— गत बिहीबार रोल्पाको जलजलामा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउने जम्मा २० जना मध्ये रुकुम पूर्वमा ६ जनाको आज सामूहिक दाहसंस्कार गरिएको छ ।
सिस्ने गाउँपालिका–६ की मृतक युवा बुढाथोकीका श्रीमान् दीपक अमेरिकाबाट फर्किएपछि उनीसंगै ६ जनाको आज धाउने बगरस्थित सानीभेरी नदी किनारमा दाहसंस्कार गरिएको हो ।
दुर्घटनामा परेर युवा र उनका छोरासंगै उनकी सासुआमा तिलकुमारी बुढाथोकी, देवरगोर्ख बहादुर बीसी, कान्छी सासु ओमकुमारी बुढाथोकी, उनका छोरा सुदीप र बिहे भएर सल्यान गएकी छोरी सुजना बुढाथोकीको ज्यान गएको थियो । सृजनाको शव सल्यान लगिएपछि बाँकी ६ वटा शव जिल्ला अस्पतालको शवगृहमा राखिएको थियो ।
हिजो राति युवाका श्रीमान् दीपक अमेरिकाबाट घर फर्किएपछि आज उनीहरुको अन्तेष्टी गरिएको हो । बाँकी १४ जनाको भने सम्बन्धित ठाँउमा लगेर गत शनिबार नै दाहसंस्कार गरिसकिएको छ ।
हरेक बर्ष चण्डी पूर्णिमाका दिन रोल्पाको जलजलामा हुने विशेष पुजामा सहभागी हुन त्यसको अघिल्लो दिन गत वैशाख १७ गते बिहीबार युवा र उनको परिवार गाडी रिजर्व गरेर त्यसतर्फ जाँदै गर्दा जलजला नपुग्दै गाडी दुर्घटना भएको थियो ।
२१ जना सवार रहेको जिप दुर्घटना परेपछि १ जना समीर कामी मात्रै छतमा बसेकाले बाँच्न सफल भएका थिए । उनी सामन्य उपचारपछि सोही दिन नै घर फर्किसकेका छन् ।