: अध्यागमन विभागले नेपाली नागरिकलाई शर्त तोकेर प्रस्थान अनुमति दिने दुई कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) जान लागेका नेपाली नागरिकको राहदानीमा केरमेट गर्ने दुई जना अध्यागमन अधिकृतहरुलाई अध्यागमन कार्यालय, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको जिम्मेवारीबाट हटाइएको प्रवक्ता टीकाराम ढकालले जानकारी दिए।
उनीहरुमाथि आवश्यक छानबिन भइरहेको विभागले जनाएको छ।null
यूएई जाने नेपालीको राहदानीमा प्रस्थान छापसँगै हस्तलिखित रूपमा Employment is strictly prohibited. Visit till र not allowed to work UAE लगायतका शब्द कर्मचारीले लेख्न थालेपछि यात्रुहरुले गुनासो एवम् विरोध गरेका थिए।
‘संयुक्त अरब ईमिरेट्स प्रस्थान गर्न लागेका कुनै नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै "Employment is strictly prohibited. Visit till १० / ६ / २०२६" लेखेको विषयमा मिति २०८२। १। ३ को निर्णयबाट छानविन समिति गठन गरिएको व्यहोरा अवगत नै छ।’ जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली नागरिकलाई शर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएको हुँदा प्रचलित कानुन र विभागीय निर्णय बाहिर गई गैरकानूनी अभ्यास गर्ने दुई जना अध्यागमन अधिकृतहरुलाई अध्यागमन कार्यालय, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको जिम्मेवारीबाट हटाइ सो सम्बन्धमा आवश्यक छानबिन भइरहेको व्यहोरा अनुरोध गरिन्छ।’
अनावश्यक कागजात माग गर्ने र तजबिजीको आधारमा निर्णय गरी हुने गरेको अनियमिततालाई नियन्त्रण गर्न सरकारले भिजिट भिसामा नेपालबाट प्रस्थान गर्ने नेपाली नागरिकहरूको सरलीकृत र व्यवस्थित मापदण्ड बनाइएको विज्ञप्तिमा उल्लेख छ। यस अगाडि विज्ञप्तिमा भनिएको थियो, ‘कुनै पनि नेपाली नागरिकलाई कानुनभन्दा बाहिर गई शर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएको हुँदा प्रचलित कानुन र विभागीय निर्णय बाहिर गई गैरकानूनी अभ्यास गर्ने कर्मचारीलाई कारबाहीको लागि आन्तरिक छानबिनको प्रक्रिया अगाडि बढाइएको व्यहोरा जानकारीका लागि अनुरोध गरिन्छ।’