: रोल्पाको थबाङ गाउँपालिका–सलापमा बिहीबार जीप दुर्घटना हुँदा मृत्यु भएका २० जनाकै सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक बीरेन्द्रबीर विश्वकर्माका अनुसार घटनास्थलबाट शव संकलन गरी थबाङमा रहेको आधारभूत अस्पताल लगेर शवको सनाखत गरिएको हो ।
मृतकका परिवारका सदस्य र आफन्तको सहयोगमा शवको सनाखत गरिएको हो । मृत्यु हुनहेरुमा पूर्वी रुकुम र दाङका तीर्थालु रहेका छन् । पूर्वी रुकुम सिस्ने गाउँपालिका–५ टाकुराका वर्ष २८ का गोर्खबहादुर बिसी, वर्ष ५३ का तिलकुमारी बुढाथोकी, वर्ष २८ का युवा बुढाथोकी, वर्ष १० का दिब्यान बुढाथोकी, वर्ष ६० की मिना बिक र वर्ष ६० कै लक्ष्मी शाह रहेका छन् । जीप चालक रहेका दाङ शान्तिनगर घर भइ हाल सिस्ने गाउँपालिका– ५ टाकुरा बस्ने बर्ष ४२ को बेदुराम बिकको पनि सनाखत भएको छ ।
अन्य मृत्यु हुनेहरुमा पूर्वी रुकुम धाउन्ने बस्ने वर्ष २४ का सिर्जना बुढाथोकी, वर्ष १३ का सुदिप बुढाथोकी, वर्ष ४० की ओमकुमारी बुढाथोकी, पूर्वी रुकुम भुमे गाउँपालिका–५ का टेकप्रसाद बस्नेत र वर्ष २७ की रुक्मिता थापा बस्नेतको पनि सनाखत भएको छ । दाङको घोराही उपमहानगरपालिका–१६ बुद्धचोकका वर्ष ५० की द्रुपती जिसी, वर्ष ३२ की तिला जिसी, ७ वर्षीय जेनिस घर्ती, वर्ष १२ की जेनिसा जिसी, वर्ष २५ की एलिसा घर्ती, घोराही उपमहानगरपालिका–१२ गुर्जेका भनमाया विष्ट छन् ।
लमजुङ बस्ने वर्ष ७ का संयोग थापा र यमबहादुर जिसीको समेत मृत्यु भएको छ । दुर्घटनास्थल भिरालो र अप्ठ्यारो ठाउँ भएकाले राति शव निकाल्न सकिएको थिएन । उद्दार टोलीले शुक्रबार बिहानदेखि नै डोरीको सहायताले शव निकाल्न अहोरात्र खटिएकाले ढिलै भए पनि शवको सनाखत गर्न सकिएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए । मध्यान्हसम्म सबै शवको उद्दार गरिएको थियो ।
पूर्वी रुकुम सिस्नेगाउँपालिका–५ टाकुराबाट रिजर्भमा आएको लु १ ज ४१६७ नम्बरको बोलेरो जीप बिहीबार दिउँसो तीन बजे दुर्घटना भएको थियो । जीप सवार एक जना भने बाँचन सफल भए । सिस्ने गाउँपालिका–५ टाकुराका ३२ वर्षीय समीर कामी पूर्वी रुकुम अस्पतालबाट सामान्य उपचारपछि राति नै डिस्चार्ज भएका थिए । उनी र अर्का एक जना जीपको छतमा भएको बुझिएको छ । जीप पल्टिँदा छतबाट हाम फालेर समीर बाँच्न सफल भए । छतबाट उनीसँगै हाम फालेका अर्का यात्रुको भने मृत्यु भयो । दुर्घटनामा समीरले पनि आमा गुमाउनु पर्यो ।