मुख्य समाचार
स्थानीय तहका ३५ हजार २२१ उम्मेदवार छनोटको तयारीमा जुट्यो रास्वपा
स्थानीय तहका ३५ हजार २२१ उम्मेदवार छनोटको तयारीमा जुट्यो रास्वपा

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संघीय सरकार निर्माण लगत्तै स्थानीय चुनावको तयारीमा जुटेको छ । पहिलो पटक स्थानीय चुनावमा सहभागी हुन लागेको रास्वपाले अरू दलभन्दा एक कदम अगाडि बढेर तयारी थालेको हो ।

२०७९ वैशाखमा स्थानीय तहको चुनाव हुँदा रास्वपा दल नै गठन भएको थिएन । रास्वपाले स्थानीय तहको उपचुनावमा भने भाग लिएको थियो ।

प्रतिनिधिसभा निर्वाचनमा पहिलो दल बनेको रास्वपाले अर्को वर्ष हुने स्थानीय चुनावका लागि केन्द्रीय तहबाटै तयारी तीव्र पारेको छ ।

रास्वपाले ३५ हजार २२१ उम्मेदवारका लागि छनोटको विधि बनाउन सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा केन्द्रीय तहको समिति गठन गरेको छ ।

सात सदस्यीय समितिमा केन्द्रीय सदस्यहरू आरके ढुङ्गाना, समीक्षा बाँस्कोटा, केपी खनाल, कामिनी चौधरी, रामकृष्ण भट्टराई र रोहन कार्की सदस्य छन् । आरके ढुङ्गाना समितिको सदस्यसचिवको जिम्मेवारीमा छन् ।

स्थानीय तहमा उम्मेदवार छनोटलाई पारदर्शी, समावेशी, योग्यतामा आधारित बनाउन समिति बनाइएको रास्वपाले जानकारी दिएको छ । आचार्य नेतृत्वको ‘उम्मेदवार छनोट रूपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति’ ले वडा, पालिका, जिल्ला र प्रदेशमा छलफल गरेर सुझाव लिने कार्य गरिसकेको छ ।

उक्त समितिले स्थानीय तह उम्मेदवार छनोट रूपरेखाको मस्यौदा प्रतिवेदन सभापति रवि लामिछानेलाई आइतबार पेस गरेको छ । स्थानीय तह निर्वाचनमा रास्वपाबाट उम्मेदवार हुन इच्छुकले उम्मेदवार क्लब र लिडरसिप एकेडमीबाट उत्तीर्ण हुनैपर्ने मापदण्ड बनाइएको छ ।

रास्वपाबाट स्थानीय तहमा उम्मेदवार हुनका लागि अनिवार्य रूपमा पार्टी सदस्य र उम्मेदवार क्लबमा दर्ता भएको हुनुपर्छ । उम्मेदवार छनोटको रूपरेखा तयार गर्न बनेको समितिका सदस्य सचिव ढुङ्गानाका अनुसार पार्टीले केही समयपछि उम्मेदवार क्लबमा दर्ता हुन सार्वजनिक सूचना जारी गर्नेछ ।

‘कानुनी रूपमा योग्यता पुगेका जो सुकै व्यक्तिले उम्मेदवार हुनका लागि आवेदन दिन सक्नु हुनेछ । पार्टी सदस्य भइसकेको र भर्खरै सदस्यता लिनुभएको व्यक्तिले पनि उम्मेदवार क्लबमा नाम दर्ता गर्न सक्नु हुन्छ,’ समितिका सदस्यसचिव ढुङ्गानाले भने ।


उम्मेदवारको आकांक्षा राखेर नाम दर्ता गर्नेहरूका लागि रास्वपाले प्रशिक्षण दिनेछ । राज्यका कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन सदस्यहरूलाई प्रशिक्षण तथा परीक्षण गरी नेतृत्व क्षमता विकास गर्ने उद्देश्य रास्वपाले राखेको छ ।

पार्टी विधान, जनप्रतिनिधिका काम, कर्तव्य, अधिकार, स्थानीय तहको सरकारले गर्नुपर्ने कार्य, कानुनी, व्यावहारिक पाटो लगायतमा पार्टीले प्रशिक्षण प्रदान गर्नेछ । उम्मेदवार हुन इच्छुकका लागि आधारभूत र विशिष्ट दुवै कक्षा पार्टीले सञ्चालन गर्ने केन्द्रीय समिति सदस्य ढुङ्गानाले जानकारी दिए । दलका नेता एवं विषय विज्ञहरूले प्रशिक्षण दिने रास्वपाले जनाएको छ । उम्मेदवार हुनका लागि उत्तीर्ण हुनैपर्ने बाध्यात्मक विधि बनाइए पनि उत्तीर्ण हुनका लागि आवश्यक प्रतिशत भने किटान गरिएको छैन ।

