— नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन रचिएको अपराध अभियोगमा जिल्ला अदालत काठमाडौंमा विचाराधीन मुद्दाको पेसी आज न्यायाधीश खिमानन्द भुसालको इजलासमा तोकिएको छ ।
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वसांसद आङटावा शेर्पा, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३१ विरुद्धको मुद्दा अदालतमा विचाराधीन छ ।
२०८० मा ३० जनाविरुद्ध मुद्दा दायर भएकामा २०८१ साउनमा बेचन झाविरुद्ध अर्को पूरक मुद्दा दायर भएको थियो । तर, मूल मुद्दा दायरको ३ वर्ष पुग्दा पनि अदालतले किनारा लगाउन सकेको छैन ।
मंगलबार सोही मुद्दामा भुसालको इजलासमा पेसी तोकिएको हो । मुलुकको अन्तर्राष्ट्रिय छवि नै धुमिल बनाउने गरी शासन–सत्तामा बसेका उच्च पदस्थ अधिकारीहरूको मिलेमतोमा भएको अपराधका प्रतिवादीमध्ये कोही पुर्पक्षका क्रममा जेलमा छन्, कोही साधारण तारेख र कोही धरौटी बुझाएर जेलबाहिर छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा १० जेठ २०८० मा पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वसांसद शेर्पा, तत्कालीन गृहसचिव पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार राईसहित ३० जनाविरुद्ध किर्ते, ठगी, संगठित अपराध र राज्यविरुद्धको अपराध अभियोग लगाएर अदालतमा मुद्दा दायर भएको थियो ।
अनुसन्धानका क्रममा १८ पक्राउ परेकामा १ असार २०८० मा तत्कालीन न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले रायमाझी, खाण, तत्कालीन सचिव पाण्डे, तत्कालीन गृहमन्त्रीका सल्लाहकार राईलाई पुर्पक्ष थुनामा पठाउने आदेश दिएको थियो । साथै भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, संगठित गिरोहका केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, आङटावा शेर्पा, गृह मन्त्रालय अन्तर्गतको हज कमिटीका अध्यक्ष शमशेर मियाँ र बिचौलिया हरिभक्त महर्जन पनि पुर्पक्ष थुनामा छन् । प्रतिवादी मध्येका टंक गुरुङलाई १० लाख र लक्ष्मी महर्जनलाई ५ लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।
त्यसको अर्को वर्ष ९ वैशाख २०८१ मा दावाफुरी शेर्पाको जाहेरीका गिरोहका सदस्य केशव दुलालसहित ५ जनाविरुद्ध अर्को पूरक मुद्दा अदालतमा दायर भएको थियो । यस प्रकरणका प्रतिवादी पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा मुद्दा दायरको अर्को वर्ष १४ असार २०८१ मा पक्राउ परेका थिए । उनी पनि पुर्पक्षका क्रममा अहिले जेलमै छन् ।
अनुसन्धानकै क्रममा शरणार्थी प्रकरणकै अर्का संदिग्ध पात्र बेचन झालाई प्रहरीले कञ्चनपुरको नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरी काठमाडौं ल्याएकामा अनुसन्धान गरी उनीविरुद्ध २९ साउन २०८१ मा अर्को पूरक अभियोजन अदालतमा दायर भएको थियो । त्यसपछि तीन वटै मुद्दालाई लगाउ (सँगै) राखेर सुनुवाइ हुने आदेश अदालतबाट भएको थियो ।