— जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा सहभागी दुवै मन्त्रीलाई राजीनामा गर्न निर्देशन दिएको छ ।
जनमत पार्टीका केन्द्रीय प्रवक्ता चन्दन सिंहले जनमत पार्टीले मधेश प्रदेश सरकारमा कांग्रेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई गरेको समर्थन फिर्ता लिएको जानकारी दिए । उनले मधेश प्रदेशमा सहभागी जनमत पार्टीका अर्थमन्त्री महेशप्रसाद यादव र खेलकुद तथा समाज कल्याणमन्त्री बसन्त कुशवाहालाई फिर्ता बोलाइएको बताए ।
‘कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकारले बजेट खर्च पनि गर्न सकेन । संघीयतालाई मजबुत बनाउने काम पनि गरेन,’ जनमतका प्रवक्ता सिंहले कान्तिपुरसँग भने, ‘कृष्ण यादव नेतृत्वको सरकार मधेशलाई अनुभूति भएन । अब मधेश प्रदेशमा मधेशवादीसहितको मजबुत सरकार बनाइने छ ।’ उनका अनुसार यादव नेतृत्वको सरकारले मधेश प्रदेशको चालु बजेट पनि खर्च गर्न नसकेको र अगामी आर्थिक वर्षको बजेट निर्माणमा पनि ध्यान नदिएकाले विकल्प खोज्न सरकारबाट समर्थन फिर्ता लिइएको हो ।
कांग्रेस नेतृत्वको मधेश प्रदेशको सरकारबाट मधेशवादी दल जनमत, जसपा र लोसपा पछिल्लो समय बिच्किएको थियो । केही साताअघि बाराको परवानीपुरमा मधेश प्रदेशका एमाले संसदीय दलका नेता सरोजकुमार यादव (महोत्तरी)ले कांग्रेससँग समर्थन फिर्ता लिए । मधेशवादी दलसित मिलेर मधेशवादीकै नेतृत्वमा सरकार गठन गर्न समर्थन गर्न तयार रहेको बताएपछि मधेशवादी दल मधेश प्रदेशमा कांग्रेसको नेतृत्वमा रहेको सरकार फेर्न कसरत थालेको हो ।
मुख्यमन्त्री यादवले सोमबार जनकपुरमा आयोजित एक कार्यक्रममा सत्ता गठबन्धन दल एक ढिक्का रहेकाले सरकार फेरिने हल्लामा सत्यता नरहेको बताएका थिए । उनले सरकार फेरिने हल्ला भनिरहेकै बेला सत्ता गठबन्धन दल जनमतले समर्थन मात्र होइन मन्त्रीलाई पनि फिर्ता बोलाएको हो ।