— जोखिम बढेसँगै बीपी राजमार्गको भकुण्डेबेँसी-खुर्कोट खण्ड दैनिक १२ घण्टा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले मंगलबार एक सूचना जारी गर्दै बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म दैनिक १२ घण्टा राजमार्ग बन्द हुने जानकारी गराएको छ । मंगलबारदेखि नै रातिको समयमा अर्को सूचना जारी नभएसम्मका लागि राजमार्ग बन्द गरिएको काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।
सोमबार राति मात्र अचानक आएको बाढीका कारण बीपी राजमार्ग अवरुद्ध हुँदा सयभन्दा बढी सवारीसाधन अलपत्र परेका थिए । ती सवारीसाधनलाई अस्थायी डाइभर्सन बनाएर आज काठमाडौंतर्फ पठाइएको छ । यस्तै, बाढीमा फसेका ८९ जनालाई सोमबार राति उद्धार गरिएको थियो ।
२०८१ असोजमा रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त भई पुनर्निर्माणको क्रममा रहेको बीपी राजमार्गको कटुन्जेबेँसी नेपालथोक सडक खण्डमा सामान्य वर्षामा सडक अवरुद्ध हुने गरेको छ । वर्षातको समयमा रोशी खोलामा बाढी आउने सम्भावना हुनासाथ बीपी राजमार्गमा यात्रा गर्ने नागरिक सुरक्षालाई ध्यानमा राखी उक्त सडकखण्डमा सिन्धुली जिल्लासँग समेत समन्वय गरी यातायातका साधन रोक लगाउने गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।