मुख्य समाचार
दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउन उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन
दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउन उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन

: प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको साढे ३ घण्टा लामो छलफलका क्रममा उनले यस्तो निर्देशन दिएका हुन्। प्रधानमन्त्री शाहले शैक्षिक संस्थाहरूमा कुनै पनि बहानामा राजनीति गर्न नहुने अडान लिँदै दलीय संगठनका संरचना हटाउन कुनै पनि ऐन बाधक नहुने स्पष्ट पारे।

उनले अस्पताल, क्याम्पस र विद्यालयजस्ता पवित्र ठाउँमा कुनै पनि दलको झण्डा, प्रभाव वा संगठन राख्न नदिइने बताउँदै राजनीति नै गर्ने भए पेसागत जिम्मेवारीबाट अलग भएर पूर्ण रूपमा राजनीतिमा लाग्न सुझाव दिए। छलफलका क्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले विद्यार्थी संगठनका संरचना हटाउन खोज्दा उल्टै धम्की र आक्रमण खेप्नुपरेको भन्दै असुरक्षाको गुनासो गरेका थिए।



जवाफमा प्रधानमन्त्री शाहले राजनीतिक संगठनका संरचना हटाउँदा सुरक्षाको कुनै पनि समस्या आएमा तुरुन्तै सम्बन्धित मन्त्रालय वा आफ्नो सचिवालयमा खबर गर्न निर्देशन दिए। प्रधानमन्त्री शाहले सुरक्षा संयन्त्रलगायत आवश्यक पर्ने सबै सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको र प्रहरी प्रशासनले आफ्नो कर्तव्य पालना गर्ने बताउँदै ढुक्क भएर जिम्मेवारी पूरा गर्न उपकुलपतिहरूलाई आग्रह गरे।

साथै, प्रधानमन्त्री शाहले शैक्षिक क्यालेन्डरको पूर्ण पालना गर्न र परीक्षाको नतिजा एक महिनाभित्रै प्रकाशन गर्नसमेत कडा निर्देशन दिएका छन्। यसैगरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले पनि राजनीतिक दलसँग आबद्ध संगठनका संरचना खारेज गर्न मन्त्रालयले निर्देशन दिइसकेकाले त्यसलाई कार्यान्वयन गर्न ऐनले नरोक्ने बताए।

छलफलमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले 'जेनजी' आन्दोलन र निर्वाचनपछि विद्यार्थी तथा कर्मचारी संगठनहरू क्रमशः निष्क्रिय बन्दै गएको जानकारी दिए। मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतम, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजुकुमार थपलिया र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्तले केही आंगिक क्याम्पसहरूमा अझै पनि विद्यार्थी राजनीतिको तनाव कायमै रहेको बताए।

अन्य विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूले भने आफ्नो संस्थामा राजनीतिक गतिविधि न्यून रहेको र प्रशासन कडा भएमा शैक्षिक क्षेत्रमा राजनीति अन्त्य हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रयोगकर्ता, यात्रु तथा हवाई सेवा कम्पनीका कर्मचारीहरूले विमानस्थलका अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलमा सवारी साधन पार्किङ शुल्क अत्यधिक महँगो भएको गुनासो गरेपछि भाडा संशोधन गर्न पर्यटन मन्त्रालयले सोमबार समिति बनाएको छ । यस सन्दर्भमा नेपाल नागरिक उड्डयन प्राधिकरणले शुल्क संशोधनका लागि मन्त्रालयमा प्रतिवेदन पेस गर्ने उद्देश्यले ५ सदस्यीय समिति गठन गरेको छ । ...
— सरकारले गठन गरेको ‘संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदल’ लाई निर्धारित समयावधिभित्र दुई राजनीतिक दलले मात्र लिखित सुझाव बुझाएका छन् । अन्य राजनीतक दल सुझावका लागि छलफलमै छन् । कार्यदलले संविधान संशोधनमा समावेश गर्नुपर्ने विषय एक साताभित्र उपलब्ध गराइदिन भन्दै गत ३० चैतमा ९ दललाई पत्र पठाएको थियो । कार्यदलका सदस्यसचिव लीलाधर सुवेदीका अनुसार हालसम्म ...
— प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउन र अतिक्रमित जग्गा फिर्ता गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन । ११ विश्वविद्यालय र ७ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूलाई सिंहदरबार बोलाएर उनले छलफल गरेका थिए । छलफलका क्रममा प्रधानमन्त्रीले ३ वटा विषयमा चासो देखाएका उपकुलपतिहरूले बताएका छन् । ‘पहिलो, विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठनसहित प्राध्यापक, कर्मचारीको संगठन हटाउन ...
— बसको ठक्करबाट उदयपुरको बेलका नगरपालिका-३, नयाँटोलमा एक जनाको मृत्यु भएको छ । जन्ती लिन जाँदै गरेको प्रदेश ०१-०२-००२ ख ०१५८ नम्बरको बसले प्रदेश ०१-०२-०४५ प ८४४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोमबार स्थानीय रोमन बस्नेतको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंका अनुसार सोमबार बेलुका बेलका नगरपालिका-९, रामपुरबाट सातपत्रेतर्फ ...
— कांग्रेस सभापति गगन थापाले जेन-जी आन्दोलनका विषयमा गौरीबहादुर कार्की नेतृत्वको आयोगले सार्वजनिक गरेको प्रतिवेदन अपूर्ण र बद्नीयतपूर्ण रहेको बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजनामा सोमबार हेटौंडामा भएको बागमती प्रदेशस्तरीय निर्वाचन समिक्षा कार्यक्रममा उनले कार्की आयोगको प्रतिवेदनले भदौ २४ गतेको बारेमा केही नबोलेको उल्लेख गर्दै उक्त प्रतिवेदन बदनीयतपूर्ण र ‘बायस्ड’ रहेको धारणा राखेका हुन् ...