: नवलपुरका दुई छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्लाको मध्यबिन्दुमा करेन्ट लागेर एक पुरुष र कावासोतीमा भएको सडक दुर्घटनामा एक युवतीको ज्यान गएको हो ।
मध्यबिन्दु नगरपालिका–१५ कोलकट्टा खोरियामा शनिबार बिहान करिब ४ः२० बजे करेन्ट लागेर स्थानीय ४५ वर्षीय ऋषिराम चौधरीको मृत्यु भएको छ । स्थानीय गुनबहादुर चौधरीको खेतमा लगाइएको तर्बुजा खेती जोगाउनका लागि बिजुलीको पोलबाट नाङ्गो तार तानिएको र सोही तारमा परेर चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धान गरी शवलाई पोस्टमार्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाएको छ ।
यसैगरी, कावासोती नगरपालिका–८ कालिगण्डकी चोकमा भएको सडक दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ । शनिबार बिहान ४ः५० बजे पूर्व–पश्चिम फलफूल चोकबाट डण्डातर्फ जाँदै गरेको ग.प्र.०४–००२ प २६२५ नम्बरको स्कुटर अनियन्त्रित भई सडक किनारमा रोकिराखेको प्र.नं.२–०४–००१ ख ००८२ नम्बरको ट्रकको पछाडि ठोक्किएको थियो ।
दुर्घटनामा स्कुटरको पछाडि सवार हुप्सेकोट गाउँपालिका– २२ की निशा कुमाल गम्भीर घाइते भएकी थिइन् । उनलाई तत्काल उपचारका लागि कालिगण्डकी अस्पताल पुर्याइएकोमा थप उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको थियो । उपचारकै क्रममा बिहान ५ः०४ बजे उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते भएका स्कुटर चालक कावासोती–८ का ३७ वर्षीय शंकर श्रेष्ठको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ हात र आँखामा चोट लागेको र अवस्था मध्यम रहेको बताइएको छ । प्रहरीले ट्रक चालक बारा जितपुर सिमरा उपमहानगरपालिका–१२ का २८ वर्षीय मुकेश चौधरी र दुवै सवारी साधनलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ ।