल नदेखिन सक्छ । तर, प्राप्त उपलब्धि दिगो हुनुपर्छ,' उनले भनिन्, 'विद्यालयबाट माग भएका विषयप्रति हामी सकारात्मक छौँ । तर सबैभन्दा पहिले, उपलब्ध भौतिक पूर्वाधार, स्रोत, साधन र जनशक्तिको उच्चतम उपयोग भएका सुनिश्चित हुनुपर्छ ।'
आइतबार विद्यालय छुट्टी विषयमा अन्योल नहुन विद्यालयहरूलाई आग्रह गर्दै उनले पाठयक्रम पूरा हुने र थालिएका अन्य क्रियाकलाप पनि नियमित सञ्चालन गर्ने विषयमा छिट्टै वैज्ञानिक समाधान दिइने बताइन् ।