तोकिएको समयमा प्रशिक्षण र परीक्षणका चरण पार नगरेमा उम्मेदवार क्लबको सदस्य बन्न नपाउने विधि बनाइएको छ । उम्मेदवार छनोट हुन प्रारम्भिक निर्वाचनको मत, लिडरसिप एकेडेमीको नतिजा, पोलिटिकल प्रोक्सिमिटी र समावेशिता लगायतलाई भाराङ्क निर्धारण गरिएको छ ।

यी चार विषयमा फरकफरक भार अंक हुनेछ । पार्टीमा क्रियाशिलता, स्थानीय जनतासँगको सामिप्यता, व्यक्तिको विषयगत विज्ञता लगायतलाई प्राथमिकतामा राखेर व्यक्तिको मूल्यांकन पार्टीले गर्नेछ ।

‘रास्वपाले उठाउने उम्मेदवारले जित्ने सम्भावना कति छ ? कोर भोट वा स्विङ भोटको अवस्था पनि हामी हेर्छौं,’ केन्द्रीय सदस्य ढुङ्गाना भन्छन्, ‘जनसम्पर्क, पेसागत, शैक्षिक अनुभव, सामाजिक योगदानको मूल्यांकन गरेर उम्मेदवार छनोट गर्छौं ।’

स्थानीय तहमा कम्तीमा पनि ३३ प्रतिशत महिला उम्मेदवार बनाउने गरी रास्वपामा छलफल भएको नेताले जानकारी गराएका छन् । उम्मेदवार छनोट गर्दा दलित, अपाङ्ग, निश्चित समुदाय लगायतको हुँदा उक्त व्यक्तिले स्वतः १० प्रतिशत प्राप्त गर्ने गरी विधि बनाइएको छ ।

प्रारम्भिक निर्वाचनको भार अंक ४० प्रतिशत तोकिएको छ । प्रारम्भिक निर्वाचनमा सम्बन्धित स्थानका पार्टी सदस्यले मतदान गर्न पाउने छन् । स्थानीय तहका सबै पदका उम्मेदवार उम्मेदवार छनोट गर्दा प्रारम्भिक मतदानमा सम्बन्धित वडाका रास्वपा सदस्यले भाग लिने छन् ।

रास्वपाको विधानअनुसार सम्बन्धित स्थानमा कूल मतदातामा एक प्रतिशत रास्वपा सदस्य भए मात्रै प्रारम्भिक मतदानको विधि लागु हुन्छ । प्रारम्भिक मतदान हुने अवस्थाबारे रास्वपा विधानले भन्छ, ‘राष्ट्रिय निर्वाचन आयोगले अघिल्लो निर्वाचनमा सार्वजनिक गरेको सम्बन्धित क्षेत्रको कूल मतदाता संख्याको १ प्रतिशतभन्दा कम रहे निर्वाचन मण्डल गठन भएको मानिने छैन र सम्बन्धित क्षेत्रको उम्मेदवार केन्द्रीय समितिले छनोट गर्नेछ । केन्द्रीय निर्वाचन आयोगले प्रारम्भिक निर्वाचनको प्रक्रिया गर्नेछ ।’

प्रारम्भिक निर्वाचनमा सहभागी भएका उम्मेदवारभन्दा फरक उम्मेदवार बनाउनुपर्ने अवस्था आएमा विधानले विकल्प पनि दिएको छ । प्रारम्भिक निर्वाचनमा निर्वाचित र सहभागी उम्मेदवारहरूको सहमतिमा केन्द्रीय समिति वा केन्द्रीय समितिबाट अधिकार प्राप्त निकायले उम्मेदवार छनोट गर्न सक्ने विकल्प राखिएको छ ।

रास्वपाले प्रतिनिधिसभाका उम्मेदवारका लागि छनोट विधि बनाए पनि कार्यान्वय हुन सकेको थिए । उपचुनावको समयमा उम्मेदवार छनोटको विधि लागु गर्दागर्दै चुनाव नहुने परिस्थिति बनेको थियो ।

२१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको नजिक काठमाडौं महानगरका पूर्वमेयर बालेन शाह पक्षसँग एकता हुँदा प्रारम्भिक मतदान गर्न नसकिएको रास्वपाले जनाएको थियो ।

विधिभन्दा बाहिर गएर उम्मेदवार छनोट नहुने केन्द्रीय सदस्य ढुङ्गाना दाबी गर्छन् । उनी भन्छन्, ‘महानगरको हकमा केन्द्रीय सचिवालयलाई निर्णय लिन सक्ने १५ प्रतिशत अधिकार बाहेक अन्यमा हामीले बनाएको विधि जे हो, त्यही लागु हुन्छ ।’

