पोखरामा गण्डकी प्रदेश प्रहरी अस्पतालको नवनिर्मित भवन आइतबारदेखि सञ्चालनमा आएको छ।
१५ शय्याको उक्त अस्पताल भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो। २ वर्षअघि नै सम्पन्न हुनुपर्ने उक्त अस्पताल भवन रकम अभावका कारण अलपत्र परेपछि गण्डकी प्रदेश सरकारले यसपटक करिब ६ करोड रुपैया बजेट सुनिष्चित गरेर निर्माणको काम सम्पन्न भएको हो।
नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले आधुनिक अस्पताल भवनबाट बहालवाला प्रहरी एवं पूर्व प्रहरीहरूका परिवारले सहज रूपमा स्वास्थ्य उपचार सेवा प्राप्त गर्ने बताए।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उक्त अस्पतालबाट प्रहरीका सबै तह र पूर्व प्रहरीका परिवारले समेत उपचारमा सहज हुने हुँदा यस अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुनेमा आफू विश्वस्त रहेको बताए।
अस्पताल उद्घाटनका अवसरमा गण्डकी प्रदेश प्रहरी प्रमुख दिपेन्द्र जिसीले अबका दिनमा प्रहरी सेवामा लागेका सबैलाई भरपर्दो स्वास्थ्य सेवा उपलब्ध हुने धारणा राखे। कार्यक्रममा उत्कृष्ट काम गर्ने प्रहरी र निर्माण कम्पनीका प्राविधिकलाई सम्मान गरिएको थियो।