: जिल्ला हुलाक कार्यालय भक्तपुरले अब राहदानी घरदैलोमै पुर्याइदिने भएको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय बीच मंगलबार भएको सम्झौताअनुसार राहदानी सेवा हुलाकमार्फत घर–घरमै पुर्याउने व्यवस्था गरिएको हो।
सरकारी सेवालाई सरल, सहज, छिटोछरितो र प्रविधिमैत्री बनाउने सरकारको शासकीय सुधारसम्बन्धी कार्ययोजनाअनुसार हुलाकसँग राहदानी वितरणको सम्झौता गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जनाएका छन्। मंगलबारबाटै यो व्यवस्था लागू गरिएको उनले जानकारी गराए।
हुलाकबाट राहदानी प्राप्त गर्न चाहने आवेदकले राहदानीको आवेदन भर्ने बेलामै सो कुरा उल्लेख गर्नुपर्ने जिल्ला हुलाक कार्यालय भक्तपुरकी प्रमुख सीता साम्बाले बताइन्। यसका लागि अतिरिक्त रु ५५ सेवा शुल्क तिर्नुपर्ने उनले जानकारी गराएकी छन्। सेवा शुल्क सेवाग्राही स्वयंले व्यहोर्नुपर्ने बताइएको छ।
सम्झौताअनुसार राहदानी विभागबाट राहदानी प्राप्त हुनासाथ जिल्ला प्रशासन कार्यालयले जिल्ला हुलाक कार्यालयलाई हस्तान्तरण गर्ने छ। हुलाक कार्यालयले बढीमा ७ दिनभित्र सेवाग्राहीको घरमै राहदानी पुर्याउने कार्यालय प्रमुख सीता साम्बाले बताएकी छन्।
भक्तपुर क्षेत्रफलको आधारमा देशकै सानो जिल्ला भएकाले हुलाक मार्फत राहदानी लिनेको संख्या कम हुने आकलन गरिएको छ। यद्यपि, सरकारको योजना अनुरूप आफूहरू सेवा दिन तत्पर रहेको जिल्ला हुलाक कार्यालयकी प्रमुख सीता साम्बा बताउँछिन्। भक्तपुरमा दैनिक ४० देखि ५० वटासम्म राहदानीको लागि आवेदन पर्ने गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ।