— गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण पूरा गर्ने गरी सम्झौता भएको ३० महिनाको अवधि आउँदो पुस मसान्तमा सकिँदै छ ।
भरतपुर महानगरपालिकाले बागमती प्रदेश सरकारको साझेदारीमा २०८१ असार २३ मा हिमालयन कालिञ्चोक बीबीआर जेभीसँग रंगशाला निर्माणको काम ७८ करोड ५० लाख लागतमा सम्पन्न गर्ने सम्झौता गरेको थियो ।सोही अनुसार सुरु भएको काम हालसम्म ५० प्रतिशत मात्रै भएको छ ।
कहिले कर्मचारी अभाव, कहिले निर्माण सामग्री अभावमा ढिलासुस्ती भइरहेको रंगशाला निर्माणको कामको गतिमा झनै सुस्तता आउने देखिएको छ । अहिले निर्माण सामग्रीमा भइरहेको मूल्यवृद्धिको असर यो रंगशालामा पनि पर्ने देखिन्छ ।
‘अहिलेसम्म त काम भएकै छ, अब बिस्तारै निर्माणको गति सुस्त भइरहेको छ, पछिल्लो समयमा भइरहेका मूल्यवृद्धिले निर्माण व्यवसायी काम रोक्ने अवस्थामा पुगेकाले रंगशाला निर्माण समयमै सम्पन्न हुनेमा गाह्रो देख्छु,’ भरतपुर महानगरपालिकाका सिनियर डिभिजन इन्जिनियर सन्तोष आचार्यले भने । उनले सबै समस्या समाधान गर्दै आउँदो पुसभित्रमै सक्ने गरी निर्माण कम्पनीसँग समन्वय भइरहेको बताए ।
उनले बागमती प्रदेश सरकारबाट विनियोजित बजेट पनि समयमै निकासा हुन नसकेकाले समस्या भइरहेको बताए । ‘निर्माण कम्पनी बजेट निकासका लागि धाइरहनु भएको छ, बागमती प्रदेशबाट रकम निकासामा ढिलाई हुँदा समस्या भइरहेको छ,’ आचार्यले भने ।
भरतपुर महानगरपालिका–१५ मा निर्माण भइरहेको क्रिकेट रंगशालाको आर्थिक प्रगति करिब ४५ प्रतिशत हुँदा भौतिक प्रगति ५० प्रतिशत पुगेको छ । अहिले रंगशालामा मैदान बनाउने काम सुरु भएको छ । वर्षायाम सुरु हुनअघि नै मैदानमा बर्मुडा घाँस रोप्ने तयारी छ । त्यसका लागि अहिले मैदान सम्याउने, पानी निकासका लागि ड्रेनेज पाइप राख्ने काम भइरहेको निर्माण कम्पनी बीबीआर जेभीका प्रोजेक्ट म्यानेजर धर्मेन्द्र गुप्ताले जानकारी दिए । ‘प्याराफिट र भीआइपी टावर निर्माणको काम पहिले नै सुरु भइसकेका थिए, अहिले नयाँ कामको रुपमा इलेक्ट्रिकल, स्यानेटरीको काम सुरु भएको छ,’ गुप्ताले भने, ‘वर्षायाम भन्दा अगाडि मैदानमा बर्मुडा घाँस रोपेर राखियो भने वर्षाले राम्रो व्यवस्थापन हुन्छ भनेर मैदानको काम पनि अघि बढाएका छौं, नयाँ प्रविधिमा आधारित रहेर स्तरीय मैदान निर्माणका काम चलिरहेको छ ।’
रंगशालामा रहेका प्याराफिटका चार वटा ब्लकमध्ये अहिले तीन वटा ब्लकको प्याराफिट निर्माण सम्पन्न भइसकेको छ । अन्तिम प्याराफिटको एउटा कोलममा फर्मा जडान गरिसकिएको छ । दुई वटा भीआइपी टावरको दुई तलाकै ढलान सम्पन्न भइसकेको छ । अहिले पहिलो टावरको भित्री भागमा इँट्टा जोड्ने र प्लास्टरको काम भइरहेको छ । दोस्रो टावरको पेटी ठेकेदारको मृत्यु भएकाले दोस्रो तलाको ढलान पश्चात थप काम अघि बढेको छैन । त्यसमा भित्री भागको इँट्टा जोड्ने र प्लास्टरको काम अझै सुरु भएको छैन ।
स्तरीय मैदान निर्माणका लागि ड्रेनेज पाइप मैदानमा बिछ्याउने काम अघि बढाइएको छ । यो ड्रेनेजले मैदानमा पानी पर्दा छिट्टै पानी फालेर खेल सुरु गराउन मद्दत पुग्ने छ ।
इलेक्ट्रिक अन्तरगत ५५० केभीएको ठूलो जेनेरेटर जडान सकिएको छ । विद्युत ट्रान्सफर पनि निर्माण क्षेत्रमा ल्याइएको छ भने रंगशालाको चारैतिर भूमिगत विद्युतका लागि तार बिछ्याउने काम भइरहेको प्रोजेक्ट म्यानेजर गुप्ताले जानकारी दिए ।
पहिलो चरणको कामको सम्झौता अनुसार रंगशालामा १५ हजार दर्शक क्षमताको प्याराफिट, अन्तर्राष्ट्रिय मापदण्डको मैदान र पिच, दुई वटा भीआइपी टावर, स्कोर बोर्ड रहने छ । यो सम्झौता अनुसार निर्माण सम्पन्न हुँदा रंगशालामा प्याराफिटमा कुर्ची र फ्लड लाइट हुने छैन ।
रंगशालालाई पूर्ण अन्तर्राष्ट्रियस्तरको बनाउन फ्लड लाइट र प्याराफिटमा कुर्ची आवश्यक पर्ने भएकाले ती पूर्वाधार निर्माणका लागि महानगरले संघीय सरकारको सहयोग चाहेको छ । त्यसका लागि सबै इस्टिमेटसहित छिट्टै आउँदो आर्थिक वर्ष २०८३/८४ का लागि संघ र प्रदेश सरकारसाग बजेट माग गर्ने महानगरको तयारी भइरहेको महानगरका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले बताए ।
‘रंगशाला निर्माणको काम सम्झौता अनुसार पुसभित्रमा सकिएला, त्यसअघि रंगशालाई पूर्ण बनाउन महत्त्वपूर्ण प्याराफिटमा कुर्ची र रात्रिकालीन खेल खेलाउन फ्लड लाइट आवश्यक छ,’ कार्यवाहक महानगर प्रमुख अधिकारीले भने, ‘फ्लड लाइट र कुर्ची अति आवश्यक भएकाले कार्यपालिकाबाटै निर्णय गरेर संघ र प्रदेशसँग आवश्यक बजेट माग गर्ने गरी अघि बढेका छौं ।’
महानगरले कुर्ची जडानमा करिब १० करोड र फ्लड लाइट जडानका ५० देखि ७० करोड बजेट आवश्यक पर्ने लागत निकालेको छ । त्यहीँ बजेट माग गर्न महानगर प्रदेश र संघ सरकार जाँदैछ ।
चितवनमा अत्यधिक गर्मी हुने भएकाले पनि दिउँसो खेल खेलाउन समस्या हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर रात्रीकालीन खेलका लागि फ्लड लाइट जडानलाई महानगरले प्राथमिकतामा राखेको छ । रंगशाला संचालनका लागि कार्यविधि समेत निर्माण गर्ने महानगरको तयारी छ ।
धुर्मुस–सुन्तली फाउण्डेशनले आर्थिक अभावका कारण रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरेपछि लामो समयसँग रंगशााला अलपत्र परेको थियो । त्यसपश्चात महानगरले बागमती प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लागत साझेदारीमा रंगशाला निर्माणको काम पुनः अघि बढाएको थियो।
फाउण्डेसनले चन्दा उठाएरै ३० हजार क्षमताको नेपालकै पहिलो अत्याधुनिक क्रिकेट रंगशाला बनाउने भन्दै २०७५ माघ १६ मा काठमाडौंमा भरतपुर महानगरसँग सम्झौता गरेको थियो । ३ अर्ब लागतमा बहुउद्देश्यीय रंगशाला बनाउने भन्दै सुरु भएको रंगशाला निर्माणको काम कोभिड माहामारीपछि आर्थिक अभाव हुन थाल्यो। रंगशाला बनाउँदा १८ करोड बढी ऋण लागेपछि फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले रंगशालाको स्वामित्व सहमति अनुसार भरतपुर महानगरलाई हस्तान्तरण गरेका थिए ।
रंगशालाको ऋण चुक्ताका लागि संघीय सरकारले ४ किस्तामा गरी १५ करोड रुपैयाँ भरतपुर महानगर पठाएको थियो । तर महानगरले विभिन्न कारण देखाउँदै बजेट भुक्तानी नगरेपछि उक्त रकम फ्रिज भएको थियो। फाउण्डेशनले काम रोक्नुअघि करिब ३९ प्रतिशत काम भएको विभिन्न सरकारी निकायले गरेको परीक्षण प्रतिवेदनमा उल्लेख छ ।