मुख्य समाचार
तोकिएको समयमा रासायनिक मल नउठाउने र कालोबजारी गर्नेको लाइसेन्स खारेज हुने
तोकिएको समयमा रासायनिक मल नउठाउने र कालोबजारी गर्नेको लाइसेन्स खारेज हुने

। किसानलाई रासायनिक मलको सहज पहुँच पुर्‍याउने उद्देश्यले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नयाँ र कडा व्यवस्था सहित कार्यविधि ल्याएको छ ।

१६ वैशाखमा कृषिमन्त्री गीता चौधरीले ‘अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि २०८२’ को दोस्रो संशोधन स्वीकृत गरेकी हुन् ।




यो कार्यविधि लागु भएसँगै अब किसानलाई सहज रूपमा रासायनिक मल उपलब्ध हुनेछ भने मल आपूर्ति र वितरण प्रणाली व्यवस्थित, पारदर्शी तथा निकै प्रभावकारी हुने दाबी गरिएको छ ।

कार्यविधि पूर्णरूपमा कार्यान्वयनमा ल्याई कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्नुका साथै देशको खाद्य सुरक्षा सुदृढ गर्दै समग्र आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने मन्त्रालयको विश्वास छ ।




संविधानले व्यवस्था गरेको ‘खाद्यसम्बन्धी हक’ कार्यान्वयनमा टेवा पुर्‍याउन ल्याइएको यस विस्तृत कार्यविधिले मलको कोटा निर्धारणदेखि किसानको खेतसम्म पुग्ने सम्पूर्ण प्रक्रियालाई नियमन दायरामा ल्याएको छ ।

अब सरकारले लागत सहभागिताका आधारमा कृषकलाई अनुदानमा मल उपलब्ध गराउने छ । बजेटको सुनिश्चितता अर्थ मन्त्रालयले गर्ने छ भने मन्त्रालयले माग र खपतको अवस्था हेरी वार्षिक कोटा निर्धारण गर्ने छ ।

मल वितरण प्रणालीलाई वैज्ञानिक बनाउन मन्त्रालयले कोटा निर्धारणका लागि स्पष्ट र गणितीय आधार तय गरेको छ ।

जसअनुसार कुल अनुदानको मलमध्ये खेतीयोग्य जमिनलाई २० प्रतिशत, बाली सघनता १०, सिँचाइ उपलब्धता २०, विगत पाँच वर्षको मल प्रयोग अवस्था २०, माग भएको परिमाण २० प्रतिशत र व्यावसायिक बालीहरूको क्षेत्रफललाई १० प्रतिशत भार दिई स्थानीय तहसम्मको कोटा बाँडफाँट गरिने छ ।



यसका साथै सम्भावित अभाव टार्न कुल वार्षिक परिमाणको १० प्रतिशत मल वितरक कम्पनीहरूले अनिवार्य रूपमा ‘बफर स्टक’ (जगेडा) राख्नुपर्ने छ । यो जगेडा मल खाद्य सुरक्षाका दृष्टिले महत्त्वपूर्ण धान, मकै, गहुँजस्ता प्रमुख बाली र बिउ उत्पादनका लागि आपतकालीन अवस्थामा परिचालन गरिने छ ।

मलको मूल्यमा हुने कालोबजारी अन्त्य गर्न सरकारले आयात बिन्दुमै मलको मूल्य तोकेको छ । अनुदानमा उपलब्ध गराइने मलको आयात बिन्दुको मूल्य युरियाका हकमा प्रतिकिलो १४ रुपैयाँ, डीएपी ४३ र पोटासका हकमा प्रतिकिलो ३१ रुपैयाँ कायम गरिएको छ ।

अन्तिम उपभोक्ता मूल्य निर्धारण गर्दा यस मूल्यमा स्थानीय समितिले निर्धारण गरेको ढुवानी दर र विक्रेताको सञ्चालन तथा व्यवस्थापन खर्चबापत बढीमा प्रतिकिलो एक रुपैयाँमात्र थप गर्न पाइने छ ।

