— सरकारले निर्माधीन रहेका क्रिकेट पूर्वाधारहरूलाई ठूलो प्राथमिकतामा राख्दै आएको छ । त्यसलाई निरन्तरता दिँदै आउँदो बजेटमा त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुर परेमा यसको दर्शक क्षमता दोब्बर हुन सक्नेछ ।
सहरी विकास मन्त्रालयले ४० करोड रुपैयाँ छुट्याएपछि गत वर्ष कीर्तिपुर रंगशालामा १० हजार दर्शक क्षमताको प्यारापिट बनाउँदै फ्लडलाइट जडान गरेको थियो । घाँसे मैदानमा १५ हजारभन्दा बढी दर्शक टिकट काटेर मैदानमा पुगिरहँदा नेपालको खेल हेर्नेक्रम निरन्तर रहेको पृष्ठभूमिमा सरकारले कीर्तिपुर रंगशालालाई पूर्वाधारमार्फत बलियो बनाउन प्यारापिटमा सिट राखेको थियो ।
विगतका सरकारले कीर्तिपुर रंगशालाको गुरुयोजना पनि स्वीकृत गरिसकेको छ । गुरुयोजनाबमोजिम कीर्तिपुर रंगशालाको निर्माण कार्य पूरा गर्न १० अर्ब रुपैयाँ लाग्ने अनुमान सरकारको छ । यो पूरा भएमा दर्शकको क्षमता अहिलेभन्दा कम्तीमा दोब्बर भई २० हजारभन्दा बढी पुग्ने छ ।
कीर्तिपुर रंगशालामा १० हजार दर्शक क्षमताको प्यारापिट बनाउँदै फ्लडलाइट जडान गरिएलगत्तै नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गरेको थियो । एनपीएलमा दर्शक खचाखच थिए । अहिले नेपाली क्रिकेटको दूरगामी हिसाबमा ठूलो प्रभाव राखेको क्रिकेट विश्वकप लिग २ कीर्तिपुरमै आयोजना भइरहेको छ । कीर्तिपुरमा प्यारापिट बनेयता नेपालले पहिलो पटक पुरुषको अन्तर्राष्ट्रिय म्याच त्यहाँ खेलिरहेको हो ।
Reachable logo
ads/1440x233-galaxy-s26-sky-blue-kvekantipur-2342026030756.jpg
यूएईसँगको दुई ट्वान्टी–२० अन्तर्राष्ट्रिय फ्लडलाइटमा खेल्दा होस् या ५० ओभरको लिग २ मा नेपालले ओमान र यूएईसँग प्रतिस्पर्धा गर्दा दर्शक उपस्थिति एकदमै न्युन छ । नेपाल र यूएईको खेलले स्पेनिस फुटबलमा बार्सिलोना र रियल म्याड्रिड जस्तै ‘एल क्लासिको’ उपनाम पाएको छ, तर जति दर्शक कीर्तिपुरमा पुगेर उपस्थिति जनाइरहेका छन्, त्यसले ‘एल क्लासिको’ उपनाम प्रमाणित गर्न सकिरहेको छैन ।
क्यानले अघिल्लो महिना लिग २ का खेलका लागि ४ सय रुपैयाँ टिकट दर तोक्दै सामाजिक सञ्जालमा सूचना राखेको थियो । त्यसमा अधिकांशले टिकट दर महँगो भएको भन्दै प्रतिक्रियासहित क्यानको चर्को आलोचनासमेत गरेको थियो । अझ नेपाल र यूएईबीच फ्लडलाइटमा भएको दुई ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलको टिकट मूल्य ७ सय ५० रुपैयाँ राखिएको थियो । ‘पास’ लिएर भीआईपी क्षेत्रमा आउने भन्दा टिकट काटेर आउने दर्शक संख्या न्युन देखिएको थियो ।
