: सशस्त्र प्रहरीले गौर भन्सार क्षेत्रबाट शुक्रवार ठूलो परिमाणमा लागुऔषधसहित ई—रिक्सा चालकलाई पक्राउ गरेको छ । गौर नगरपालिका–२ भन्सार ढाटमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म गौर र नेपाल प्रहरीको भन्सार सुरक्षा गार्डबाट खटिएको संयुक्त टोलीले गौर भन्सार क्षेत्रबाट ठूलो परिमाणमा लागुऔषधसहित एक युवालाई पक्राउ गरेको जानकारी दिएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००३ ह १११० नम्बरको ई—रिक्सामाथि शंका लागेर चेकजाँच गर्दा चालकको सिटमुनि लुकाइछिपाइ राखिएको अवस्थामा ठूलो परिमाणमा प्रतिबन्धित औषधि फेला परेको सीमा सुरक्षा गुल्म गौरले जनाएको छ ।
पक्राउ पर्नेमा राजदेवी–७ मुडवलवा गाउँका २० बर्षीय अटो चालक मोहन पण्डित रहेको र उनका साथबाट डाईजेपाम इन्जेक्सन १ सय पिस, प्रोमेथाजिन हाईड्रोक्लोराईड इन्जेक्सन १ सय पिस, बुपेरेनोफिन १ सय पिस र गााँजा ५ ग्राम, १ थान एन्ड्रोइड मोबाइल तथा अटोसहित नियन्त्रणमा लिइएको डीएसपी प्रेमसागर विष्टले जानकारी दिए ।
नियन्त्रणमा लिइएका पण्डितलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको जानकारी दिँदै डीएसपी विष्टले लागुऔषधसहित अबैध सामानहरुमाथि विशेष रुपमा सशस्त्र प्रहरीले निगरानी बढाएको बताए ।