मुख्य समाचार
तमिल फिल्मका निर्माता कलाकारको महंगो पारिश्रमिकविरुद्ध हड्तालमा उत्रिने
तमिल फिल्मका निर्माता कलाकारको महंगो पारिश्रमिकविरुद्ध हड्तालमा उत्रिने

कल्पना गर्नुहोस्, एकजना अभिनेता एउटा फिल्मका लागि ५० करोड भारु पारिश्रमिक लिन्छ । तर, ती फिल्महरू लगातार असफल भइरहेका छन् ।

यस्तो अवस्थामा निर्माताले नयाँ प्रस्ताव ल्याउँछ- ५० करोडकै पारिश्रमिक कायम रहन्छ, तर त्यसको आधा मात्र अग्रिम दिइन्छ । बाँकी आधा भुक्तानी फिल्मको सफलतामा निर्भर हुन्छ । यसपछि अभिनेता असहज हुन्छ । अब उसको आम्दानी पूर्ण रूपमा सुरक्षित रहँदैन, र फिल्म सफल बनाउन अभिनय मात्र होइन, अन्य पक्षमा पनि सक्रिय हुनुपर्ने हुन्छ ।




यो कल्पना जस्तो लागे पनि अहिले तमिल फिल्म उद्योगमा यस्तै अवस्था देखिएको छ । वर्षौंदेखि आम्दानी साझेदारीको विषय उठ्दै आएको भए पनि कलाकारले यसलाई बेवास्ता गर्दै आएका थिए । अहिले भने निर्माताले कडा कदम चाल्ने निर्णय गरेका छन् । मे २ का लागि प्रतीकात्मक हड्ताल घोषणा गरिएको छ, र कलाकार वार्तामा नआए अनिश्चितकालीन रूपमा काम रोकिने चेतावनी दिइएको छ ।

विवादको कारण के हो ?




पछिल्ला दुई वर्षदेखि कलिउडका निर्माताले, तेलुगु र बलिउड उद्योगझैं, आम्दानी साझेदारीको मोडेल लागू गर्न खोजिरहेका छन् । यसमा कलाकार र प्राविधिकले निश्चित पारिश्रमिक नलिई फिल्मको आम्दानीबाट हिस्सा लिने व्यवस्था हुन्छ । उदाहरणका लागि, फिल्मले कमाएको प्रत्येक १०० रुपैयाँमध्ये ३० रुपैयाँ कलाकारले लिने ।

निर्माता धनञ्जयनले भनेका छन्, ‘आमिर खानले पारिश्रमिक नलिएर आम्दानीबाट हिस्सा लिने अभ्यास सुरु गरेपछि उद्योगमा यसबारे बहस सुरु भयो । अहिले अक्षय कुमार र अजय देवगन जस्ता कलाकारले पनि विस्तारै अपनाइरहेका छन् । २० करोडभन्दा बढी पारिश्रमिक लिने तमिल कलाकारले पनि यो मोडेल विचार गर्नुपर्छ ।’

पहिले कलाकार पारदर्शिताको अभावका कारण तयार थिएनन् । निर्माताले विभिन्न स्रोतबाट उच्च ब्याजमा ऋण लिएर फिल्म बनाउँथे, जसले वास्तविक नाफा कति भयो भन्ने स्पष्ट हुँदैनथ्यो ।

धनञ्जयन भन्छन्, ‘पाँच वर्षअघि त्यो चिन्ता जायज थियो । अहिले सबै कारोबार डिजिटल र ट्रेस गर्न मिल्ने भएको छ । स्याटेलाइट, डिजिटल र वितरण अधिकारहरू व्यवस्थित छन् । तर पनि कलाकारहरू तयार छैनन् ।’

निश्चित पारिश्रमिकको बोझ

निर्माताका अनुसार अहिलेको प्रणाली टिकाउ छैन ।

धनञ्जयन भन्छन्, ‘धेरै ठूला फिल्म असफल भइरहेका छन् । सन् २०२४ केही हदसम्म ठीक थियो, तर २०२५ निकै खराब रह्यो । यति हुँदाहुँदै पनि कलाकारले ठूलो रकम सुरक्षित रूपमा लिइरहेका छन् । यस्तो अवस्थामा निर्माता कसरी बाँच्ने ?’