उपकप्तान दीपेन्द्रसिंह ऐरीले नेपाली क्रिकेटकै एक उत्कृष्ट इनिङ्स खेल्दै शुक्रबार यूएईविरुद्ध १ सय रन बनाएका थिए । तर पेभेलियनबाट नेपाली टोलीले दीपेन्द्रलाई शतक बनाउँदा बधाई दिँदै बजाएको तालीभन्दा दर्शकको तालीको ध्वनि मधुरो सुनिएको थियो ।
ads/multiple-banner-1-d-1022026052847.jpg
ads/multiple-banner-2-d-1022026052940.jpg
ads/multiple-banner-3-d-1022026053028.jpg
‘विश्वकप नहुँदा पनि नेपालको खेल हुँदा दर्शक आइरहेका हुन्थे, तर अहिले ट्वान्टी–२० राति हुँदा पनि दर्शक आइरहेका छैनन्, कारण के हो थाहा छैन, टिकट दर बढी भएर हो कि,’ यूएईविरुद्ध शतक बनाएपछि दीपेन्द्रले मिडियासामु भनेका थिए, ‘दर्शक आउनुपर्ने अपेक्षा थियो । दर्शक हुँदा खेलाडीलाई पनि सहयोग हुन्छ । हामी अमेरिका खेल्न गयौं त्यहाँ पनि नेपाली दर्शक आए, भारत खेल्न गयौं त्यहाँ पनि दर्शक आए, तर नेपालमै अन्तर्राष्ट्रिय खेल भइरहँदा दर्शक आइरहेका छैनन्, त्यो चाहिँ दुःखलाग्दो कुरा हो ।’
अमेरिका ड्यालसको ग्रान्ड प्रेरी होस् या मुम्बईको वानखेडे रंगशाला नेपालले आफ्नो खेल खेल्दा दर्शक भरिभराउ हुन्थे । तर नेपालले एकदिवसीय मान्यता जोगाउन लिग २ को महत्त्वपूर्ण खेल खेलिरहँदा कीर्तिपुरमा औंलामा गन्न सकिने दर्शकमात्र आएका छन् । यसैको प्रभावमा होला क्यानले सोमबार टिकट दर ४ सयबाट घटाएर २ सयमा झारेको छ । नेपालले मंगलबार खेल्ने ओमान र लिग २ को अर्को शृंखला अमेरिका र स्कटल्यान्डसँगको खेलका लागि यो दर कायम गरिएको क्यानले जनाएको छ ।
क्यान प्रवक्ता छुम्बी लामा टिकट दर महँगो भएका कारण दर्शक नआउनुको मात्र कारण मान्दैनन्, तर यो पनि एउटा कारण हुनसक्ने उनी सुनाउँछन् । ‘हामीले विश्वकपमा वेस्ट इन्डिज, इंग्ल्यान्डजस्ता राष्ट्रसँग खेलेका कारण हुनसक्छ दर्शकको ठूलो राष्ट्रसँग खेलोस् भन्ने अपेक्षा हुनसक्छ । तर त्यसमा हाम्रो बाध्यता पनि छन्, हामीले चाहनेबित्तिकै कुनै पनि टिम आएर खेल्ने होइन,’ लामाले भने, ‘यूएई, ओमानहरू नियमीत खेलिरहेका प्रतिद्वन्द्वी भएर हुन सक्छन्, दर्शक धेरै कम आएको ।’
ads/hardik-niskula-opd1440270-2-30320260940361-1042026074814.jpg
उनले अमेरिका र स्कटल्यान्डसँगको लिग २ को अर्को शृंखलामा दर्शक बढी आउने विश्वास व्यक्त गरे । हाल चलिरहेको लिग २ मा कति दर्शक आए भनेर गणना अहिलेलाई नगरिएको उनले सुनाए । तर नेपालले लिग २ को यस शृंखलामा ३ खेल खेलिसक्दा प्रतिखेल १ हजार हाराहारीमा मात्र दर्शक मैदानमा देखिएका छन् ।
