: मोरङको सुन्दरहरैँचा नगरपालिका–७ सलकपुरमा ट्रकसँग तीनजना सवार मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा पर्दा पछाडि सवार दुईजना युवा घाइते भएका छन् । प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गमा प्रदेश १–०१–००१ ख ४३०३ नम्बरको ट्रकलाई को १० प ८१२८ नम्बरको मोटरसाइकलले ‘ओभरटेक’ गर्ने क्रममा बिहान ११:४० बजेतिर दुर्घटना भएको हो ।
मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले ‘ओभरटेक’ गर्ने क्रममा मोटरसाइकल ट्रकसँग ठोक्किँदा मोटरसाइकल चालक धनकुटाको छथरजोरपाटी गाउँपालिका–१ का २० वर्षीय अनिष बुढाथोकीको मृत्यु भएको बताए । दुर्घटनामा गम्भीर घाइते भएका बुढाथोकीलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरिदिएको उनको भनाइ छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुन्दरहरैँचा–७ का १९ वर्षीय आषिक विक र मोटरसाइकलकै पछाडि सवार सुन्दरहरैँचा–७ का १८ वर्षीय हरिबहादुर विक घाइते भएका छन् । सामान्य अवस्थाका घाइतेहरुको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटना लगत्तै प्रहरीले ट्रक र चालक सुनसरीको दुहबी नगरपालिका–८ का २३ वर्षीय रोकश खड्कालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरू गरेको छ । ट्राफिक नियमको उल्लंघन गरेर तीनजना सवार मोटरसाइकलको तीव्र गति र जथाभावी ‘ओभरटेक’का कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।