ओटीटी सम्झौता घट्दै जानु र आम्दानी कम हुँदै जाँदा जोखिम समान रूपमा बाँड्नुपर्ने उनीहरूको तर्क छ ।

हड्तालको चेतावनी

मे २ देखि तमिलनाडुमा फिल्म छायांकन रोकिने सम्भावना छ । कलाकार संगठन नडिगर संगमले असन्तुष्टि जनाएको छ, तर निर्माता पक्ष आफ्नो अडानमा अडिग छ ।

धनञ्जयन भन्छन्, ‘यदि निर्माता घाटामा छन् भने सबैले पीडा बाँड्नुपर्छ । पारिश्रमिक लिनेहरूको मात्र कुरा गर्नु हुँदैन, दिनेहरूको अवस्था पनि हेर्नुपर्छ ।” उनले वार्ता नभए हड्ताल अनिश्चितकालीन हुनसक्ने बताए ।

‘पाराशक्ति’ उदाहरण

हालैको एक तमिल फिल्मले यो बहसलाई थप चर्काएको छ । पाराशक्तिले बक्सअफिसमा अपेक्षित प्रदर्शन गर्न सकेन, तर निर्माता भने घाटाबाट जोगिए ।

यसका लागि अभिनेता सिवकार्तिकेयन लाई ५० करोड सट्टा २५ करोड मात्र अग्रिम दिइयो र बाँकी नाफामा हिस्सा दिने सम्झौता गरियो । अन्य कलाकारसँग पनि यस्तै व्यवस्था गरियो ।

निर्माता आकाश भास्करनले यो मोडेल अपनाउँदा फिल्म १०० करोडको बजेटमै सकियो । यदि पूरा पारिश्रमिक अग्रिम दिएको भए करिब ४० करोड घाटा हुने अवस्था थियो । डिजिटल र स्याटेलाइट अधिकारबाट आएको आम्दानीले अन्ततः खर्च बराबर भएको छ ।

तर कलाकारका लागि भने यस्तो सम्झौताले अपेक्षित आम्दानी घट्ने जोखिम देखाएको छ ।

आम्दानी साझेदारी भर्सेस नाफा साझेदारी

विशेषज्ञका अनुसार नाफा साझेदारीमा खर्च बढाएर नाफा घटाएको देखाउन सकिने जोखिम हुन्छ । तर आम्दानी साझेदारीमा फिल्मले कमाएको हरेक स्रोतबाट निश्चित प्रतिशत पाइन्छ, जसले पारदर्शिता सुनिश्चित गर्छ ।

तेलुगु उद्योगका स्टारहरू अल्लु अर्जुन, राम चरण र विजय देवरकोंडाले यस मोडेल अपनाइसकेका छन्।

चिरञ्जीवीले पनि आफ्नो पारिश्रमिक घटाएर फिल्मको बजेट सन्तुलनमा राखेका छन् । उनले सह-कलाकारलाई समेट्नका लागि आफ्नो शुल्क समायोजन गरेका उदाहरण पनि छन् ।

व्यापार विश्लेषक रमेश बाला भन्छन्, ‘१०० फिल्ममध्ये मुस्किलले १० सफल हुन्छन् । ओटीटी सम्झौता घटिरहेका छन् । यस्तो अवस्थामा निर्माता बाँच्नकै लागि आम्दानी साझेदारीतर्फ जान बाध्य छन् ।’

लामो समयदेखि ठूलो अग्रिम पारिश्रमिक लिँदै आएका कलाकारका लागि यो परिवर्तन सहज छैन ।

अब के हुन्छ ?

