— सन् २०२६ को अप्रिल महिनामा नेपाल भित्रिने अन्तर्राष्ट्रिय पर्यटकको संख्यामा अघिल्लो वर्षको तुलनामा केही गिरावट देखिएको छ । अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार अप्रिल २०२६ मा कुल १ लाख ७ हजार ९३४ जना पर्यटक नेपाल भित्रिएका छन् ।
यो संख्या गत वर्ष २०२५ को सोही महिना (१ लाख १६ हजार ४९०) को तुलनामा ७.३ प्रतिशतले कमी हो । यस्तै, कोरोना महामारी पूर्वको वर्ष अर्थात् सन् २०१९ को अप्रिलको तुलनामा पनि पर्यटकको संख्या १.३ प्रतिशतले घटेको देखिन्छ ।
तथ्यांकअनुसार नेपाल भित्रिने पर्यटकमध्ये भारतीय नागरिक सबैभन्दा बढी छ । अप्रिल महिनामा मात्रै २५ हजार १९६ भारतीय पर्यटक नेपाल आएका छन् । यो कुल आगमन संख्याको २३.३ प्रतिशत हो । यद्यपि, यो संख्या गत वर्ष (२५,९३३) को तुलनामा सामान्य कम हो । चीनबाट हुने आगमनमा भने उत्साहजनक सुधार देखिएको छ । गत वर्ष अप्रिलमा ९ हजार ३७ चिनियाँ पर्यटक नेपाल आएकोमा यस वर्ष बढेर ११ हजार ७२२ पुगेको छ ।
सन् २०२६ अप्रिलका शीर्ष १० देशहरूमा भारत ( २५ हजार १९६), चीन ( ११ हजार ७२२), अष्ट्रेलिया (५ हजार ३२७), बंगलादेश (५हजार२३१), संयुक्त अधिराज्य (४ हजार ८८६), जर्मनी (३ हजार १४३), मलेसिया (३ हजार ०८५), रुस (२ हजार ६३७), म्यानमार (२ हजार ६२६) र फ्रान्स (२ हजार ४४३) छन् ।
यस महिना अमेरिकी क्षेत्रबाट हुने पर्यटक आगमनमा ठूलो गिरावट देखिएको छ । गत वर्ष अप्रिलमा १२ हजार ७७५ पर्यटक आएकोमा यस वर्ष मात्र २ हजार ५१८ जना आएका छन् । विशेषगरी अमेरिका संयुक्त राज्य अमेरिकाबाट आउने पर्यटक १० हजार ५३ बाट घटेर २१० मा खुम्चिनुले समग्र तथ्यांकमा असर पारेको छ । युरोपेली बजारबाट पनि यस वर्ष पर्यटक संख्या घटेको छ । गत वर्ष ३० हजार २४९ युरोपेली पर्यटक आएकोमा यस वर्ष २१ हजार ९८८ मात्र आएका छन् ।
कुल पर्यटकमध्ये दक्षिण एसियाली मुलुकहरूको हिस्सा ३१ प्रतिशत रहेको छ । यस्तै, एसियाका अन्य देशहरूको हिस्सा २४.८ प्रतिशत रहेको छ । अन्य क्षेत्रबाट हुने आगमनमा भने उल्लेख्य वृद्धि भई १५ हजार ३६० पुगेको छ । जुन गत वर्ष ७ हजार ४४८ मात्र थियो ।
तथ्यांकले नेपाली पर्यटन बजारमा छिमेकी मुलुकहरूको प्रभाव बलियो देखाए पनि युरोप र अमेरिका जस्ता टाढाका गन्तव्यहरूबाट पर्यटक कम आकर्षित भएकाो देखाएको छ ।