— सर्वोच्च अदालतले सुकुमवासी बस्ती भत्काउँदा सरकारले अपनाएको विधि र प्रक्रियासँग सम्बन्धी पाँच विवरण पेश गर्न आदेश गरेको छ ।
न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले माजिद अन्सारीसमेतको रिटमा सोमबार यस्तो आदेश गरेको हो ।
रिटमा सरकारले सुकुमवासी बस्तीमा बसोबास गरेकाहरुलाई सर्न अवसर समेत उपलव्ध नगराएर दाबी गर्दै दायर भएको रिटमा यस्तो आदेश गरेको हो । २१ वैशाखमा जारी भएको कारण देखाउ आदेशमा सर्वोच्चले पछिल्लो अवस्थाको विवरण समेत महान्यायाधीवक्ता कार्यालयमार्फत पेश गर्न भनेको छ । सर्वोच्चले २३ गते अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयको छलफलमा उपस्थित हुन पनि भनेको छ ।
मंगलबार पनि सर्वोच्चमा सुकुमवासी बस्ती सम्बन्धी रिटमा पेसी तोकिएको छ । सुकुमवासी बस्तीमा बसोबास गर्दै आएका गोपाल रनपहेली समेतको रिट न्यायाधीश हरिप्रसाद र मेघराज पोखरेलको इजलासमा पेसी तोकिएको छ ।
अन्तरिम आदेश छलफलमा उपस्थित हुँदा बस्ती खाली गराउने सम्बन्धी विपक्षीहरुबाट यी तथ्य, तथ्यांक तथा कागजातहरु महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाउन सर्वोच्चको आदेशमा भनिएको छ ।
यस्ता छन् सर्वोच्चले माग गरेका पाँच बुँदा :
क) नेपाल सरकार मन्त्रिपरिषद्बाट निर्णय भई लागू गरिएको शासकीय सुधारसम्बन्धी सय बुँदे दस्तावेजको बुँदा नं. ९१ मा उल्लेख भए बमोजिम तथा नेपालको संविधान, आवासको हक सम्बन्धी ऐन, २०७५ को दफा ५ तथा यस अदालतबाट प्रकाशमणि शर्माविरुद्व मन्त्रिपरिषद्समेत भएको ०६७-WO-१००२ को निवेदनमा भएको आदेशमा जारी निर्देशन अन्तर्गत अवलम्वन गर्नुपर्ने बाध्यात्मक विधि, प्रक्रियाहरु के कसरी अवलम्वन गरिएको हो ? सो सम्बन्धी निर्णयसहितको कागजातहरु ।
ख) निवेदन दाबी बमोजिमको सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरुको सामूहिक बस्ती खाली गराउने, घरटहरा भत्काउने कार्य के कस्तो निर्णय वा कानुनी आधारमा गरिएको हो ? सो निर्णयसहितको कागजात ।
ग) हाल खाली गराइएको बस्तीबाट हटाइएका/बहिर्गमन भएका परिवारहरुको पुनरवास/दैनिक खानपिन/ज्येष्ठ नागरिक, विरामी, अपाङ्गता भएका व्यक्तिहरुको औषधि उपचार/सरसफाई एवं बालबालिकाहरुको शिक्षा सम्बन्धी वैकल्पिक व्यवस्था लगायत न्यूनतम मानव अधिकारको अवस्था के कस्तो रहेको छ ? सो सम्बन्धमा गरिएको प्रबन्धको वस्तुपरक विवरण ।
घ) बस्तीबाट हटाईएका नागरिहरुको लगत संकलन तथा प्रमाणीकरणको पछिल्लो अवस्था के कस्तो रहेको छ ? सो सम्बन्धी पछिल्लो विवरण ।
ङ) खाली गराइएको बस्तीबाट भत्काइएका विद्यालय, मठमन्दिर, गुम्बा, मस्जिदलगायतको विवरण र तिनको व्यवस्थापनका लागि तत्काल गरिएको कार्यहरुको विवरण ।