हड्ताल नजिकिँदै गर्दा तमिल फिल्म उद्योग एउटा संवेदनशील मोडमा पुगेको छ । कलाकारले जोखिम बाँड्ने कि उद्योग लामो समयसम्म ठप्प हुने ? यसको जवाफ मे २ पछि स्पष्ट हुन सक्छ । यसको प्रभाव भने आगामी वर्षहरूमा कलिउडको व्यवसायिक ढाँचामै देखिन सक्छ ।

इन्डियन एक्सप्रेसबाट ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
स्पेनको एक अदालतले चर्चित गायिका शकिरालाई कर विवादमा असुल गरिएको करिब ५५ मिलियन युरो (झण्डै ५० मिलियन पाउण्ड) फिर्ता गर्न त्यहाँको कर निकायलाई आदेश दिएको छ । स्पेनको राष्ट्रिय उच्च अदालतले शाकिरामाथि लगाइएको कर छलीको आरोपबाट सफाइ दिँदै ब्याजसहित रकम फिर्ता गर्न आदेश दिएको हो । अदालतले सन् २०११ मा उनी स्पेनमा १८३ दिन बसेको प्रमाण ...
हलिउडको चर्चित जासुसी फिल्म श्रृंखला ‘जेम्स बन्ड’का लागि नयाँ अभिनेता खोज्ने प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । लामो समयदेखि ‘००७’ को भूमिकामा ड्यानियल क्रेगपछि कसले अभिनय गर्ने भन्ने चर्चा चलिरहेकामा अब अडिसन प्रक्रिया नै अघि बढाइएको हो । अमेजन एमजीएम स्टुडियोले विज्ञप्ति जारी गर्दै ‘अर्काे जेम्स बन्डको खोजी सुरु भइसकेको छ’ जनाएको छ । हलिउड ...
। अमेरिकी र्‍याप गायक कान्ये वेस्ट अर्थात् ‘ये’ को भारतमा पहिलोपटक हुन लागेको सांगीतिक प्रस्तुति अन्ततः रद्द भएको छ । नयाँ दिल्लीमा २०२६ मे २३ मा आयोजना हुने तय भएको उक्त कन्सर्ट सुरक्षासम्बन्धी सरकारी निर्देशनपछि स्थगित गरिएको आयोजकले जनाएको छ । कन्सर्ट आयोजक कम्पनी ह्वाइट फक्सले इन्स्टाग्राममार्फत औपचारिक वक्तव्य जारी गर्दै सरकारी निकाय र सुरक्षा निकायबाट ...
। हलिउडका दिग्गज अभिनेता विल स्मिथले कानुनी लडाइँमा ठूलो राहत पाएका छन् । क्यालिफोर्नियाको एक अदालतले ५७ वर्षीय सुपरस्टारविरुद्ध दर्ता भएको यौन दुव्र्यवहारको मुद्दा खारेज गरिदिएको छ । यो मामिला सन् २०२५ मा स्मिथको ‘टुर टिम’ मा सहभागी एक सदस्यले लगाएको आरोपसँग सम्बन्धित थियो । ‘मेन इन ब्ल्याक’ र ’द परस्यूट अफ ह्याप्पिनेस’ जस्ता चर्चित फिल्महरूका ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले बालबालिकाको गोपनीयता उल्लंघनसम्बन्धी मुद्दा टुंग्याउन भिडियो साझेदारी एप टिकटकसँग करिब ४० करोड अमेरिकी डलर बराबरको सम्झौता गर्ने तयारी गरेको अमेरिकी सञ्चारमाध्यम एबीसी न्युजले जनाएको छ। एबीसी न्युजका अनुसार उक्त रकम वासिङ्टन डीसी क्षेत्रमा ट्रम्पले प्रस्ताव गरेका ‘ब्युटिफिकेसन् प्रोजेक्ट’ बारे ह्वाइट हाउसमा छलफल भइरहेको छ। ट्रम्पले यसअघि राजधानी क्षेत्रका विभिन्न परियोजनाका ...