रास्वपाको विधानअनुसार ‘अन्य राजनीतिक पार्टी त्याग गरी आएको’ व्यक्ति कुनै पनि तहको उम्मेदवार हुन नपाउने व्यवस्था छ । तर प्रतिनिधिसभा निर्वाचनमा भने रास्वपाले विधानको उक्त व्यवस्था कार्यान्वयन गरेको थिएन । निर्वाचनको मुखमा विभिन्न दलबाट रास्वपा प्रवेश गरेर उम्मेदवारको टिकट लिनेहरू उल्लेख्य थिए ।

‘त्यस्तो व्यक्ति उम्मेदवार क्लबमा आउन पायो । लिडरसिप एकेडेमीका कक्षा पनि लिन पायो । भर्खर रास्वपामा आएको हो भने त्यस्तो व्यक्तिले कम अंक प्राप्त गर्ने व्यवस्था गरेको छौं,’ केन्द्रीय सदस्य ढुङ्गाना भन्छन्, ‘पहिले नै जनप्रतिनिधि भएका वा अरू दल छोडेर रास्वपा प्रवेश गर्ने वित्तिकै उम्मदेवार हुन खोज्नेले स्वत: अंक कम पाउँछ ।’

रास्वपाले स्थापनाकालदेखि नै स्थानीय तहका जनप्रतिनिधि गैरदलीय हुनुपर्ने वकालत गर्दै आएको छ । पालिकाको नेतृत्व गर्ने व्यक्ति राजनीतिक रूपमा प्रशिक्षित व्यक्ति हुनुपर्ने पार्टीको पछिल्लो बुझाइ रहेको उल्लेख गर्दै केन्द्रीय सदस्य ढुङ्गाना भन्छन्, ‘पार्टीको सदस्य लिएर, विधान र पार्टी दर्शनलाई मानेको व्यक्ति नै उम्मेदवार बनाउनुपर्ने अवस्था छ । संविधानको कारणले पनि अहिले गैरदलीय उम्मेदवार बनाउने अवस्था छैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रास्वपा सभापति रवि लामिछानेले देशभरका स्थानीय तहहरूले आफ्नो पार्टीको काँधमा बन्दुक हान्ने काम गरेको भन्दै आपत्ति जनाएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अव्यवस्थित व्यवसायीलाई स्थानीय तहले आफ्नो पार्टीको नाम बदनाम हुनेगरी ब्रिफिङ गरेको जिकिर गरे । ‘देशभरिका विभिन्न स्थानीय निकायहरूले रास्वपाको काँधमा बन्दुक हानेर अव्यवस्थित व्यवसायीलाई देख्यौ तिमीहरूको काम गरिरहनुभएको छ, ...
। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले कूल संरचनाको बहुमत प्रतिनिधित्व नगरेको भन्दै पुनर्विचारका लागि फिर्ता गरेका छन् । उनले बुहमतीय प्रणालीलाई जीवन्त र निरन्तर राखिराख्नु पर्ने भन्दै अध्यादेश पुनर्विचार गर्न भनेका हुन् । ‘संवैधानिक परिषद्को कूल संरचनाको बहुमतलाई प्रतिनिधित्व नगरेको देखिएको हुँदा बहुमतीय प्रणालीलाई जीवन्त र निरन्तर राखिराख्न सर्वोच्च अदालतको पूर्ण इजलासको आदेशलाई ...
। राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार हुन क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने निर्णय गरेको छ । आज पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । रास्वपाले उम्मेदवारका आकांक्षी धेरै हुने भएपछि छनोटमा सहज बनाउन क्यान्डिडेट क्लब बनाएको छ । हालै बसेको संसदीय दलको ...
। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक नेतृत्वबाट प्राप्त स्पष्ट प्रतिबद्धता र आश्वासनले निजी क्षेत्रको खस्किएको आत्मविश्वास पुनर्स्थापित हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले आज काठमाडौंमा आयोजना गरेको निजी क्षेत्रसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्रको लगानी र व्यावसायिक सक्रियता अभिवृद्धि गर्न राज्य र राजनीतिक दलहरूको सहयोग अपरिहार्य रहेको बताएका ...
। नेकपा एमालेले पार्टी सदस्यता नवीकरणलाई अनलाइन माध्यमबाट गर्ने तयारी गरेको छ । यसअघि भौतिक रूपमा उपस्थित भएर मात्रै नवीकरण गर्ने नीति लिएको थियो । तर त्यो शैली बदल्ने प्रस्ताव संगठन विभागले राखेको छ । ‘भौतिक रूपमा आफैं उपस्थित भएर सदस्यता नवीकरण गर्ने नीति थियो, तर अब अनलाइनमा जाने कि भनेर संगठन विभागले प्रस्ताव तयार पारेको छ,’ ...