पारदर्शिता कायम गर्न कार्यविधिमा स्पष्ट भनिएको छ, ‘स्थानीय तहले स्थानीय समितिले निर्धारण गरेको बिक्री मूल्य स्थानीय तहको कार्यालयमा र विक्रेताको विक्री केन्द्रमा समेत सबैले देख्ने गरी टाँस गर्ने व्यवस्था मिलाउनुपर्ने छ ।’

मल वितरण जिम्मा मुख्यतया स्थानीय कृषि सहकारी संस्थालाई पहिलो प्राथमिकतामा राखेर दिइने छ । सहकारी नभएको खण्डमा मात्र अन्य फर्म वा कम्पनीलाई विक्रेता नियुक्त गरिने छ ।

विक्रेता नियुक्त हुन दर्ता प्रमाण, लेखा परीक्षण प्रतिवेदन, पान नम्बर, गोदामघर र नापतौल मेसिन व्यवस्था अनिवार्य गरिएको छ ।



सामान्यतया एउटा वडामा एउटामात्र विक्रेता रहने भए तापनि भौगोलिक विकटता र कृषक घरपरिवार संख्या हेरी थप विक्रेता नियुक्त गर्न सकिने व्यवस्था पनि कार्यविधिले गरेको छ ।

विक्रेताले मल वितरणमा गर्ने ढिलासुस्ती रोक्न कडा समयसीमा तोकिएको छ । स्थानीय समितिले मोबाइल म्यासेज वा इमेल मार्फत कोटाको जानकारी गराएपछि दुर्गम (‘क’ वर्गका) जिल्लाका विक्रेताले २१ दिनभित्र, मध्यम (‘ख’ वर्गका) जिल्लाका विक्रेताले १५ दिनभित्र र सुगम (‘ग’ वर्गका) जिल्लाका विक्रेताले १० दिनभित्र मल खरिद गरी लैजानुपर्ने छ । तोकिएको समयमा मल नउठाएमा उक्त कोटा रद्द गरी तत्काल अन्य विक्रेतालाई दिइने छ ।

सबैभन्दा महत्त्वपूर्ण पक्ष, अब मल हचुवा भरमा वितरण हुने छैन । स्थानीय तहले आफ्नो क्षेत्रभित्रका कृषकको सहज पहिचानका लागि लगत संकलन गरी कृषक सूचीकरण नम्बर वा परिचयपत्र वितरण गर्नुपर्ने छ र सोही प्रमाणित विवरणका आधारमा मात्र मल दिइने छ ।

वास्तविक किसानलाई मलबाट वञ्चित हुन नदिन कार्यविधिले महत्त्वपूर्ण व्यवस्था गर्दै भनेको छ, ‘कृषकले आफू बसोबास गर्ने स्थानीय तह र खेती गरिने जग्गाजमिन भएको स्थानीय तह अलग–अलग परेको खण्डमा जमिन भएको स्थानीय तहमा त्यसको जानकारी गराइ कृषकको नामावलीमा नाम समावेश गराइ मल प्राप्त गर्न सक्नेछन्, जग्गा लिजमा वा भाडामा लिई वा अधियाँमा खेती गर्ने कृषकहरूले स्थानीय तहमा त्यसको जानकारी गराइ कृषकको नामावलीमा नाम समावेश गराइ मल प्राप्त गर्न सक्नेछन् ।’

मल वितरणमा अनियमितता गर्ने विक्रेतालाई कारबाही गर्न कडा प्रावधान राखिएका छन् । यदि कुनै विक्रेताले बिल जारी नगरी मल बेचे, आफ्नो कार्यक्षेत्रभन्दा बाहिर लगेर बेचे, तोकिएभन्दा बढी मूल्य असुल गरे, लुकाइछिपाइ वा पक्षपातपूर्ण तरिकाले वितरण गरे, कृषकलाई मलसँगै अन्य सामग्री खरिद गर्न दबाब दिए वा सहकारीका सदस्य र गैरसदस्य भनेर भेदभाव गरे त्यस्ता विक्रेताको प्रमाणपत्र तत्काल खारेज गरिने छ । साथै, सफ्टवेयर प्रणालीमा दैनिक कारोबार विवरण अनिवार्य रूपमा प्रविष्ट गर्नुपर्ने छ ।