‘विगत तुलनामा नेपालले अन्तर्राष्ट्रिय खेल खेल्दा पक्कै पनि धेरै कम दर्शक आएका छन्, पहिलो पटक यस्तो भएको होला । स्वभाविक रूपमा पैसा बढी भएर पनि हुनसक्छ,’ प्रवक्ता लामाले अगाडि भने, ‘विभिन्न प्लेट फर्ममा अहिले भइरहेको नेपालको क्रिकेट हेर्ने सुविधा पनि छ, त्यो सुविधा पनि दर्शकले लिइरहेका छन् । एकदिवसीय लामो संरचना पनि भएर होला, दर्शकमा मैदानमा गएर खेल हेर्ने त्यस्तो रुचि देखिएको छैन ।’
गृह मैदानमा नेपालको खेल हेर्न दर्शक नआउदा क्यान सोच्न बाध्य बनाएको लामा स्वीकार्छन् । ‘विगतमा पनि नेपालको खेलमा टिकट दर ३ सय रुपैयाँसम्म राखिएकै थियो, प्यारापिटमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल भएकाले हामी पनि अलिकति माथि जान खोजेर आईसीसीसँगै सल्लाह टिकट दर तोकेका हौं,’ लामाले भने, ‘दर्शक आएर खेल हेर्दा खेलाडीको नैतिक समर्थन हुन्छ र राम्रो खेल्न प्रेरित पनि गर्छ ।’ उनले क्यानको आर्थिक स्रोतमा टिकट काटेर खेल हेर्न जाने दर्शकको उपस्थितिले ठूलो प्रभाव राख्दै आएको र अहिले दर्शक नआउँदा बजेट पनि प्रभावित हुने जनाउँछन् ।
ads/ad-banner-1440x233px-1042026075344.png
नेपालले दुई महिना भारतको मुम्बईमा ट्वान्टी–२० विश्वकपमा वेस्ट इन्डिज, इंग्ल्यान्ड, स्कटल्यान्ड र इटालीबाट खेल्दा टिकट दर ३ सय भारुबाट सुरु भएको थियो । तर नेपालमा घरेलु मैदानमा खेल्दा ४ सय रुपैयाँको टिकट दर एकदमै महँगो मान्नुपर्ने दर्शकको प्रतिक्रिया छ ।
७ घन्टाभन्दा बढी लामो खेल हेर्न त्यसअनुरुप सुविधा नभएको पनि नियमित क्रिकेट हेर्न आइरहने दर्शक अमित बस्याल बताउँछन् । उनले भने, ‘मैदानभित्र पानीको बोटल, खाने कुरा लैजान बन्देज छ । वर्षाको समयमा अधिकांश प्यारापिटमा ओत लाग्ने ठाउँ पनि छैन, यी खेल मैदानमा हुने आधारभूत सुविधा हुन्, विद्यार्थीका लागि ४ सय रुपैयाँ अत्यन्तै महँगो हो ।’
ओमानसँगको हारपछि सोमपाल कामीले पनि दर्शकको कमी खड्किएको सुनाएका थिए । ‘अहिले नेपाल क्रिकेट जहाँसम्म पुगेको छ, अहिले जति नेपाली क्रिकेटको कुरा हुन्छ, त्यो हामी खेलाडीले भन्दा पनि प्रशंसकले गर्दा नै हो,’ उनले दर्शकलाई अनुरोध गर्दै भनेका थिए, ‘आशा छ दर्शकलाई हामीले मैदानमा देख्न पाउने छौं । उहाँहरूले जहिल्यै पनि १२ औं खेलाडीको भूमिका निभाउँदै आउनुभएको थियो ।’ दर्शक नहुँदा ओमानी कप्तान जतिन्दर सिंहले नेपालविरुद्ध शतक प्रहार गर्न सकेको भनेर उनले ठट्यौटी पारामा भनेका थिए ।
ads/ekantipur-6800x1100px-0442026081853.jpg
ट्वान्टी–२० को लोकप्रियताका कारण पनि दर्शकलाई ७–८ घन्टा रंगशालामा बसेर एकदिवसीय खेल हेर्न गाह्रो भएको हुनसक्ने सोमपालको अनुमान थियो । रंगशालामा बस्ने सुविधा झन् बढ्दा दर्शक नेपालको खेल हेर्न नआएकामा सोमपाल पनि आश्चर्यमा छन् ।