: नवलपरासीका स्थानीय तहहरुमा झण्डै दुई सय स्थायी कर्मचारी रिक्त छन् । स्थायी पदपूर्ति नहुँदा स्थानीय तहहरुले रिक्तभन्दा दोब्बरको संख्यामा करार र ज्यालादारीका कर्मचारी भर्ना गरेका छन् । जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका गरी सात स्थानीय तह छन् ।
सातै स्थानीय तहबाट संकलन गरेको कर्मचारी विवरणअनुसार स्थायी, करार र ज्यालादारी गरी कुल १,१७३ कर्मचारी कार्यरत छन् । यो संख्या शिक्षक बाहेकको हो । सात वटै पालिकामा कुल ७५९ स्थायी दरबन्दीमा ५०१ जना मात्रै कर्मचारी कार्यरत छन् । यसअनुसार २५८ जना स्थायी पदपूर्ति हुन सकेको छैन । उक्त संख्यामा स्थायी पदपूर्ति नहुँदा स्थानीय तहहरुले रिक्त पदअनुसार ठूलो संख्यामा करार र ज्यालादारीमा कर्मचारी भर्ना गरेका छन्।
करारतर्फ ५३२ र ज्यालादारीतर्फ १३५ गरी कुल ६६७ कर्मचारी भर्ना गरिएको छ । जुन स्थायी रिक्त पदभन्दा ४०९ जना बढी कर्मचारी भर्ना गरी राखिएको विवरणले देखाएको छ । आवश्यकताभन्दा बढी करारमा राखिएको स्थायी कर्मचारीहरु बताउँछन् । त्यसरी राखिएका केही कर्मचारीहरु पालिका प्रमुख÷अध्यक्षलगायतका जनप्रनिधिका आफन्त र आफू निकट दलका कार्यकर्ता रहेको स्थायी कर्मचारीहरुको आरोप छ । तर जनप्रतिनिधिहरुले भने स्थायी पदपूर्ति हुन नसकेपछि आवश्यकताअनुसार करारमा कर्मचाारी भर्ना गरेको दाबी गर्दै आएका छन् ।
त्यसरी राखेका करारका कर्मचारीलाई नियमानुसार प्रक्रिया नअपनाई राखेको बताइएको छ । कर्मचारी व्यवस्थापनका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरी स्विकृतका लागि प्रदेशमा पठाउनुपर्ने प्रावधान छ । अधिकांश स्थानीय तहहरुले सिधै कार्यपालिकाबाट स्वीकृत गरेर करारका कर्मचारी राखेका छन् । आवश्यकता नै नभएका कर्मचारी राख्दा स्थानीय तहलाई थप आर्थिक व्ययभार पनि उत्तिकै बढेको छ ।
करार र ज्यालादारी कर्मचारी सबैभन्दा बर्दघाट नगरपालिकाले १४४ जना राखेको छ । यसैबीच संघीय सरकारले अहिले सबै स्थानीय तहहरुबाट कर्मचारीको विस्तृत विवरण माग गरेको छ । सबै स्थानीय तहहरुले विवरण पठाइसकेको जनाएका छन् । यसले स्थायी पदपूर्ति हुन सक्ने र आफूहरुको जागिर गुम्न सक्ने भन्दै करार कर्मचारीमा त्रास बढेको देखिएको छ ।
कुन पालिकामा कति कर्मचारी ?
रामग्राम नगरपालिका : यस नगरपालिकामा कुल कार्यरत कर्मचारीको संख्या २३२ छ । १३९ स्थायी स्वीकृत दरबन्दीमा १०२ जना कार्यरत छन् । नगरपालिकाले उपलब्ध गराएको विवरणअनुसार स्थायीतर्फ ३७ जना रिक्त छ । उक्त संख्यामा स्थायी रिक्त हुँदा ९२ जना करार र ३८ जना ज्यालादारी गरी १३० जना कर्मचारी भर्ना गरिएको छ ।
सुनवल नगरपालिका : यस नगरपालिकामा कुल कार्यरत कर्मचारीको संख्या २०२ छ । ९१ जना स्थायी स्वीकृत दरबन्दीमा ७५ जना कार्यरत छन् । स्थायीतर्फ १६ जना रिक्त हुँदा करारमा ९७ र ज्यालादारीमा ३० जना गरी १२७ कर्मचारी भर्ना गरिएको छ ।
बर्दघाट नगरपालिका : यस नगरपालिकामा कुल कार्यरत कर्मचारीको संख्या २४४ छ । १२० जना स्थायी स्वीकृत दरबन्दीमा ९५ जना कार्यरत छन् । २५ जना स्थायी रिक्त हुँदा १२२ करार र २२ जना ज्यालादारी गरी कुल १४४ कर्मचारी भर्ना गरिएको छ ।
पाल्हीनन्दन : यस गाउँपालिकामा कुल कार्यरत कर्मचारीको संख्या १३९ छ । ८९ जना स्थायी स्वीकृत दरबन्दीमा ६६ जना कार्यरत छन् । २३ जना स्थायी दरबन्दी रिक्त हुँदा ५१ जना करार र २२ जना ज्यालादारी गरी कुल ७३ जना कर्मचारी भर्ना गरिएको छ ।
सरावल : यस गाउँपालिकामा कुल कार्यरत कर्मचारीको संख्या १३७ छ । ८२ जना स्थायी स्वीकृत दरबन्दीमा ६६ जना कार्यरत छन् । १६ जना स्थायी दरबन्दी रिक्त हुँदा ६७ जना करार र ४ जना ज्यालादारी गरी कुल ७१ जना कर्मचारी भर्ना गरिएको छ ।
प्रतापपुर : यस गाउँपालिकामा कुल कार्यरत कर्मचारीको संख्या १२५ छ । १२६ जना स्थायी स्वीकृत दरबन्दीमा ६६ जना कार्यरत छन् । ६० जना स्थायी दरबन्दी रिक्त हुँदा ५५ जना करार र ४ जना ज्यालादारी गरी कुल ५९ जना कर्मचारी भर्ना गरिएको छ ।
सुस्ता : यस गाउँपालिकामा कुल कार्यरत कर्मचारीको संख्या ९४ छ । ११२ स्थायी स्वीकृत दरबन्दीमा ३१ जना कार्यरत छन् । ८१ जना स्थायी दरबन्दी रिक्त हुँदा ४८ जना करार र १५ जना ज्यालादारी गरी कुल ६३ जना कर्मचारी भर्ना गरिएको छ ।