: नेपाल एयरलाइन्सप्रति आपतमा भरोसा भए पनि नियमित उडानमा अनिश्चित हुने गरेको छ। खासगरी खाडी मुलुकमध्ये साउदी अरबमा यो समस्या बढी देखिएको हो।
साउदी अरबमा कार्यरत लाखौं नेपाली श्रमिकहरूको दैनिक जीवनसँग हवाइसेवा प्रत्यक्ष रूपमा जोडिएको छ।
परदेश र स्वदेशबीचको दूरी घटाउने प्रमुख माध्यमका रूपमा रहेको नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)ले आपत्कालीन अवस्थामा भरपर्दो विकल्पका रूपमा आफ्नो छवि बनाएको छ। तर, नियमित उडान सञ्चालनमा देखिएको अस्थिरता र व्यवस्थापकीय कमजोरीले यसको विश्वसनीयतामाथि प्रश्न उठ्दै आएको छ।
साउदी अरबमा करिब ४ लाख नेपाली कार्यरत रहेको अनुमान छ। यस्तो ठूलो समुदायको आवतजावत सहज बनाउन नेपाल एयरलाइन्सको भूमिका महत्वपूर्ण भए पनि नियमित उडानमा अनिश्चितता, सीमित सिट क्षमता र सेवा व्यवस्थापनमा देखिने कमजोरीका कारण धेरै यात्रु अन्तर्राष्ट्रिय एयरलाइन्स रोज्न बाध्य भइरहेका छन्।
नेपाल एयरलाइन्सले साउदी अरेबियाको रियादका लागि आफ्नो नियमित सीधा उडान २२ अप्रिल २०२२ (२०७९ वैशाख ९ गते) बाट सुरु गरेको थियो। यो सेवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट किंग खालिद अन्तर्राष्ट्रिय विमानस्थल (रियाद) सम्म सुरु गरिएको थियो भने हाल दमाम– काठमाडौं, काठमाडौं– दमाम मात्र उडान गर्दै आएको छ।
आपत्कालीन अवस्था जस्तै महामारी, द्वन्द्व वा आकस्मिक उद्धारका बेला नेपाल एयरलाइन्सले उल्लेखनीय भूमिका निर्वाह गर्दै आए तापनि सामान्य अवस्थामा भने उडान तालिका स्थिर नहुनु र सेवा निरन्तरता कमजोर हुनु प्रमुख चुनौतीका रूपमा देखिएको छ।
साउदीस्थित नेपाल एयरलाइन्सकी कन्ट्री म्यानेजर अञ्जु शर्माले सीमित स्रोत–साधनका बाबजुद सेवा सुधारको प्रयास भइरहेको बताएकी छन्। उनका अनुसार नियमित उडानलाई प्रभावकारी बनाउन ट्राभल एजेन्सी, नेपाली समुदाय र सम्बन्धित निकायबीच समन्वय अपरिहार्य छ। उनले केवल प्रयास मात्र नभई परिणाममुखी कार्यान्वयनमार्फत यात्रुको विश्वास जित्नुपर्ने आवश्यकता औंल्याएकी छन्।
साउदीमा रहेका नेपाली आफ्नै राष्ट्रिय ध्वजावाहक वायुयानबाट नियमित र भरपर्दो सेवा पाउन चाहन्छन्। उनीहरूका अनुसार, नेपाल एयरलाइन्स केवल आपत्कालीन विकल्पमा सीमित नभई हरेक यात्रामा पहिलो रोजाइ बन्नुपर्छ र सेवा नियमित, पारदर्शी र प्रतिस्पर्धात्मक हुनु अपरिहार्य रहेको बताउँछन् भने हप्तामा २ उडान हुनुपर्ने उनीहरूको सुझाव छ। नेपाल एयरलाइन्सको योगदान बहुआयामिक रहेको छ। टिकट बिक्रीबाट प्राप्त आम्दानी स्वदेश भित्रिने भएकाले राष्ट्रिय अर्थतन्त्रमा योगदानसमेत पुग्दै आएको छ भने अन्तर्राष्ट्रिय एयरलाइन्ससँग प्रतिस्पर्धा गर्दै भाडा सन्तुलन कायम राख्न पनि यसले भूमिका खेलेको छ।
साथै, बिरामी तथा अशक्त यात्रुका लागि सहुलियत दरमा ह्विलचेयर र स्ट्रेचर सेवा उपलब्ध गराउनु यसको सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा समेत हेरिन्छ। तर, हाल बजार व्यवस्थापनमा देखिएका कमजोरीले समस्या थप जटिल बनाएको छ। केही ट्राभल एजेन्सीहरूले अन्य एयरलाइन्सलाई प्राथमिकता दिने वा नेपाल एयरलाइन्सको टिकट उपलब्ध हुँदाहुँदै पनि बिक्रीमा उदासीनता देखाउने प्रवृत्तिले यात्रुहरूलाई महँगो विकल्प रोज्न बाध्य बनाइरहेको अवस्था छ।
यस सन्दर्भमा नेपाली दूतावासले आफ्नो भूमिका निर्वाह गर्दै आइरहेको छ भने थप भूमिका अझ सक्रिय र प्रभावकारी हुनुपर्ने देखिन्छ। दूतावासले एयरलाइन्स, ट्राभल एजेन्सी र नेपाली समुदायबीच समन्वय गर्दै नियमित उडान सुनिश्चित गर्न पहल गर्नुका साथै आपत्कालीन अवस्थामा विशेष उडान व्यवस्थापनलाई थप व्यवस्थित बनाउनुपर्ने आवश्यकता देखिएको छ।
साथै, नेपाल एयरलाइन्सलाई दीर्घकालीन रूपमा सुदृढ बनाउन उडान संख्या वृद्धि, समय तालिकामा स्थिरता, ट्राभल एजेन्सीलाई प्रोत्साहन (कमिसन तथा इन्सेन्टिभ) र डिजिटल प्रणालीको आधुनिकीकरणजस्ता उपाय तत्काल कार्यान्वयन गर्न आवश्यक छ।