सम्पूर्ण प्रक्रिया अनुगमन र व्यवस्थापनका लागि पाँच तहका समिति निर्माण गरिएका छन् । कृषि मन्त्रालयका सचिवको संयोजकत्वमा केन्द्रीय मल आपूर्ति तथा वितरण व्यवस्थापन समिति, सहसचिवको नेतृत्वमा प्राविधिक समिति, प्रदेश मन्त्रालयका सचिवको संयोजकत्वमा प्रदेश समिति, प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला समिति र स्थानीय तहका उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा स्थानीय समिति रहनेछन् ।

विशेषगरी प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले कालोबजारी, मूल्य र गुणस्तरको निरन्तर अनुगमन गरी प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने अधिकार पाएको छ ।

यस अतिरिक्त, प्रदेश वा स्थानीय तहले सरकारबाट अनुदानमा प्राप्त मलको मूल्यमा थप अनुदान दिन नपाउने र दोहोरो अनुदानको व्यवस्था गर्न नपाइने कडा नियम पनि यो कार्यविधिले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा शुक्रबार पहिरोले डोजर पुर्दा चालकको मृत्यु भएको छ । बेगको भिजरादेखि भजने जाने सडक निर्माणका क्रममा पहिरो खसेर रुइसे देउराली कन्ट्रक्सन प्रालिको डोजर पुरिएको हो । सोही डोजर चलाइरहेका चालक रघुगंगा गाउँपालिका–२ भगवतीका ५१ वर्षीय पदम कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडकको मार्ग खनिरहेको अवस्थामा मिथिबाट सुक्खा ...
। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले एक थान पेस्तोल, म्यागेजिन र लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बूढानीलकण्ठ नगरपालिका–५ का २३ वर्षीय कबिर देउला, ४२ वर्षीया सविना पोडे, २६ वर्षीय संसार सिटौला र ललितपुर गोदावरी नगरपालिका–११ का २६ वर्षीय सुवास शाही रहेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले राससलाई जानकारी ...
। कैलाली प्रहरीले धनगढीका विभिन्न होटलमा छापा हानेर ३० जनालाई नियन्त्रणमा लिएको छ । होटलहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा खटिएको टोलीले छापा हानेको बताइएको छ । डीएसपी तिमिल्सिनाकाअनुसार अनैतिक गतिविधि गराउदै आएको सूचनाका आधारमा धनगढी उपमहानगरपालिका–१, ३, ७ र ८ मा रहेका होटलहरूमा छापा ...
। राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-२०८३ जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले मन्त्रिपरिषद्‌‌बाट सिफारिस भएर आएको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश २०८३ जारी गरेको जानकारी दिए । सरकारले विभिन्न ८ वटा अध्यादेश राष्ट्रपति कार्यालय पठाएको छ । यसअघि सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी भइसकेका छन् । अन्य अध्यादेश भने ...
। तेह्रथुमको छथर गाउँपालिकाको १६ औं गाउँ सभा तथा हिउँदे अधिवेशनले आफ्नो पालिका क्षेत्रमा अनावश्यक डोजर नचलाउन संघ सरकारलाई सुझाव दिने निर्णय गरेको छ । छथर–५ मा रहेको ऐतिहासिक तथा सांस्कृतिक स्थल ताक्लुङ्गगढीमा सम्पन्न गाउँ सभाले यस्तो निर्णय गरेको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले जानकारी दिए । उनका अनुसार गाउँपालिका क्षेत्रमा नेपाल सरकारको आधिकारिक नापी नक्साअनुसार ...